

चलन चल्तीमा भन्ने गरिन्छ, ‘मसानघाटको हड्डीलाई फुकेर ज्यान आउँदैन ।’ होला, टम्मै खरानी घसेको जोगीले तन्त्रमन्त्रको खेला देखाउन हड्डीलाई उपयोग गर्न सक्लान्, त्यसको माला बनाउन सक्लान्, त्यसलाई पुज्ने यन्त्र बनाउन सक्लान् । तर, त्यसमा जति फुके पनि ज्यान भने आउने वाला छैन ।
तर, समाजमा मसानघाटको हड्डीलाई देखाएर, ज्यान आउँछ भन्दै खेला देखाउने र भ्रम फिँजाउने मानिसहरू भने हुन्छन् । त्यस्ता मानिसहरूले थुप्रैलाई झुक्क्याइरहेका हुन्छन् । अलमलमा पारिरहेका हुन्छन् ।
राजा वीरेन्द्र शाहको वंशनाश भएको साढे २३ वर्ष पुगेको छ । उनको वंशनाशसँगै मुलुकमा सनातनिक संवैधानिक परिधिको राजसंस्था पनि ढलेको थियो । १९ जेठ २०५८ को रातसँगै नेपालमा राजसंस्था पनि इतिहास बनेको थियो ।
तर, योबिचमा ज्ञानेन्द्र शाहले नसुहाउँदो ढङ्गले श्रीपेच पहिरिए । जबरजस्ती श्रीपेच पहिरिएका ज्ञानेन्द्रले ताण्डव देखाए । उनले अनेकन नाटक मञ्चन गरे । झन्डै ७ वर्ष जनतालाई झुक्क्याए र खुबै प्रताडित पारे ।
तर, जनताको सिङ्गो बलको अगाडि उनको केही चलेन ।
‘टाउको काटिएका राजाहरूको इतिहास’ सुनेका ज्ञानेन्द्रले नागार्जुन खोजेर कुलेलाम ठोके । २९ जेठ २०६५ मा ज्ञानेन्द्रले ‘मर्नुभन्दा बौलाउनु निको’ भन्ने बुझाइका साथ नागार्जुन सरेका थिए ।
७ वर्षसम्म चलेको ज्ञानेन्द्रको नाटक मञ्चनमा जनतामा असन्तोष मात्रै थिएन, तीव्र आक्रोश पनि थियो । यदि उनी नागार्जुन नसरेको भए, इतिहास के हुन्थ्यो, अनुमान लगाउन सकिन्छ ।
तर, ‘शासकहरू कति निर्मम हुन्छन् र जनता कति उदार हुन्छन्’ भन्ने उदाहरण ज्ञानेन्द्रले पाएका छन् । नागार्जुनमा उनले ‘सहुलियत’ पाउनु जनताको उदारता हो ।
तर, यति बेला ज्ञानेन्द्र फेरि त्यो इतिहासलाई बिर्सिएको भाव देखाउँदै छन् । उनले त्यो इतिहासलाई छाडेर अनेक नाटक गर्दै छन् ।
आजभोलि उनी फेरि बरबराउने शैलीमा, ‘त्यो श्रीपेच देऊ, त्यो राजदण्ड देऊ’ भन्दै छन् । यो नसुहाउँदो ऐँठनले कता–कता जनतालाई अलमल पारेको छ ।
साढे १६ वर्षपछि ज्ञानेन्द्र किन बर्बराउँदैछन् ? कतै अनिदोमा बरबराइरहेका छन् कि नीदमा छन् ? जाँच्नुपर्ने देखिएको छ ।
चिकित्सकीय भाषामा यस्तो बरबराहटलाई ‘प्यारासोमनिया’को समस्या भनेर बुझिन्छ । विशेषगरी बुढेसकालमा यस्ता समस्या केहीलाई देखिने गर्छ । यो त्यस्तो समस्या हो, जुन रोग लागेका व्यक्तिलाई सपना पनि साँचो जस्तै लाग्छ ।
२००४ सालमा जन्मिएका ज्ञानेन्द्र, उमेरले ७७ वर्ष नाघिसके । यो उमेरमा स्वास्थ्यमा समस्याहरू देखिनु स्वाभाविक हो । नीदमा बरबराउनु अनि ‘ऐँठन’ हुनु पनि त्यति अन्यथा होइन ।
तर, उनको बरबराहटलाई अन्यले सत्य मान्नु भने विडम्बनापूर्ण हुन्छ ।
प्रकृतिको नियम फेरिँदैन । बगिसकेको पानी फेरि फर्केर आउँदैन ।
अहिले हामी २०८१ सालमा छौँ । २०६५ साल छाडेको १६ वर्ष बितिसक्यो । योबिचमा प्रकृतिमा पनि थुप्रै घटनाहरू घटेका छन् । विज्ञानले पनि निकै ठुलो फड्को मारेको छ । विश्व नयाँ खोज र अन्वेषणमा हिँडिरहेको छ ।
विश्वमा थुप्रै कुराहरूको नियम बदलिएको छ । विज्ञानको विकासले परिवार, समाज र देशको परिभाषा नै बदलिएको छ ।
१६ वर्ष अगाडिको युवा आज रिटार्यड हुँदै छ भने त्यसयता जन्मिएको व्यक्ति नै युवा बनेको छ । जसले सोचेको र बुझेको परिवार, समाज र देश फरक छ । उसले देखेको विकास र समृद्धि फरक छ । उसले कल्पेको भविष्य फरक छ ।
तर, आज केहीले झन्डै दुई दशकअघि ‘दन्त्य कथा’ बनेको नमिठो इतिहासलाई कोट्याउने दुस्साहस गरिरहेका छन् । उनीहरूले जनतालाई झुक्क्याउने उपाय खोजिरहेका छन् । समाज विज्ञानको नियमलाई तोड्ने दुस्साहस गर्दै छन् ।
यो विज्ञान विरोधी नियमको अगुवाइ ज्ञानेन्द्रले गर्न खोजेको देखिन्छ । जुन घातक दुस्साहस हो । यो दुस्साहसले आफैंलाई सबैभन्दा बढी क्षति पुर्याउँछ ।
यदि उनको दुस्साहसभित्र स्वास्थ्य समस्या जोडिएको हो भने, यसको उपचार चिकित्सकीय विधिबाट खोजिनुपर्छ । होइन, विज्ञानलाई चुनौती दिने गरी अनैतिक ढङ्गले प्रस्तुत हुँदै छन् भने त्यसको चिरफार नवपुस्ताले सोही ढङ्गले खोज्नेछ । सबैले बुझ्न आवश्यक छ, समयले नयाँ खोज्छ । नयाँ भनेको ज्ञानेन्द्रको बर्बर युग होइन ।