

काठमाडौं । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशलाई लिएर राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको । आफूले सत्ताको नेतृत्व गर्ने समय आएको र आफूलाइै सबैले साथ दिन अनुरोध गर्दै उनले शुभकामना सन्देश प्रवाह गरेका थिए ।
यसैबिच पूर्वराजा शाहलाई पुनः राजा बन्ने सपना त्यागेर २०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभाका सांसद बामदेव गौतमले चुनौती दिएका छन्। आइतबार राष्ट्रिय सभामा बोल्दै सांसद गौतमले प्रजातान्त्रिक राजनीतिक दल खोलेर आउन पूर्वराजा शाहलाई सुझाव समेत दिएका छन् ।
‘तपाईँले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्,’ सांसद गौतमले भने, ‘र, केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्नुस्।’
अर्को प्रसंगमा सांसद गौतमले राजा महेन्द्र र वीरेन्द्रको वंश विनाश राजपरिवारकै सदस्यबाट भएको बताए। ‘महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,’ उनले भने।