

काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’ले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट सेन्सर पास पाएको छ । समितिबाट नेपालभर प्रदर्शन गर्न पाउने गरी स्वीकृति पाएको हो ।
सेन्सर पास पाएसँगै अब चलचित्रलाई प्रदर्शनको बाटो खुलेको छ ।
यसअघि चलचित्रविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले सेन्सर बोर्डबाट सेन्सर पास नभएसम्म प्रचारप्रसार रोक्न भनेको थियो ।
फिल्ममा मुख्य भूमिकामा रहेका सिताराम कट्टेल ‘धुर्मुस’को ‘गेटअप’ मिलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । ज्यान मार्ने उद्योगमा सजायँ भुक्तान गरिरहेका पूर्वसांसद कांग्रेस नेता मोहम्मद आफतव आलमले रिट दायर गरेका थिए ।
उनले फिल्ममा देखिएका धुर्मुसको अनुहार, पहिरन, जीउडाललगायत आफूसँग मिलेको र आफूसँग अनुमति नलिई प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।
चलचित्र ‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज मिति लिएको छ । तर, अदालतको आदेशसँगै के हुने अन्योल बनेको थियो ।
सेन्सर पास भएसँगै अब चलचित्रले प्रदर्शनमा बाधा नपर्ने देखिएको छ ।