

काठमाडौं । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल/मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।
निगमले भनेको छ- ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ (मिति २०८१/११/१७) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु.१.०० ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।
साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’