

एक हिन्दुले, म हिन्दु हुँ भनिराख्न पर्दैन । उसको कर्म व्यवस्थापन आचार, बानी–व्यवहार, बोलीचाली, उसभित्र बाँचेको मानवीय गुणले भन्छ, ऊ हिन्दु हो । आफूलाई हिन्दु हुँ भन्नेले हिन्दुको जस्तो कर्म गरेको छ कि छैन त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीभन्दा कट्टर हिन्दुहरू हिन्दुस्थान (भारत)मा छन्, तर उनीहरू किन भारतलाई हिन्दु राष्ट्र बनाउने पक्षमा लागिरहेका छैनन् ?
अहिलेको वैज्ञानिक युगमा सरकारले जात र धर्मको नाउँमा राष्ट्रको परिचय दिनुहुँदैन । जुन अन्य देशहरूका उदाहरण पनि छन् । हामी हाम्रो सनातन धर्ममा विश्वास गर्छौं । हामीमा धार्मिक सहिष्णुता हुँदा हुँदै फेरि पनि हामी हिन्दु राज्य, हिन्दु राजा, हिन्दु धर्मको माग गर्दै बेलाबेलामा सडक तताउने कुरा गर्छौं । एक धार्मिक मान्छेले या संस्थाले यही नै कुरा हुनुपर्छ भनेर धार्मिक द्वन्द्वका लागि आफूलाई र अरूलाई भड्काउँदैन । र, धर्मलाई पनि अब युगको चेतनाले र विज्ञानको आँखाले हेर्नुपर्छ ।
धर्मको आवरणलाई जब सत्ता र राजनीतिक सुरक्षा मिल्छ अनि आफूलाई ईश्वरको दूत सम्झिने महाराजहरूले समाजमा ‘कन्कोल’ मच्चाउन थाल्छन् । नेपालीलाई सबैभन्दा ठग्न सजिलो माध्यम भनेको धर्मप्रतिको विश्वासका कारणले हो । धर्मलाई समातेर भोट माग्ने नेता, धर्मको नाउँमा स्थापित भएका गुम्बा, मन्दिर, मस्जिद, चर्च, चैत्य, बिहार यी सबै स्थानमा हुने अनेकौँ शोषणहरू यदि बाहिर आउने हो भने धर्म प्रति मानिसमा यति वितृष्णा पैदा हुन्छ । उनीहरू सबै नास्तिक बन्न सक्छन् । हामी हिन्दुहरू सप्ताह पुराण महायज्ञ लगाउँछौ र आफ्नो गक्ष र रुचिपूर्वक उक्त पवित्र काममा आर्थिक दान पनि दिने गर्छौं । गत वर्ष पाशुपत क्षेत्रमा लगाइएको कोटी होममा उठेको करोडौँ रकम कसरी हिनामिना भयो र कसरी यो रकम दुरुपयोग भयो, सबै हिन्दुहरूले प्रत्यक्ष रूपमा देखे पनि र भोगे पनि ।
यसरी स्वघोषित बाबाजीहरूका पछाडि धेरै खालका बदनामी जोडिएको पाइन्छ । कतिपय यौनको मामिलामा त कतिपय ठगीको मामिलामा जोडिएका छन् । अबोधहरू बत्तीको उज्यालोमा पुतली होमिए झैं होमिन्छन् र सकिन्छन् । धर्मसँग त पाप कहिले पनि नजोडिन पर्ने थियो नि तर, सधैँ धर्मसँग पाप किन नाता लगाएर आउँछ ?
समाजका ९० प्रतिशत मान्छे आडम्बरमा बाँचेका हुन्छन् । पहिले पहिले धर्म, त्याग, तपस्या एकान्तमा गरिन्थ्यो, यो योग साधना हुन्थ्यो र अन्ततः यसले मनुष्य जीवनलाई सुमार्गमा डोर्याउने काम पनि ग¥यो । खराब आचारसंहितामा नफस्नु वा खराब कर्म नगर्नु धर्म हो यति हो धर्मले आफैलाई व्यक्त गरेको परिभाषा । तर, नेपाली समाजमा धर्म यति व्यापक बन्दै गयो कि यहाँ धर्म व्यापार बन्यो । धर्म नै किनबेच भयो । पार्टी पनि धार्मिक पार्टी हुन थालेका छन् ।
धर्मसँग नाता छैन भन्ने प्रगतिशीलहरूले पनि धर्मका अवतारीहरूलाई बुईमा बोकेर हिँडिरहे । बौद्ध धर्मका नाउँमा स्थापित सेता गुम्बाभित्रका आनी र अवतारी लामाहरूको अवैधानिक धन्दा होस् कि, चर्चभित्र मौलाएको यौनजन्य क्रियाकलाप होस् वा स्वघोषित स्वामीजीहरू र मठका मठाधिसहरूका ठगी धन्दा होस्, यसका लागि हाम्रो देश खुला भइसकेको छ ।
धर्म स्वयं शान्तिको बाटो हो तर, धर्मका ठेक्का बोकेर समाज सुधारको क्षितिज खोल्छु भन्ने सन्त हुन् कि आनि हुन वा रामबहादुर बम्ज्जन जस्ता कुख्यात मनुष्य हुन वा आफूलाई वाचन प्रवीण हुँ भन्ने धर्मका ठेकेदार हुन यिनको मोहनी लीलामा अलमलिएको नेपाली समाज झन् बरबाद तर्फ धकेलिँदै गएको महसुस भइरहेको छ ।
धार्मिक अतिवादीले कसैको पनि हित गर्दैन । त्यसकारण पनि स्वधर्मलाई मानेर मात्र राज्य अगाडि बढ्नुपर्छ । यो देश हिन्दु धर्म मान्नेहरूको मात्रै देश होइन । सँगै, राज्यको कुनै जात र धर्म हुँदैन । मानव सेवा नै राष्ट्रको सबैभन्दा ठुलो धर्म हो । धर्म कुन मान्ने भन्ने विषय व्यक्तिको निजी कुरा हो । राज्यले तेरो धर्म यो हो, तैँले यो धर्म मान्नुपर्छ भनेर भन्न मिल्दैन । जात, धर्म, लिङ्ग भूगोलका आधारमा हुने कुनै पनि विभेद र शोषणको अन्त नयाँ नेपालको संविधानले घोषणा गरिसकेको छ । आजको आवश्यकता पनि यही हो ।
यस कारण नेपाल न हिन्दु राष्ट्र हुन सक्छ, न बौद्ध, न मुस्लिम, न क्रिश्चियन नै । ८५ प्रतिशत ओमकार जगत् छ भनेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियो भने बाँकी १५ प्रतिशतले हामीमाथि भेदभाव भो भन्लान् । धर्म त त्यो स्थिति हा,े जहाँ ढुङ्गालाई पनि नदुखोस् भन्ने बिचारले मान्यता पाउनुपर्छ ।