कथा : लाहुरेकी स्वास्नी-Sutra News

कथा : लाहुरेकी स्वास्नी

एउटा पुरुषको अगाडि आज मातले मात्तिन मन लाग्यो । बिकी सोफामा थियो । म चाहन्थे उसले मलाई आक्रमण गरिदिओस्...

शनिबार, १७ फाल्गुन २०८१

शनिबार, १७ फाल्गुन २०८१

” मेरा लोग्ने ब्रिटिस आर्मीमा जागिरे भएर गएको अहिले ११ वर्ष बित्यो। घरमा भएका दुई छोरीलाई बोर्डिङमा बोर्डस गरेकी छु।  म केही गर्दिन बसी बसी खान्छु । घर बनाएर बाकी रहेको करेसावारि छ । तिनै फूल गोडमेल गर्छु , प्याज, धनियाँ ,काउली सिजनल तरकारी रोप्छु । बजारमा तरकारी किन्नु जानू पर्दैन । पछिल्लो समय श्रीमान् छुट्टीमा आउँदा एउटा टिपर किनेर जानू भो । गाउँमा सामान ढुवानी गर्ने गाडीहरू उति सारो थिएनन्। त्रिसुलीको बालुवा मात्रै बोक्दा पनि फाइदा हुदोरहेछ । छब्बीस लाख नगद बुझाएर बाकी  पैसा बैङ्कबाट लोन लिइएको थियो ।दिनकै चार पाँच हजार आम्दानी छ ।



साँझ परेपछि चालक (बिकी तामाङ) आउँछ पैसा बुझाउँछ जान्छ । सोझो छ चालक पनि । मलाई इमानदार मान्छे असाध्य मन पर्छ । खेतीपाती अरूलाई कमाउन दिइएको थियो । म पनि केही समय उतै लन्डन मै बसेकी थिए । यतातिरको व्यवहार बिग्रने सम्भावना देखेर श्रीमानले गल्छी मै बस भन्नू भो। छोरीहरू च्यापेर आए। गल्छीको घर सडक छेउमै छ । चालक चैँ गजुरीको । सधैँ टिपर आगनमा राखेर उ घरमा जान्छ । खाजा खान र गाडी चढ्नु भनेर तलब बाहेक उसलाई  दिनको तीन सय दिइने गरेको छ । एका बिहानै आइपुग्छ । क कसको ढुवानी गर्ने उ आफै व्यवस्थापन गर्छ । अलि सोझो छ केटो । एक महिना अगाडि  एउटा पुलको लागि बालुवा, गिट्टी, छड, सिमेन्टको ढुवानी उसैले पारेको थियो । बेलुकी निकै अबेर हुने भो भने फोन गर्छ । घरको मूल गेट खुलै राख्दिन्छु। कुन्नि कति बेला गाडी भित्र हुल्छ अनि टिपरमै सुत्छ । बिहान झिसमिसेमै चिया खाजा लग्दिन्छु खाएर निस्कन्छ ।

असाध्यै मिहिनेती छ । यस्ता मिहिनेतीले श्रीमती पनि सजिलोसँग पाल्छन् । भर्खर २१ वर्षको भए म साहुनी भन्छ । तामाङको बच्चा खाइलाग्दो छ । कमाएको पैसा पनि कुनै हिनामिना गर्दैन।

सबै टिपको हिसाब बुझाउँछ । गाडी बिग्रियो टिप पाइएन यसो त्यसो गुनासो गर्दैन । जे दियो हात थापेर खान्छ । बाउआमा गरिब छन् रे । कहिलेकाहीँ तिउनतरकारी फलफूल पठाइदिन्छु । पन्ध्र दिन अगाडि त्रिसुलीबाट कालो दाल किनेर ल्याइज भनेको दुई पाथी ल्याएछ । एक पाथी लैजा भनेर दिए । चामल तेल आफै किन्दिन्छु । कहिलेकाहीँ चाउचाउ एक दुई कार्टुन किन्दिन्छु लैजान्छ । बाबुआमा खुसी छन् रे ।

दुई महिना मात्रै भो बिकिलाई राखेको । पहिलाको चालक अलि बुढो थियो । अल्छि पनि त्यस्तै । अह्राएको मात्रै गर्ने । आफ्नो विवेकले काम नगर्ने पुरुष काम छैन । हटाइदिए । अनुहार पनि घिनलाग्दो थियो । मुख गन्हाउने ह्वास्स । कहिलेकाहीँ त बिहानै लोकल कोदाको पिएर आउँथ्यो । बेलुकी गाडी आगनमा नहुले सम्म डर लागिरहन्थ्यो ।

यो बिकी त भाग्यले पाएको । सफासुघ्घर गर्छ।गाडी पनि चम्काउँछ आफू पनि चिटिक्क परेर हिँड्छ । एक दिन फोन गरेर पनि राती १२ बजे सम्म आएन । पिर लाग्यो फेरि फोन गरे । आइसकेर पनि गाडी आगनमा हुलिसकेछ। राती तल आगनमा हेर्छु बिचरो टिपर भित्र कसरी सुत्यो होला यो जाडोमा जस्तो लाग्यो । राजमार्गमा नाइट बस कुदिरहेका थिए । छिमेकी पनि चकमन्न सुतिसकेका थिए ।माथि गल्छी चोकमा आगो बालेर केही मान्छे हल्ला गरेको सुनिन्थ्यो ।

तल ओर्लिए आगनमा । बिकी चालक क्याबिनमा लुगाफाटो मिलाएर सुत्न लागेको रहेछ बोलाए ।

त्यो दिन अलिक जाडो थियो । बेलायत देखिनै बेलुकी कहिलेकाहीँ अलिकति पिउँथे । श्रीमानले सिकाएका । उतैबाट आउँदा डिउटि फ्री बाट ४ बोतल ल्याएकी थिए । कहिलेकाहीँ दिक्क लाग्छ । उता लन्डन हुँदा श्रीमानसँग नाइट क्लब गएको याद आउँछ । अरू पनि के के याद आउँछ । याद मात्रै आएर पो के गर्नु । कल्पना, चाहना, इच्छा, आकांक्षा, जिन्दगी, जवानी सबै सबै दबाउनु पर्दो रहेछ हामी स्त्रीले । झन् छोरीहरूलाई बोर्डिङ बोर्डस गर्दिएपछि कस्तो एक्लो फिल हुन्छ । आधा रातको त्यो धीमा उज्यालोमा बिकी हाफ पाइन्ट लगाएर सुत्न लागेको रहेछ ।

चिसोले काम्यो होला भनेर भुवादार मलमलको ब्ल्यान्केट बोकेर आएकी म एक छिन त अकमक्क भए । बिकिको सुडाेल तिघ्रा देखेर । उसले पनि अलिक लाज मान्यो र हत्तपत्त तौलियाले छोप्यो छोप्नुपर्ने ठाउँ । पैसाको बिटो हातमा थमायो मेरो । उसले सोचेछ म आजको टिपरको हिसाबकिताब बुझ्न आएकी भनेर ।

उसले माथि क्याबिन बाट नै पैसा गनेर दियो । ठ्याक्कै नौ हजार ।

कस्तो कुरा गर्न मन लाग्यो आज उ सँग । नजिकैबाट हेरेको मैले उसलाई आजै हो ।

आगन छेउमा बलेको धीमा उज्यालो लाइटमा उसको मुखाकृति स्पष्ट देखे । कस्तो सफा छ यो केटो । कतै दाग धब्बा महिलो केही छैन । कपाल पनि कस्तो कर्ली परेको । मङ्गोल भएर पनि बाहुन जस्तो । पहिलाको चालक त वरिपरि जानै नहुने गन्हाउँथ्यो । बिकी असाध्य सफा । भर्खरैको उर्लँदो वैशको पुरुष हो बिकी । उर्लँदो वैशका पुरुषको शरीरबाट एक प्रकारको बेग्लै मादकता वास आइरहेको हुन्छ । बरु मैले ह्विस्की पिएकी थिए थाहा पायो भने के गर्नु ।

” बिकी ?”

” हजुर”

” म पैसाको हिसाब माग्न आएकी होइन नि लाटा ”

” ठिक छ नि साहुनी बिहानै टिप गर्न जानुछ यत्रो पैसा किन बोकेर हिड्ने भनेर  हो ”

” के खायौ त ?”

” माथि नारायण दाइको होटेलमा भात खाको ”

” जाडो भा छैन तिम्लाइ ?”

” छैन नि ”

” यस्तो चिसोमा झन् हाफ पाइन्ट लाएर बसेको”?

” पख म माथि बाट ट्र्याक सुट ल्याइदिन्छु ”

म माथि पुगे । श्रीमानलाई भनेर किनेको एउटा नयाँ ट्र्याक सुट दराजमा थियो । दराज खोले । प्लास्टिकमा प्याकिङ गरेको थिए। खोले । यसो हेरे । राम्रो कलरको रे छ सुहाउँछ बिकिलाई ।

अलिकति एक पेग थप्न मन लाग्यो फेरि । सोचे आ.. आ.. के भो त मेरो जिन्दगी मेरो मर्जी । म आफ्नो इच्छाले बाच्ने पो हो । तल बिकी मलाई कुरिरहेको होला । कस्तो खाइलाग्दो छ बिकी । लजालु छ अलिकति । तर उसको शरीर त… बाफ्रे । खोइ किन पो आज मलाई बिकिको किन यति धेरै  माया लागेको । पिएर पो हो कि । नहोला त्यस्तो त । पिए पछि पुरुष पनि यस्तै मात्तिने होलान् है। केके केके गरूँ जस्तो । हासु जस्तो नाचूँ जस्तो गाउँ जस्तो ।

झ्याल खोलै थियो । त्यतैतिर बाट बग्दै आएको चिसो हावाले गालामा छोएर भाग्यो । माथि झ्यालबाट बिकिलाई क्याबिनमा देखिन्छ । उसलाई थाहा छैन मैले उसलाई हेरिरहेको छु भनेर ।

क्याबिनको बत्ती बालेर एउटा कापीमा के के लेख्दै छ उ । उसको सुडौल शरीरमा मेरो आँखा मात्तिएर उसैतिर तिर हान्छ । आगनमा एउटा वैशले भरिएको युवा एक्लै छ । म माथि छु । आज अर्कै तरङ्ग दौडिरहेको छ शरीरमा । यस्तो तरङ्ग जो पहिला कहिले भएन ।

झ्यालबाट निस्फिक्री बिकिलाई हेरिरहेको छु । रात चकमन्न छ ।

बिकी कहिले कापीमा लेख्छ कहिले मोबाइल चलाउँछ । कहिले झ्यालबाट यसो बाहिर हेर्छ । उ पक्कै पनि मलाई नै कुरे जस्तो लाग्छ अहिले । मात चढेको बेलामा यो मनले के के कस्तो कस्तो सोच्दो रहेछ आज आफैलाई अनुभूति भो । पुरुषहरू नसामै मात्तिएर छिल्लिएका कुरा गर्छन् । श्रीमान् नसा पिएकै बेलामा कस्तो मात्तिनु हुन्थ्यो । साची बिकिलाई लाई पनि एक पेग पिउन दिउकी क्या हो जे त पर्ला । बिचरा जाडोमा लगाओस् एक पेग। आखिर त्यसको पनि शरीर त्यसको पनि मन त्यसको पनि बैँस । के भो त पिओस् । माथि नै बोलाएर पिऊ भन्छु । तर लजालु छ।

म लाज मान्नुपर्ने उ चैँ लजाउँछ मोरो काले ।

रातको १२ बजेर सत्र मिनेट गयो । बिकिलाई एउटा ओपोको मोबाइल किन्दिएकी थिए दुई हप्ता अगाडि । धेरै पढेलेखेको छैन तर सबै एप्लिकेसन चलाउँछ । निहालेर हेरे माथि बाट । उ मोबाइलमा के के  फिल्म हेर्दै छ । सोझो सम्झेकी थिए तर कस्तो चलाख रेछ बिकी । ओहो ! म त विस्मित भए । जिउनै ढक्क फुलेर आयो । फेरि अर्को एक पेग थपे । बिकिलाई रेडी गरेको लुगा पुर्‍याउन तल ओर्लिए। गएर क्याबिन झ्याल ढकढकाए । बिकिले टिपरको क्याबिन खोल्यो।

मैले लुगा दिए । उसले लुगा समात्यो । उसले केही बोलिदिए हुन्थ्यो भनेर सोचेकी थिए । केही बोलेन । उ झ्याल माथि बाट मलाई हेर्दै छ । उसको आँखामा मेरो आँखा जुध्न पुग्यो। उ लजायो । मलाई अघि नै थाहा थियो उ लजाउँछ भन्ने।

म नाइट गाउनमा थिए । एउटा बर्कोले छाती छोपेकी थिए । यति जाडोमा अलिक न्यानो लुगा लगाउन पर्थ्यो तर मैले जानाजान लगाइन । छाती अलि खुलै राखेकी थिए । आँखामा गाजल पनि थियो । ओठमा गुलाबी कलरको ब्र्यान्डेड लिपिस्टिक पनि लगाएकी थिए । मैले चाहेकी थिए उसले छातीमा हेरोस् । नभन्दै हेर्‍यो बिकिले मेरो छाती । उसले हेरेपछि उस्लाइ पत्तै नहुने गरेर मैले छातीको बर्को अलि तल झारे । उ झन् लोभिएर हेर्न थाल्यो।

कस्तो खुसी भए म । अर्कै उन्माद अर्कै रमाइलो अर्कै अर्कै तरङ्ग मग मगायो शरीरमा । उ माथि थियो। म तल थिए । राजमार्गमा लगातार चलिरहेको गाडीको ध्वनि पनि रातको निस्तब्धतामा चर्को सुनिन्थ्यो ।

” बिकी लगाउन लुगा ! जाडो भो भनेर ल्याइदिए झन् ”

” भोलि लगाउँछु नि हुन्न साहुनी “?

” हुँदैन अहिले नै लगाऊ ”

” हस् एकै छिन है त ”

बिकी क्याबिनको झ्याल आधा खोलेर अलि भित्र पस्यो । म तल टिपरको छेउमा उभिइरहे । मनले माग्न थाल्यो उसले लुगा फेरेको हेरूँ र उ सँगै न्यानिएर क्याबिनमा सँगै बसु । अलिकति कुरकुचा उठाएर माथि हेरे । उ अलि लजायो । लुगा फेर्यो। न्यानो भएर झ्यालबाट हेरेर मुस्कुरायो । मलाई खुसी लाग्यो । जे होस मैले भनेको मान्यो । मेरो इच्छा राखिदियो ।

” बिकी तिम्लाइ न्यानो भो अब म सुत्न जाऊ ? ”

”  हस् म पनि सुत्छु ”

”  केही खाने मन छ ? ”

” भर्खरै खाना खाएको हो भोक छैन ”

” मैले किन्दिएको मोबाइल मन पर्‍यो नि तिम्लाइ”?

” एकदम मन परेको छ सबै साथीहरूको भन्दा मेरो राम्रो रे !”

” जतन गरेर राख नहराऊ कसैलाई छुन नदेऊ”

” हस् खोल पनि हाल्छु भोलि ”

” मन परेको फिल्म डाउनलोड गर न माथि वाई फाइ छ ”

” हो र ! भोलि अलिक छिटो हुन्छ दुई टिप पछि फ्री ”

” भोलि अलि छिटो आऊ। त्रिसुलीबाट फ्रेस माछा पनि ल्याऊ है”

माथि उक्लिए । कोठा भित्र आएपछि पो चिसो लाग्यो । म स्त्री । मेरो चाहना  भन्न बन्देज छ । मैले मनको कुरा भनी भने म उत्ताउली हुन्छु । नत्र म उसको मालिक्नी म जे पनि गर्न सक्छु । उसको शरीर सँग खेल्न सक्छु। उस्लाइ भन्न सक्छु म के चाहन्छु। शरिरिक भोक भन्दा मानसिक भोक झन् तीव्र हुदोरहेछ। म जे नि सोच्न पाउँछु । मेरो मन मेरो मर्जी । मेरो शरीर मेरो खुसी । मानिस बाहिर स्वतन्त्र नभए पनि आफ्नो मन भित्र त स्वतन्त्रताले बाच्न पाउँछ। ओछ्यानमा त कमसेकम स्वतन्त्र बाँच्नदेउ मनुष्यलाई । मलाई केको डर । अरूलाई के मतलब । म फोन गरेर अहिले नै उस्लाइ यो पलङमा सुताउन सक्छु। मेरो ई छ्या कस्ले के गर्छ मलाई । कसको किन रोकतोक  । कमसेकम स्वतन्त्र सोच्न त पाउँछु नि। बत्ती निभाए। अघि नै बालेर राखेको हिटर नजिक बसे । रातको एक बज्यो । बाहिरको एकान्त सन्नाटाले आफैलाई चिथोर्न थाल्यो । भोलिको कल्पनामा  डुब्न थाले । भोलि त बिकी माथि नै आउँछ । आहा ! उ पहिलो चोटि माथि आउँदै छ । मेरो अगाडि । उसलाई यही मोटो सोफामा राख्छु । माछा फ्राई गरेर खुवाउँछु । मान्यो भने ह्विस्की पनि खुवाउँछु । पिउँछ होला नि । अहिलेको युवा ठिटो । बैशले बलेको धपक्कै। कस्तो हिस्सी परेको छ नि मोरो काले ! । हाँस्दा पनि कस्तो राम्रो देखिदोरहेछ। मन पर्यो।  उसको बलिस्ठ युवा छातीमा एक चोटि छाम्ने ई छ्या छ । के भन्ला मलाई । के सोच्दो होला ।

मैले भनेको मान्छ होला नि पक्कै ।

रात लम्बियो । निन्द्रा पटक्कै लागेन । पलङ छेउमा राखेको एक गिलास पानी पिए । खुट्टा तातेन निकै बेर सम्म । झ्याल खोलेर हेरे। आगनमा टिपर दिनभरको थकाइले मस्त निदाए जस्तो देखिरहेको छु । टिपर चालक बिकी सानो लाइट बालेर क्याबमा मस्त सुतिरहेको छ। खुसी लाग्यो । उ त्यही लुगामा झप्किएछ । सिरानी कस्तो अग्लो बनाएछ । मोबाइल हातमै देखे । मोबाइल हेर्दाहेर्दै निदाएछ बिचरा। माया लाग्यो । खै के भा छ मलाई आज कुन्नि ?  बिकिको मुहार हेरिरहे । उसले बिस्तारै श्वास फेरेको पनि देखिन्छ माथिबाट । उ निदाएको हेरिरहे । एकोहोरो हेरे । कल्पना गरे केके केके । भोलि म बिकिलाई ह्विस्की पिलाउँछु । म सँगै सुताउँछु । के थाहा उस्लाई । माछा उसलाई असाध्य मीठो लाग्छ । माछा र ह्विस्की दुवैजना खाने अनि… । अनि केके केके । यति सोच्दैमा मलाई खोइ के भएको यस्तो ।

किन यति धेरै मात लागेको मलाई । हिस्टेरिया भनेको यही हो त !  बिकिलाई उठाऊ जस्तो नि लाग्छ । तर फेरि के बहाना गरेर उठाउनु ? तर डर लाग्यो भन्छु नि । त्यति भनेसि त उसले पत्याउला । लोग्ने सम्झिए । ओहो ! छोरीहरू त पुरै बिर्सिएछु । शून्य भए छु । म किन यस्तो अनैतिक सोचिरहेको छु आज । बिकी मेरो चालक त हो । भने भइहाल्छ नि मनको कुरा ।मलाई केको छेक थुन केको डर । उ मेरै नोकर त हो । म जे मन लागे नि गर्न सक्छु भन्न सक्छु । उसको ज्यान मेरो जागिरले त पालिएको हो । मैले जे भने पनि उसले नाइनास्ती भन्न पाउँदैन । उ मेरो अधीनमा रहेको मान्छे हो । मैले पालेको । उसलाई माया गर्ने अधिकार पनि छ र घृणा गर्ने अधिकार पनि ।

छि म स्त्री यति कमजोर ! किन फुल्याउन सक्तिन म आफैलाई ह!

के भन्लान् मेरा लोग्नेले थाहा पाए भने । चालक सँग लसपस ।

ह्या जेसुकै भनुन् । तिनी पनि मलाई झुक्याइ झुक्याइ कत्ति केटी सँग सुतेका छन । मोबाइल चेक नगरेको हो र मैले पनि ।  एउटी नारायणघाटकी तिमिल्सिनाकि छोरी  थाप्री भन्दा हुरुक्कै हुन्थे । के थाहा उ पनि उतै त छे अहिले पनि  । नाम मात्रैको पोइ छ उसको । सबै व्यवस्थापन गरिदिने त मेरै बुढा त हुन । म मात्रै  सती  सावित्री बन्नुपर्छ भन्ने छ र ? बुढा तिमी पनि इमानदार छैनौ म मात्रै किन इमानदार बनेर आफू भित्रको चाहनाको ज्वाला निभाइरहु ह ! मलाई पनि जल्न मन लाग्छ नि । आखिर मेरो पनि त तन हो । मेरो पनि मन हो । कति धेरै समय भइसक्यो म भित्रको प्यास नबुझेको । पुरुषहरू बाहिर चाहर्ने अनि स्वास्नीहरू तिनकै माया ममता र सम्झनामा आरती गरिरहनु पर्ने !  मलाई माफ गर बुढा अब म तिम्रो मात्रै रहन्न । स्त्रीहरू कुनै दासी होईनन । सुश्री सम्पत्ति भएर यो शताब्दीका कुनै स्त्री बस्न चाहन्नन् । मलाई माफ गर बुढा । म भोलि यति बेला बिकिको अँगालोमा बाँधिएकी हुन्छु । तिमी पनि उता रमाइलो गर । म केही भन्दिन । आँखा अगाडि चैँ अर्को सौता नहाल बस यति भए पुग्छ मलाई । रमाइलो गर्न जानिन मैले तिमीले जस्तो  । दुई लालाबाला छोरीहरू हुर्काउँदैमा मैले यौन र सुखभोग बिर्सिएछु ।

बिहान एकै चोटि ब्युँझिएछु । झलमल घाम लागिसकेको थियो । झ्याल खोलेर हेरे। राति नै उठेर गाडी लिएर गएछ बिकी । आज त्यस लाइ एक कप चिया दिन पनि सकिन । मोबाइल हेरे उसको दुइटा मिस कल आएको रे छ । नुहाए तातोपानीले । फोन गरेको उ धुन्चे पुगेको रे छ टिप लिएर । फर्कँदा त्रिसुलीको आलो माछा ल्याउनु भने । आज उसले माथि नै आएर गीत डाउनलोड गर्ने भनेको छ । खोइ किन पो हो आज लागेको घाममा मादकता छ । आज घर नै किन रमाइलो लागेको छ ! आफैलाई एउटी चञ्चल चुलबुले अविवाहित नारी जस्तै सम्झेकी छु ।

ब्यागमा पैसा गनेको एक लाख असी हजार जम्मा भएछ । दिउँसो बुढाले फोन गरे। छिटो बैङ्कको लोन चुक्ता गर्नु भनेर । नयाँ चालक बिकी ले राम्रो पैसा बुझाइरहेको छ भन्दा खुसी हुनु भो । मिल्छ भने तल्लो फ्लाइटमा उस्लाइ एउटा रुम दिनु भन्नू भयो । हस् भने । पैसाको हिसाबकिताब बुझाएको श्रीमान् मक्ख परे । पैसा नै सबैभन्दा प्यारो रैछ दुनियाँमा जस्तो लाग्यो । म लाहुरेकी स्वास्नी । सबै थोक छ । सम्पन्न छु । कुनै कुराको पनि अभावमा बाचेको छैन । तैपनि म भित्र कता कता के के नपुगेको जस्तो भइरहन्छ ।

अरूको पोइ दसैँ तिहारमा छुट्टी मिलाएर आउँछन् तर मेरा भने यस्तै हो । तिनलाइ स्वास्नी नचाहिए मलाई पनि किन तिनी चाहियो ? । बेलाबेलामा पैसाको हिसाब बुझायो सुन्यो त्यसमै मक्ख पर्यो भै त गो नि ।

बिकी टिपर लिएर आइपुग्यो । झम्के साँझ भएको थियो ।

म उसकै प्रतीक्षामा थिए । टिपर बाट ओर्लियो उ । आज एघार हजार बुझायो मलाई । आलो माछा पाँच किलो ल्याएछ । वरिपरि कम्पाउन्ड भएको घर कसैले देख्दैनथे । मैले माथि हिँड भने । चारैतिर हेर्यो उसले । अलिक डरायो । दुई महिना भो उ अहिलेसम्म माथि म बसेको फ्ल्याटमा गएको छैन ।

” गीत डाउनलोड गर्ने भनेको होइन हिंड माथि जाऊ ।”

” साहुनी !  अहिलेसम्म माथि नगएको कसैले देखे भने नि “?

” किन चिन्ता ! मेरो घर मेरो मर्जी । तिमी मेरो चालक अनि !”

” मान्छेले कुरा काटे भने आम्मै ।”

” कसैको साहस छैन आउँ ”

उ र म माथि फ्ल्याटमा आयौ ।

माछा छिल्कन लगाए मैले । असला माछा रहेछ । लामो सलक्क परेका । गोसाईंकुण्ड देखि  बगेर आएको चिसो पानीमा खेलेका माछा । हेर्दैमा पनि स्वादिला देखिन्थे । तल मुलगेटमा ताल्चा मारेर आए आफैले । माछा छिल्किएर सकायो बिकिले । उसको हातमा तौलिया र स्याम्पु दिए । तातोपानीमा मज्जाले नुहाऊ बिकी भने । उ अलिक लजायो । बाथरुम भित्र छिर्यो । म ह्विस्की तयार गर्न लागे । अलिकति तोरीको तेल राखेर माछा प्यानमा फ्राई गरे ।

दुइटा ग्लासमा ह्विस्की हाले।

उ नुहाएर बाहिरै उभिइरह्यो । मैले भित्र  आऊ भने । उ आयो। उसलाई म सँगै सोफामा राखे । भान्सामा खाना पाक्दै थियो । मोबाइलमा पासवर्ड हाल्दिए । दुइटा गिलासमा ह्विस्की देख्यो उसले । मैले भने ” बिकी आज धेरै चिसो छ माछा र ह्विस्की खाने है” । उ अलिक लजायो । मैले भने ” तिमी पिउँछौ नि ”  उ केही बोलेन ।

” पिउन अलिकति । तिमी र म मात्रै त हो नि के को लाज  तामाङको छोरो कस्तो लजाएको हो ”  यति भनेसि उसले ग्लास समात्यो । एक ठुलो पेग बनाइ दिएकी थिए। माछा सँग खुब रमाएर पियो उसले । गीत डाउनलोड गर्दिनुन भनेर मोबाइल दियो मलाई । उ माछा सँगै मज्जाले पिउँदै छ । मलाई पनि कस्तो झुमझुम भयो । उसको मोबाइलमा नेपाली चलचित्रको गीत डाउनलोड गर्दिन थाले । गीतहरू डाउनलोड सँगै उसले मोबाइलमा राखेको अर्कै रमाइलो खालको चलचित्रमा आँखा पुग्यो मेरो । खोलेर हेरे कस्तो नयाँ खालको रे छ । नसाले मात्तिएको बेला झन् त्यस्तो चलचित्र ।

” बिकि तिम्लाइ कस्तो भईराछ ?

” मलाई त मज्जा आयो

” पहिला पहिला पनि पिउँथ्यौ ?

” बाहिर त धेरै पिउँदिन आमाले बनाएको जाड चैँ खान्छु

” बाहिर कहिले पिएनौ ?

” सत्य कसम छैन

” केटीसँग बसेर पिएको छैनौ कहिले नि ?

” छैन । पहिला त पैसा हुँदैनथ्यो अहिले पो काम पायो ।

” तिम्लाइ साहुजीले तल फ्ल्याटमा रुम दिनु भन्नुभएको छ बस्नी हो ?

” भइहाल्छ नि । बिहे गरेको छैन। म एक्लो त हो ।

” कहिले बिहे गर्छौ ? बिहे गर्न मन लागेको छैन ?

” गर्नी हो बाजा बजाएर गर्नी हो

” ल भोलिदेखि तिमी टिपरमा सुत्न पर्दैन ।

”  भाडा कति लिनुहुन्छ धेरै महँगो भए म घरमै जान्छु ।

” फ्रीमा हो तिमी सँग किन पैसा लिन्छु मैले ह्या लाटा

” बि कि एउटा कुरा भनूँ

” भन्नुन ।

” तिमी अलि लजाएको हो

” होइन नि । अघि नपिउँदा चैँ हो अहिले चैँ होइन

” मलाई हेरन सिधा आँखाले । मलाई लागे जस्तो छ त ?

खोइ के के बोलिएछु मैले ।बिकी को मोबाइलको फिल्म आफै प्ले हुँदै गयो । उ पनि लाजले रातो भो साहुनीले यस्तो फिल्म देख्नु भो भनेर । म पनि लाजले भुतुक्कै भए । मन थाम्नै सकिन । बिकिको बलिस्ठ शरीरमा आगोको राप दन्किरहे जस्तो न्यानो अनुभूति भयो । त्यो निस्तब्ध रातमा एकै कोठामा उ र म मात्रै । झ्यालबाट चिसो आयो बन्द गरिदिए । एउटा रमाइलो धुन गुन्जियो । बाहिर आकाशको जुनेली पनि कतै थामिए जस्तो । एकान्त यति मीठो हुदोरहेछ कि पहिलो चोटि अनुभव भो । एउटा पुरुषको अगाडि आज मातले मात्तिन मन लाग्यो । बि कि सोफामा थियो । म चाहन्थे उसले मलाई आक्रमण गरिदिओस् । मलाई छोइदेओस्। मलाई अँगालो हालोस्। माछा र ह्विस्कीले उ यति बेला बैशको घोडा जस्तै हिनहिनाउँदै छ । म भित्र भित्रै एउटा अग्निदह ज्वालामुखी ओकल्दै छ । यो के हो ? वासना मात्रै हो या माया पनि ? अनेकौं प्रश्नहरु आउन थाले। बिकी नजिक गए म । उसको सामु उभिए र उस्लाइ हात दिए । उ अलिक हच्कियो । उसले मलाई समाउने साहस गरेन ।

म मातले मुर्छित थिए । आफै मदहोसामा थिए । मैले उसको हात समाते । गालामा म्वाइँ खाए । मेरो श्वास एकदम बढेर आयो ।

आफैले आफ्नो धुकधुकी थाम्न नसक्ने भएकी छु म । मलाइ उसैको सामु सर्वाङ्ग पल्टन मन लाग्यो । अब एकै छिन पनि अबेर भो भने म आफै पग्लिन्छु । उ उभियो । म उसैको सामु उभिए । दुवै हात दिए मैले उसलाई । आफ्ना कोमल हात समाउन दिए । म बेहोस जस्तै थिए । मैले उसको बलिस्ठ छातीमा आफ्नो शरीर राख्न खोजे । उ उभिएको स्थानबाट अलिक पर हच्कियो ।मलाई ग्लानि फिल भयो । यो कस्तो पुरुष हो । किन मलाई स्पर्श गर्दैन ।

अति भयो । मैले अपमान सम्झिए । त साला तल्लो जातको चालकलाई ओछ्यान सम्म ल्याएर गल्ती गरेछु भन्दै दाहिने हातले गालामा एक चड्कन तताएर हाने । उसको आँखा बाट आँसुको तप्का चुहिएर गालाको भिर हुँदै बग्न थाले। केही बोलेन । चुपचापले उभियो । निःशब्द भयो । फेरि सोधे

” बि कि तिमी पुरुष हौ कि आइमाई हौ ?”

” पुरुष हु तर आफ्नो प्रेममा र आफ्नो कर्तव्यमा अडिग ”

” के तिम्रो गर्ल्फ्रेन्ड छ ?”

” छ । हाम्रो यो दसैँमा प्वाङ राखेको । म उस्लाइ धेरै माया गर्छु ”

” मेरो पनि लोग्ने छन् नि ! के फरक पर्यो त ! बिकी आउँ मलाई

सम्हाल मज्जाले सम्हाल

” हुँदैन पाप लाग्छ । हाम्रो तामाङ जातमा बिहे गर्न भनेर सगुन

साटासाट गरेपछि उ  मेरी माया हो । उ प्रति विश्वास घात गर्दिन”

मलाई असाध्य गाह्रो भो । उसलाई चड्कन दिएको हात दुख्न थाल्यो । शरीरमा अघि नै पलाएको यौवनको उन्माद चिसो र शिथिल भैसकेको थियो ।

” सरि…. आईम भेरी सरि बि कि ।” उ सगै म पनि रोएछु ।

बि कि तल जान्छु भन्यो । म उस्लाइ तलसम्म पुर्याउन गए । उसले टिपरको क्याबिनको ढोका खोल्यो । मैले भने “नरिसाऊ है बि कि बिन्ती ! बरु तिम्रो गर्लफ्रेन्डलाई पनि यहीँ लेराउन है !” । उसले हस् भन्यो । उ नरिसाइदिएकोमा म खुसी भए । रात आफ्नै पाराले घर्किरहेको थियो । माथि आइसकेपछि पनि फेरि झ्यालबाट हेरे । हेरिरहे । उसलाई पिटेको हात दुखिरह्यो । उसले एक वचन पनि फर्काएन । केही भनेन । आखिर एउटा सामान्य चालक न थियो उ । तर उ रोयो मात्रै । उसको नुनिलो आँसु त्रिशूली जस्तै निर्मल देखे । आफैलाई धिक्कारे । आफैसँग रिसाए म आज । निन्द्रा परेन। फेरि एक पेग लिए । अहिले चैँ आफ्नै आँसु पिइरहे जस्तो लाग्यो । उ निदाइसकेको थियो। कस्तो शान्त मान्छे रे छ उ । बुद्ध जस्तै ।  फेरि मन पर्यो । तर….

उसको प्रेम देखेर मलाई कता कता जलन भइरह्यो रातभरि  ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट