राजनीतिमा किन मौलाउँदो छ ‘डनवाद’ ?-Sutra News

राजनीतिमा किन मौलाउँदो छ ‘डनवाद’ ?

राजनीतिमा ‘डनवाद’को कारण वैकल्पिक भनेर उदाएका पार्टीहरूको नराम्राेसँग हार हुने अवस्था छ ।

सोमबार, १२ फाल्गुन २०८१

सोमबार, १२ फाल्गुन २०८१

राजनीतिप्रति युवा पुस्तामा वितृणा बढ्दै जाँदा देशको राजनीतिमा बढ्दो अपराधको प्रभावले हाम्रा अगाडि धेरै चुनौतीहरू खडा भइरहेको छ । राजनीतिको अपराधीकरणको रूपमा देखा परेको सबैभन्दा ठुलो चुनौती भनेको लोकतान्त्रिक प्रणालीप्रतिको घट्दो विश्वास हो । राजनीतिमा अपराधीक गतिविधिमा संलग्न भएकाहरूको बढ्दो प्रभुत्वले विश्वासको सङ्कट झनै गहिरिँदै गएको छ । लोकतन्त्रलाई जनताको साशन भनिन्छ र विडम्बनाको कुरा के हो भने राजनीतिको अपराधीकरणका कारण त्यसबाट जनताको विश्वास डगमगाउन थालेको छ ।



अवस्था यति बिग्रिएको छ कि हामीले साधारण वडाको चुनाव जित्न पनि लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। यसले ‘लोकतन्त्र’लाई धमिल्याउँदा यसको असरको फाइदा फेरि पुरातनवादीहरुले लिने सम्भावना रहन्छ । ‘पैसा’, ‘माफिया’ र ‘शक्ति’लाई राजनीतिक सफलताको आधार मानिन थालिएको छ । हिन्दी चलचित्रमा देखिने खालको डनवाद र बिचौलियातन्त्र अहिले नेपाली राजनीतिमा हाबी हुन थालिसकेको छ। राजनीतिमा डनवादको कारण वैकल्पिक भनेर उदाएका पार्टीहरूको नराम्ररी हार हुने सम्भावना रहन्छ। र तिनै पुरानाहरू रजाइँ गरिरहने सम्भावना रहन्छ।

अपराधीहरूको पैसा र शक्तिले राजनीतिक दलहरूलाई भोट प्राप्त गर्न मद्दत गर्छ। हाम्रो चुनावी राजनीति धेरै हदसम्म भूगोल जाति, धर्म, आफन्त, नाता, कुटुम्ब जस्ता कारकहरूमा थोरै निर्भर हुने भएकोले, डनहरूले समेत चुनाव जितेर मन्त्री भएको उदाहरण छन्। अपराध कर्म गरेका जो कोहीले पनि चुनाव जित्न थालेका छन् ।

चुनावी राजनीतिमा अपराधीक पृष्ठभूमि भएका उम्मेदवारहरूले पनि पैसा र त्रास देखाएर जनमत लिने गर्छन्। त्यस्तासँग प्रायः पैसा र सम्पत्ति हुने भएकाले, तिनीहरूले जुनसुकै पार्टीबाट चुनाव चिन्ह प्राप्त गर्छन् र पार्टीको चुनावी अभियानमा धेरै पैसा खर्च गर्छन्, भोट किन्छन् । उनीहरू सजिलोसँग राजनीतिमा प्रवेश गर्ने र चुनाव जित्ने सम्भावना पनि प्रबल रहन्छ ।

मनाङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक ननाङ्गे भनिने राजीव गुरुङ एउटा त्यस्ता भाग्यमानी पात्र हुन जो पटक पटक मन्त्री हुन सफल भए । उनको विगतको पृष्ठभूमिका कारण भलै अहिले उनी कारागारमा छन्। कारागारमा जाँदा पनि उनी हाँसी हाँसी गए, मानौँ उनी अपराधका कारण जेल नगएर कुनै राजनीतिक कारण गएका हुन। दीपक मनाङ्गेको बारेमा सबैलाई थाहा छ, तर के गर्नु मनाङका जनताको एकछत्र भोट फेरि उनले नै पाउँछन्। डनवादको उदाहरण दिँदा उनी मात्रै एक भने होइनन् । नेपाली राजनीतिको पृष्ठभूमिमा डनवाद फैलाउने अरू नेताहरू पनि छन् जो अहिलेसम्म लगातार चुनाव जितिरहेका छन्।

नेपालको राजनीतिक दलहरूमा ठुलो मात्रामा अन्तर दलीय प्रजातन्त्रको अभाव छ। कार्यकर्ता र नेताहरूमा धेरै हदसम्म पार्टीको शीर्ष नेतृत्वले निर्णय गर्छ, जसका कारण आपराधिक पृष्ठभूमि भएका डनवाद मौलाउने अवसर धेरै हुन्छ।

हाम्रोमा फौजदारी न्याय प्रणालीमा भएको अन्तर्निहित ढिलाइले राजनीतिको अपराधीकरण लाई प्रोत्साहन गरेको छ। अदालतमा फौजदारी मुद्दाको फैसला हुन धेरै ढिलाइ हुन्छ। अदालतमा विचाराधीन रहेका मुद्दाहरूबाट उन्मुक्ति नपाउँदै पनि घुमाउरो बाटोबाट त्यस्ता व्यक्तिहरूलाई राजनीतिक पार्टीहरूले संरक्षकत्व प्रदान गर्ने तिनैलाई चुनावमा उपयोग गर्ने गरिन्छ। आज पनि ठमेलका कयौँ रेस्टुरेन्ट, होटेल, मसाज सेन्टरमा डनवादलाई राजनीतिक सुरक्षा मिलिरहेकै छ। ती पैसा चुनाव जित्नमा लगानी हुन्छन् ।

निर्वाचन आयोगको कार्यशैलीमा रहेका त्रुटिहरू पनि राजनीतिको अपराधीकरणको मुख्य कारण हुन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण, अदालतमा विचाराधीन मुद्दा, सजाय लगायतका विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नु अनिवार्य छ। नेपालको निर्वाचन प्रणालीमा सुधार गर्नु र यसलाई स्वायत्त संस्थाको रूपमा विकास गर्नु अत्यन्त आवश्यकता महसुस हुँदै गएको छ। हाम्रोमा अपराध र राजनीतिबिचको सम्बन्ध तोड्न ती कदमहरू अहिलेसम्म सफल भएका छैनन्। राजनीतिमा डनवाद दिन प्रतिदिन मौलाउँदो छ।

नेपालको राजनीतिमा डनवादले अपराधीकरणमा बढवा दिन नागरिक समाजले पनि उत्तिकै सहयोग गरिरहेको छ । किनभने जहिले पनि खराब नेतालाई चुनाव जिताएर पठाउने त हामी नागरिक समाज नै त हौँ । प्राय: अपराधीहरू पैसा र शक्तिबाट जनतालाई प्रभावित बनाउँछन् र चुनाव जित्छन्।

राजनीतिमा नैतिकता र मूल्यमान्यताको कमीले अपराधीकरण र डनवादको विकास भइरहेको छ। यसले निर्वाचन प्रणालीमा नै समस्या ल्याउन सक्छ । प्रायः राजनीतिक दलहरू आफ्नो निहित स्वार्थका लागि डनवादको अपराधीकरण प्रति आँखा चिम्लिनछन्।

मुलुकको राजनीति र कानुन निर्माण प्रक्रियामा अपराधीक पृष्ठभूमि भएका व्यक्तिहरूको उपस्थितिले लोकतन्त्रको गुणस्तरमा नकारात्मक असर पार्छ । राजनीतिको अपराधीकरणका कारण निर्वाचन प्रक्रियामा कालो धनको प्रयोग निकै बढेको छ । राजनीतिको अपराधीकरणले देशको न्यायिक प्रक्रियामा पनि प्रभाव पार्छ र अपराधीविरुद्धको अनुसन्धान प्रक्रिया सुस्त हुन्छ ।

राजनीतिमा प्रवेश गर्ने अपराधीहरूले सार्वजनिक जीवनमा भ्रष्टाचारलाई बढवा दिन्छन् र कर्मचारीतन्त्र, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतका अन्य निकायहरूमा प्रतिकूल असर पार्छन्। राजनीतिको अपराधीकरणले समाजमा हिंसाको संस्कृतिलाई प्रोत्साहन गर्छ र भावी जनप्रतिनिधिहरूका लागि गलत उदाहरण बनाउँछ।

नेपालको राजनीतिमा डनवादले झनै अपराधीकरणलाई बढवा दिइरहेको छ । जसको प्रत्यक्ष असर चुनाव धेरै खर्चिलो र भड्किलो बन्दै गएको हामीसँग कयौँ उदाहरणहरू छन्। राजनीतिक दलहरूले आफ्नो नैतिक दायित्व पूरा गर्दै गम्भीर अपराधमा दोषी ठहर भएका व्यक्तिहरू (डन)लाई पार्टीमा चुनाव लड्न टिकट दिने होइन पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरी चुनाव लड्नबाट रोक्नुपर्छ । यसका साथै आपराधिक पृष्ठभूमि भएका डन चरित्रका उम्मेदवारलाई जनताले नचुनोस् भन्ने विषयमा जनचेतना फैलाउनुपर्ने आजको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट