

प्राज्ञ सभाको प्राज्ञ बन्न १० लाख घुस बुझाउनु पर्ने यो देशमा कुनै संघ-संस्थाको कार्यकारी प्रमुख बन्न संस्था हेरेर ४ करोडसम्म पैसाको चलखेल हुन्छ । अहिले राजदुत बन्न योग्यताले हुँदैन पैसा बुझाउनुपर्छ । जुनसुकै पार्टीको सरकार होस्, पार्टीको नाउँमा सहयोग मागिन्छ । पैसा भएका मान्छे मात्रै पदका योग्य हुन्छन् भन्ने कुरा नेपाली राजनीति र राजनीतिका आडमा बनेका सरकारले प्रमाणित गरेर देखाइसकेका छन् ।
एउटा लेखकले विदेशीको सहयोग लिएर किताब लेख्यो भन्दा यसमा समाजको आपत्ति त्यति बेला मात्रै हुन्छ जब उसले आफ्नो देश, समाज, इतिहास, धर्म संस्कृतिलाई नै प्रभावित पार्ने गरेर लेख्छ । ‘सगरमाथा आधा चीनको र आधा नेपालको हो’, ‘लुम्बिनी जहाँ बुद्ध जन्मिए, त्यो पहिला हाम्रो देशको थिएन’ भन्ने जस्ता भ्रमित पार्ने मनसाय राखेर लेख्न थाल्यो भने त्यो नेपालको लागि अपाच्य हुन्छ । ती लेखक, लेखक नै होइनन् ती त विदेशीका एजेन्ट नै भए । तिनलाई बहिष्कार गर्नुको विकल्प छैन । र, अन्ततः त्यस्ता लेखक एक दिन लेखबाट आफै विश्राम लिन्छन् ।
र यहाँ कुरा गर्न लागिएको चाहिँ त्यस्ता लेखकको हो, जसले विद्वद्वृत्ति पाएर नेपालको हितमा लेखे र लेखिरहेका छन् ।
नेपालको परिवेशमा लेखक, कवि भन्नासाथ लुरे, झाम्रे, गरिब र निरीह प्राणी हो भन्ने भ्रम परेको छ । लेखक भनेको हिजो ‘क्युरियो’ पसल चलाएर परिवारको जीवन यापन गर्ने, निबन्ध सम्राट् शंकर लामिछाने र गीतकार भनेको हिजोको रक्सीको मातमा हराउने हरिभक्त कटुवाल र कवि भनेका जागिरबाट आएको तलब पनि डिल्लीबजारको उकालोमा बाँडेर हिँड्ने महाकवि देवकोटालाई नै सम्झिने परम्परा छ ।
आजका लेखक फरक छन् । खुम्चेर, थिचिएर, मिचिएर, पिल्सिएर सधैं गरिबकै अवस्थामा र सधैँ सत्ताको चाकरीमै घिस्रेर बस्दैनन् ती । आजको नेपाली लेखक अमेरिकामा बसेर किताब लेख्छन्, नेपालमा छाप्छन्, विश्वका उत्कृष्ट पब्लिकेसन्सबाट कृति प्रकाशित गर्छन्, पेङ्गुइन, अक्स्फोर्ड जस्ता विश्वव्यापी संस्थामा योग्य भएर उनीहरूका कृति छापिन्छन् । लाखौँ रोयल्टी बुझ्छन् । समस्या भनेको हाम्रो मानसिकता र चिन्तनमा मात्रै हो । राजनीतिज्ञहरू जति पापी र अधर्मी एउटा लेखक कहिले हुँदैन ।
राजनीतिले देशका सिमाना बेच्न सक्छ, नेपालका नदीनाला बेचिएकै हुन् । तर, लेखक देशद्रोही हुन सक्दैनन् । जो आफू लेख्न सक्दैन, अरूले लेखेको रिस गर्छ, अरूको सिर्जनामा डाहा गर्छ, तिनकै दिमागमा उल्टो कुराहरू घुमिरहेको हुन्छ ।
अनुदान (ग्रान्ट) लिएर किताब लेख्ने लेखकका सम्बन्धमा अहिले निकै चर्चा चलिरहेको छ । हामी कतिलाई त अनुदान लिएर पनि किताब लेखिन्छ भन्ने कुरासमेत थाहा रहेनछ । एक्कासि यो कुराले नेपाली मिडिया तात्तियो जब युएसआइडीले नेपाललाई दिइँदै आएको सबै आर्थिक अनुदान बन्द गरिदियो ।
यतिबेला धेरै लेखक कवि कलाकारहरू झस्किएका छन् । मह जोडी सबैभन्दा बढी यो कुराबाट प्रताडित बनेका छन्, जसलाई धर्म बेच्यो भन्ने समेत लाञ्छना लगाइएको छ । जिन्दगीभरि समाज परिवर्तनका लागि कलाकारिता गरे उनीहरूले, अब जिन्दगीको यो उत्तरार्धमा के तिनलाई यति नमिठो लाञ्छना लगाउनु जायज थियो त ?
नेपालमा लोकतन्त्र प्राप्तिका लागि सबै लेखक कवि कलाकारको उत्तिकै हात छ । यो नसम्झिनुस् कि राजनीतिले मात्रै सत्ता परिवर्तन हुन्छ र राजनीति गर्ने मानिस मात्रै समाजका अंग हुन । राजनीति शास्त्र लेख्ने पनि तिनै लेखक हुन्, जो राजनीति आफू गर्दैनन् तर, राजनीति लेख्छन् । पढाउँछन् अनुदान अर्थात् कुनै विदेशी या स्वदेशी संघ संस्थाको आर्थिक सहयोग/अनुदान लिएर कुनै विषय वस्तुमा आबद्ध भई पुस्तक लेख्ने काम एउटा लेखकले नै गर्ने हो सामान्य मानिसले होइन । यो अति सामान्य कुरा हो कि छात्रवृत्ति लिएर अध्ययन गर्न जाने काम र अनुदान लिएर कुनै अनुसन्धानमूलक किताब लेख्ने काम उस्तै हो ।
अनुदान लिनु भनेको घुस लिनु होइन । अनुदान लिएर किताब लेख्नु भनेको नदीनाला बेच्नु जस्तो होइन । अनुदान लिँदा राष्ट्रघाती या धर्म बेचुवा होइँदैन । यो गर्दा कोही लेखकले राष्ट्र नै बेच्ने काम गर्दैन, बरु राष्ट्रको इज्जत आउने काम गर्छ । भारतका महान् लेखक/संगीतकार/चित्रकार रविन्द्रनाथ टैगोरले नोबेल पुरस्कार पाउँदा भारत भन्ने देश विश्वमा चम्किएको थियो । त्यति मात्र होइन उनलाई दक्षिणपूर्वका एक महान् लेखक भनेर चिनियो । एउटा सफल लेखक बन्नको लागि स्वदेशमा मात्रै होइन विदेशमा पनि उसको पहिचान आवश्यक छ । अनुदान लिनु पाप होइन ।
त्यो श्रम र पसिनाको लागि लिएको हो । अझ सिर्जनाका लागि लिइएको अनुदान त पुरस्कार हो । हौसला हो । श्रद्धा हो । इज्जत हो ।
लेखकहरूले अनुदान लिएर कृति लेख्ने सम्बन्धमा लेखक जीवा लामिछानेले भनेका छन् कि अनुदान (ग्रान्ट) लेखन संसारभरि नै सामान्य अभ्यास मानिन्छ । लेखकहरूलाई आर्थिक बोझबाट स्वतन्त्र भएर आफ्नो सृजनशील काममा केन्द्रित हुन अनुदान तथा फेलोसिपहरू दिने गरिन्छ । त्यसैले, वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन् भन्ने विषयमा केन्द्रित हुनुपर्छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयलाई लिएर घृणायुक्त बहस हुनु दुःखद हो । सर्जकले अनुदान पाएर सिर्जना गर्नु कुनै अपराध होइन । बरु प्रश्न उठ्नुपर्ने भनेको त्यो लेखनले समाजलाई फाइदा पुर्यायो कि हानी गर्यो भन्ने हो । यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदानको सहयोगमा महत्त्वपूर्ण कृतिहरू लेखेका छन् ! टोनी मोरिसन, एडवार्ड पी. जोन्स, कोल्सन ह्वाइटहेड, भियेत थान गुयेन जस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेका छन् । अनुदानले सिर्जनात्मकता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत हो ।