

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।
शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गर्दै भने, ‘उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु- उनीहरू मिलून् ।’
‘हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौं । जनतालाई मेरो अपील छ- तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्’, उनले भने । प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।
प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’
प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको जिकिर गर्दै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’