

काठमाडौं । शनिबार (फागुन १० गते) चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा पनि यसैप्रकारको सिनेमा संवाद गरिसकेको संघले यस पटक भने लमजुङ्गको घले गाउँमा गरेको हो । प्रख्यात कलाकार देखि देशैभरीका थुप्रै पत्रकारको उपस्थिति रहेको उक्त संवादमा चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भएको छ । उक्त सिनेमा संवाद सुन्न घलेगाउँबासीको समेत उल्लेख्य उपस्थिति थियो ।
पहिलो सेसन : सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदीले वक्ताको भूमिका निवार्ह गरेका थिए, भने प्रस्तुतकर्ताको भूमिकामा पत्रकार दीपक परियार थिए ।
उक्त सेसनमा सिनेमामा अझै पनि उनीहरुको स्वर दबाइने भएकाले आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।
निर्देशक नवीन सुब्बाले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिँदै सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको भन्दै सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए ।
अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । तर उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैन् । उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे ।
कलाकार आशा मगरातीले आफू दलित समुदायको त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । ‘अब काठमाडौँको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन भन्दै ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको उनले बताए ।
दोस्रो सेसन : सिनेमामा संगीत कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत गरी तीन पुस्ताका कलाकार गफिए । जसमा सहजीकरणको रुपमा थिइन् रिमा विश्वकर्मा ।
उक्त सेसनमा तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुपर्नेमा जोड दिँदै अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए ।
यता संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । उनी भन्छन्, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’
प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’
सिनेमा संवादको तेस्रो सेसन: रिलदेखि एआईसम्म । उक्त सेसनमा थिइन्, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उनको साथमा थिए, अहिलेका पुस्ताका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत न्यौपानेले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफलमा एआई भनेको आत्मा नभएको फूल हो भनिन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरेकी हुन् । एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताइन् ।
कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
सिनेमा संवादको अन्तिम सेसनमा थिए, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । उक्त सेसनमा सहजकर्ता थिए पत्रकार अमृत सुवेदी ।
बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए । उनले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताए । उनले चलचित्रको बृहत्तर विकासमा आफू लागिपरेको बताए ।
चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औंल्याए ।
चलचित्र पत्रकार संघ कास्कीका कार्यबहाक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायतले आफ्नो धारणा राखेका थिए ।