

काठमाडौं । गत शुक्रबार फागुन ९ गतेबाट महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।
सेन्सर झमेलाका कारण सिनेमाको कन्टेन्ट सवै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्युन शोमा रिलिज भएको थियो । दोस्रो दिन शनिबार धेरै हलले सन्तोषजनक शो दिएका थिए । उक्त शोजहरुमा दर्शकको उपस्थिति राम्रै देखिएको थियो । निर्देशक जुनिम गहतराजले शो समयमा निकाल्न सकिएन हामीले जति शो पाएका थियौं, त्यसमा दर्शकको उपस्थिति राम्रो हुने अपेक्षा थियो ।
‘हामीले पाएको शोमा जति दर्शक आउनु भयो, सवैले सिनेमाको सस्पेन्स थ्रिलर पार्टलाई रुचाउनु भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले दर्शकको अकुपेन्सी बढ्ने अपेक्षा निर्देशक गहतराजको छ । दर्शकको राम्रो प्रतिक्रियाले आगामी दिनमा राम्रो सिनेमा निर्माण गर्ने हौसाला मिलेको छ,’ निर्देशक गहतराजले बताए ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।