माओवादीमा नरोकिएको विवाद: एकातिर टाल्यो अर्कोतिर सुरु -Sutra News

माओवादीमा नरोकिएको विवाद: एकातिर टाल्यो अर्कोतिर सुरु 

मंगलबार, १३ फाल्गुन २०८१

मंगलबार, १३ फाल्गुन २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ आरम्भ गरेको छ । सोमबार झापाको कचनकवलमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले अभियानको आरम्भ गरेको थियो ।



जागरण अभियानअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमार्फत एउटा तस्बिर सार्वजनिक भएको छ । जहाँ प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको काँधमा हात राखेका छन् । जसलाई ‘गहिरो राजनीतिक सन्देश’ भनी विश्लेषण गरिएको छ ।

हुन पनि माओवादीभित्र लामो समयदेखि नै अन्तरसंघर्ष चलिरहेको छ । विशेषगरी उपमहासचिवद्वय शर्मा र पुनले अध्यक्ष प्रचण्डलाई कतिपय सन्दर्भमा चुनौती दिने गरी आफूलाई प्रस्तुत गरिरहेका छन् ।

पार्टीको स्थायी समिति बैठकमै उपमहासचिव शर्माले लिखितरूपमै नेतृत्व परिवर्तनको प्रस्ताव राखेका थिए । जुन प्रस्तावयता प्रचण्ड निकै दबाबमा देखिएका छन् ।

यद्यपि, प्रचण्डले योबिचमा अनेकन रणनीति प्रयोग गरेका छन् । शर्माको प्रस्तावलाई अलमलमा पार्न उनले भदौमा केन्द्रीय समिति नराखी प्रदेशस्तरीय बैठक राखे । सबै प्रदेशस्तरीय बैठकमा उनी आफैँ सहभागी भए । पार्टीभित्र शर्माको प्रस्तावलाई निस्तेज गर्ने गरी प्रचण्ड लागे ।

आधार मिलाएपछि प्रचण्डले बल्ल पुस तेस्रो साता केन्द्रीय समिति बैठक डाके । जुन बैठकबाट उनले अन्तरसंघर्ष बाहिर आउन दिएनन् । जहाँ उनले शर्मालाई केही महत्व दिने गरी समय पनि दिए ।

त्यही केन्द्रीय समितिको बैठकको निर्णयअनुसार यति बेला माओवादी राजमार्ग केन्द्रित अभियानमा निस्किएको हो । जुन अभियानबाट प्रचण्डले माओवादीको पक्षमा बलियो जनआधार बनाउने योजना मात्रै अघि सारेका छैनन्, स्वयं आफूलाई पनि बलशाली बनाउने गरी तयारी गरेका छन् । अभियानको उद्घाटन गर्दै मञ्चबाटै जनता तथा कार्यकर्तासँग माफी मागेका छन् । उनले आफू सत्ताको खेलमा लागेर बिग्रिएको भन्दै आत्मालोचना गरेका छन् ।

“जानेर वा नजानेर हामीले हिजो गल्ती गरेकै छौँ, अब हामीले जनतासँगै रहने संकल्प गरेका छौँ, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र पहिचानका मुद्दालाई बलियो बनाउनेछौँ, आफ्नो भुल सुधार गर्दै आत्मालोचना गरेर अघि बढ्दा जनताले पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ,” प्रचण्डले आत्मालोचना गर्दै भनेका छन्, “नयाँ राष्ट्रिय एकता कायम गरेर पार्टीलाई सुदृढ बनाउने अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।”

माओवादीले राजमार्ग केन्द्रित अभियानलाई पार्टी पुनर्निमाणको अभियानको रूपमा चित्रित गरेको छ । जुन अभियानकै आधारमा पार्टी पुरानै अवस्था फर्किने विश्वास प्रचण्डले राख्ने गरेका छन् ।

तर, अभियानको उद्घाटन समारोहमा देखिएको घटना भने सामान्य छैन । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाउँदै उद्घाटन समारोह छाडेर हिँडे । अभियानको नियमित कार्यक्रम छाडेर श्रेष्ठ यति बेला अन्य कार्यक्रममा छन् । समग्र सिङ्गो पार्टी पदाधिकारी टिम नै अभियानमा सहभागी भइरहँदा श्रेष्ठ बाहिरिएसँगै पार्टीभित्र अर्को विवादको शृङ्खला देखिएको छ ।

जसले माओवादीभित्र देखिएको एक खालको अन्तरसंघर्ष अन्त्य भए पनि अर्को खालको अन्तरसंघर्ष सुरु भएको देखाउँछ । प्रचण्डले जनार्दन र वर्षमानलाई मनाइरहँदा नारायणकाजी टाढिएका छन् । र, माओवादीभित्र अर्को विवादको शृङ्खला सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट