

काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
४० भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरबाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताए ।
घटनालगत्तै मोटरवे प्रहरीसहितको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।
‘घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको हो,’ उनले भने ।
अधिकारीहरूले पल्टिएको बसलाई सिधा गर्न क्रेन प्रयोग गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।