भाइरल इन्फ्लुएन्जाको कारण दुई विद्यालय बन्द-Sutra News

भाइरल इन्फ्लुएन्जाको कारण दुई विद्यालय बन्द

शनिबार, १७ फाल्गुन २०८१

शनिबार, १७ फाल्गुन २०८१

काठमाडाैं । एकपछि अर्को गरी विद्यार्थीहरू बिरामी हुन थालेपछि स्वास्थ्यकर्मीको परामर्शमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।



वडा नं. ५ थुकिम्वाको त्रिभुवन माध्यमिक विद्यालय र जनज्योति आधारभूत विद्यालय बन्द भएका हुन् । तीन सय बढी विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको र पेट दुख्ने समस्या देखिएको छ ।

त्रिभुवन माविका प्रधानाध्यापक कमल लिम्बूका अनुसार उक्त विद्यालयका एक सय ५० विद्यार्थी र चार जना शिक्षकमा यस्तो लक्षण देखिएको छ। जनज्योतिमा भने शतप्रतिशतमा यस्तो लक्षण देखिएको र समुदायमा समेत लक्षण देखा पर्न थालेपछि तत्काल तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको लिम्बूले जानकारी दिए ।

विद्यालयबाट सूचना प्राप्त भए लगत्तै स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले बताए । उनका अनुसार गाउँमा नै सबै बिरामी परिरहेको र ज्वरो, खोकी, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको र पेट दुख्ने जस्ता लक्षण देखिएकाले भाइरल इन्फुएन्जाको महामारी फैलिएको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार