

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले प्रधानमन्त्री ओलीले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
त्यस्तै, उनले सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।
यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।