

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । हटाएरै छाड्ने अडानमा देखिएका खड्काले मंगलबार २४ घण्टे समयसीमा राखेर स्पष्टीकरण सोधेका हुन् ।
ऊर्जामन्त्री खड्काले घिसिङलाई यसअघि पनि तीन पटक स्पष्टीकरण सोधिसकेका छन् । असोज २३ मा पहिलो पटक स्पष्टीकरण सोधेका खड्काले त्यसयता क्रमशः कात्तिक १३ मा दोस्रो पटक र पुस २२ मा तेस्रो पटक स्पष्टीकरण सोधेका थिए ।
मन्त्री खड्काले असोज २३ मा १५ दिनको समयसीमा राखेर १५ बुँदे स्पष्टीकरण सोधेका थिए । जसको जवाफ घिसिङले कात्तिक ४ मा पत्र पठाएका थिए ।
तर, उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै खड्काले पुनः कात्तिक १३ मा ६ बुँदे स्पष्टीकरण सोधे । जसको जवाफ घिसिङले पुस २४ मा पठाएका थिए ।
यद्यपि, त्यहीबिच ‘किन कारबाही नगर्ने ?’ भन्दै फेरि उनको पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोधेका थिए । जसको जवाफ घिसिङले पुस २८ मा पठाएका थिए ।
जुन स्पष्टीकरणपछि कारबाही प्रक्रिया थाल्न खोजेका खड्कालाई कांग्रेसभित्रैबाट असहयोग भएपछि रोकिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनको प्रस्तावविरुद्ध उनकै राज्यमन्त्री पूर्णबहादुर तामाङ विरुद्धमा उभिएका थिए । उनले कुलमानलाई हटाउनु न्यायसंगत नहुने धारणा राखेका थिए । जुन बैठकमा मन्त्री खड्का र राज्यमन्त्रीबिच भनाभनको अवस्थासमेत भएको थियो ।
मंगलबार सोधिएको २४ घण्टे स्पष्टीकरणमा पुनः किन नहटाउने ? भनि प्रश्न सोधेका छन् ।
स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको पसं ०८१।०८२ चनं४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईंले पसं ०८१।०८२ चनं ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँद मन्त्रालय र तपाईंबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईंले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयानुसार जानकारी गराइन्छ ।”