

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सम्मानीत नेता झलनाथ खनालले फरक मत राखेका छन् । शुक्रबारदेखि काठमाडौंमा जारी पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता खनालले आफूलाई ‘सामान्य सदस्य’ भन्दै फरक मत राखेका हुन् ।
पार्टीको विधानले सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीको बैठकले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेपछि त्यसप्रति असन्तुष्टि राख्दै उनले आफूलाई ‘सामान्य सदस्य’ भनेका हुन् । पार्टीको १०औं महाधिवेशनको हलले उनलाई सम्मानित नेताका रुपमा अनुमोदन गरिसकेपछि विधानको बखेडा निकाल्दै आफूलाई ‘सामान्य सदस्य’ लेख्ने निर्णयमा पुगेका थिए ।
जारी केन्द्रीय कमिटी बैठकका सहभागीबीच नेता खनालले फरक मत दर्ज गरेका हुन् । १०औं महाधिवेशन गरेर पार्टीलाई ‘टीकेप्रथा’ बाट जनवादी केन्द्रीयताका आधारमा निर्देशित कमिटीहरु बनाउन थालेकामा उनको असन्तुष्टि रहेको छ ।
बैठकअघि नै उक्त पार्टीले अपानि जारी गर्दै अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई दोहोरो जिम्मेवारीका नाममा पदमुक्त गरेको थियो । त्यसपछि अध्यक्ष लामा पक्षीय खेमाले समानान्तर केन्द्रीय कमिटी घोषणाका लागि एक कार्यक्रम आयोजना गरेको थियो ।
सम्मानीत नेता खनालकै प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विवाद व्यवस्थापनका निम्ति फागुन १२ गतेसम्म केही नगर्न भनेपछि उक्त दिन कमिटी घोषणा भएको छैन ।