

काठमाडौं । यसपटकको शिवरात्रिमा तीन फिल्म एकसाथ प्रदर्शन हुने भएका छन् । चलचित्र ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलीली’ एकै पटक लाग्न लागेका हुन् ।
चलचित्र ‘लाज शरणम्’ चर्चित सिरियल ‘सक्किगोनि’ टिमको पहिलो चलचित्र हो भने ‘मायावी’मा पल शाह र दीपिका प्रसाईंको फिल्म हो । ‘फेरि रेशम फिलीली’ विनय श्रेष्ठ र सुपुष्पा भट्ट अभिनीत चलचित्र हो । जुन ‘रेशम फिलीली’को दोस्रो संस्करण हो ।
‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशिन गरेका छन् भने ‘फेरि रेशम फिलिलि’लाई निरोज महर्जन र ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशित गरेका छन् ।
तीन चलचित्रमध्ये सुरुमै ‘लाज शरणम्’ ले शिवरात्रिलाई केन्द्रित गरी मिति तय गरेको थियो । तर, ‘मायावी’ र ‘फेरि रेशम फिलीली’ले क्रमशः एकपछि अर्को गरी सोही मिति तय गरेका हुन् ।
शिवरात्री रोजेका तीनवटै फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शन अनुमति पाइसकेका छन् ।
तीन चलचित्रमध्ये ‘लाज शरणम्’ सामाजिक कथामा आधारित कमेडी विधाको चलचित्र हो । ‘मायावी’लाई पूर्ण लभस्टोरीमा आधारित बनाइएको छ भने ‘फेरि रेशम फिलिलि’ पूर्ण प्याकेजमा रहेको बताइएको छ । जसमा कमेडी विधा पनि समेटिएको छ ।
‘फेरि रेशम फिलिलि’ २०७२ मा रिलिज भएको ‘रेशम फिलिलि’को सिक्वेल हो ।
‘मायावी’ र ‘फेरि रेशम फिलिलि’ निर्धारित मितिअनुसार नै प्रचारप्रसारमा थिए भने ‘लाज शरणम्’ भने पात्रको आवरणको कारण विवादमा तानिएको थियो । चलचित्रविरुद्ध पूर्वमन्त्री अफताव आलमले मुद्दा हालेका थिए ।
उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति नदिई फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो । यो फिल्मलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिइसकेको छ ।
प्रचार–प्रसार र चर्चाको हिसाबले चलचित्र ‘लाज शरणम्’ केही अगाडि देखिएको छ । विवादकै कारण पनि ‘लाज शरणम्’ले चर्चा बटुल्न सक्यो । सँगै, काठमाडौंका मेयर बालेन साहको गीत समेटिएसँगै चलचित्रको थप चर्चा भइरहेको छ ।
अर्कोतिर, ‘मायावी’ र ‘फेरि रेशम फिलिलि’को सन्दर्भमा पनि राम्रो प्रचारप्रसार भएको पाइन्छ ।
चलचित्र ‘लाज शरणम्’मा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), विजय बराल, कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे), हरिष निरौला (कक्रोज), सिताराम कट्टेल, प्रियना आचार्य (मुन्नी), माला लिम्बु, मुकुन्द श्रेष्ठ, देशभक्त खनाल लगायतको अभिनय छ ।
चलचित्र ‘मायावी’मा भने पल शाह र दीपिका प्रसाइँसँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेललगायतको अभिनय छ ।
यस्तै, ‘फेरि रेशम फिलीली’ मा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायतको अभियन छ ।