‘सैनिक कल्याणकारी कोष’को सम्पत्ति ८७ अर्ब एक करोड-Sutra News

‘सैनिक कल्याणकारी कोष’को सम्पत्ति ८७ अर्ब एक करोड

आइतबार, ११ फाल्गुन २०८१

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौं । नेपाली सेनाको ‘सैनिक कल्याणकारी कोष’को सम्पत्ति ८७ अर्ब नाघेको छ । २०३२ सालमा एक करोड २४ लाख रुपैयाँबाट सुरु गरिएको कोषमा २०८१ पुस मसान्तसम्म आइपुग्दा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।



नेपाली सेनाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्पत्तिमध्ये ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात रहेको छ । बाँकी सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनामा लगानीको रूपमा रहेको सेनाले जनाएको छ ।

“निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राहीलक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्ने देखिएको छ,” सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रि–चन्द्र मिलिटरी हस्पिटलमा लगानी एक अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ । सैनिक कल्याणकारी कोषबाट करिब १० लाखभन्दा बढी सेवाग्राहीले सेवा तथा लाभ प्राप्त गरिरहेको जनाइएको छ ।

सेवाग्राहीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियत समेत गरी चार ‘स’ को अवधारणालाई आधार मानी कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइएको दाबी सेनाको छ । कोषको संरक्षक प्रधानमन्त्री र सह–संरक्षक रक्षामन्त्री रहने व्यवस्था रहेको ।

कल्याणकारी कोषसम्बन्धी कार्य सञ्चालनको लागि प्रधानसेनापतिको अध्यक्षतामा अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व एवं अवकाश प्राप्त सैनिक अधिकृतहरूसहित सात सदस्यीय ‘सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति’ छ ।

सैनिक कल्याणकारी कोषको प्रमुख आयस्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम र सकलदर्जाको भत्ताबापत प्राप्त रकम कट्टा गरी जम्मा हुनआउने रकम, विद्यालय/महाविद्यालयहरूको शिक्षण शुल्क तथा अन्य विभिन्न आयमूलक कार्यहरूबाट संकलित रकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट