अर्ग्यानिक फिल्म उद्योगको भविष्य: सफलताको नयाँ सूत्र-Sutra News

अर्ग्यानिक फिल्म उद्योगको भविष्य: सफलताको नयाँ सूत्र

नाफा कमाउनका लागि संस्कृतिमा विकृति ल्याउने खालका चलचित्र नबनुन् ।

शनिबार, १७ फाल्गुन २०८१

शनिबार, १७ फाल्गुन २०८१

काठमाडौं । चलचित्र “पूर्ण बहादुरको सारङ्गी”ले यही कुराको प्रमाणित गरिदियो कि नेपाली चलचित्र यदि अर्ग्यानिक कथामा बन्ने हो भने यसले दर्शकको अपार माया पाउँछ ।धेरै पैसा लगानी गरेर, मारधाड, हिन्दी मार्काका अत्याधुनिक फिल्म बनाए है! भन्ने धेरै निर्माणकर्ता फ्लप भएका उदाहरण थुप्रै छन्।



के हो अर्ग्यानिक कथा भनेको ? आजकल सबैले अर्ग्यानिक शब्दको धेरै प्रयोग गर्छन्। खास गरेर खानेकुरामा यो शब्द प्रयोग गरिन्छ।अर्ग्यानिक तरकारी, अर्ग्यानिक खाना, अर्ग्यानिक उत्पादन जस्ता शब्दहरू बोलचालमा धेरै प्रयोग हुन्छन्। अर्ग्यानिक शब्द अहिले चलचित्र तथा मनोरञ्जनका विषयमा पनि प्रयोग हुन थाले।

स्थानीय उत्पादन जो विषादि प्रयोग नगरी उपभोक्ताले उपभोग गर्छ भने त्यो अर्ग्यानिक खाने कुरा भयो। त्यस्तै फिल्ममा पनि अर्ग्यानिक कथावस्तु जसमा हाम्रो आफ्नै मौलिकता झल्कने र प्रविधि पनि त्यसरी सञ्चालन गरी निर्माण गरिन्छ भने त्यो अर्ग्यानिक फिल्म हो। आधुनिकता भन्दा अलिक पर, स्थानीय वासना आउने, मौलिक संस्कृती बोकेको आफ्नै नेपाली परम्पराका अनमोल कथामा उनीएको चलचित्र साँच्चै चल्दो रहेछ त्यो कुरा फेरि पूर्ण बहादुरको सारङ्गीले भनिसक्यो।

काल्पनिक नै सही फिल्म गतिशील र अर्ग्यानिक कथामा बनिनुपर्छ भन्ने मान्यतामा बहस सुरु भैसकेको छ। केही वर्ष नेपाली फिल्म उद्योग मुर्झाएको थियो। खास गरेर कोभिड पछि विश्व अर्थतन्त्रमा यसले निकै ठुलो प्रभाव पार्यो। दुःखद अवस्थामा मानिसहरूको ध्यान मनोरञ्जनमा जाँदैन। र मानिसहरूका आय आर्जनको गतिमा पनि कोभिडले तीव्र ब्रेक लगाइदियो। कोभिड पछि केही पारिवारिक सामाजिक चलचित्र निर्माण भएको हो तर तिनले पानी पनि पिउन पाएनन् । अहिले मनोबिनोदी, सामाजिक हास्य रसमा, मौलिकता झल्किने, यथार्थवादमा आधारित, अर्ग्यानिक नेपाली सामाजिक कथामा बनिएका फिल्महरू चल्न थालेका छन् । यसको उदाहरण छक्का पन्जाका शृङ्खलाहरु राम्रैसँग चले।

अहिले बनिरहेका एकाध फिल्महरूमा हास्य रस विधाले प्रश्रय पाइरहेको छ। ‘लाज शरणम्’ त्यसैको एउटा सिलसिला हो। लाज शरणम स्तरका मौलिक, हास्य रस, सामाजिक व्यङ्ग्य चेतमा आधारित चलचित्र दर्शकले मन पराउँछन् भन्ने कुरा ‘लाज शरणम्’को हल रिपोर्टले प्रमाणित गर्दै छ।

विशुद्ध नेपाली कथालाई प्रविधिको युगिन आँखामा राखेर सामान्य दर्शकले पनि सजिलोसँग बुझ्न सक्ने र पछ्याउन सक्ने चरित्र उतार्ने हो भने चलचित्रले कसैलाई पनि डुबाउँदैन । कथामा आफ्नो पन कहिले मर्न दिनुहुन्न यो कुरा सबै निर्देशक देखि निर्माताहरुले ध्यान दिनु अनिवार्य छ । कथा मीठो भएको नेपाली चलचित्र फ्लप खादैनन । फलानो सिन चैँ हिन्दी फिल्मको यति नम्बरको सिन जस्तो होस भनेर फ्रेम नै चोरेर नेपालीकरण गर्न खोज्ने निर्माण कर्ता पनि छन् नेपाली सिने जगतमा । फिल्म बुझ्ने मान्छेले नै हो फेरि त्यसो गर्ने पनि ।

हामी कुनै बेला अमिर खान सारुख खान र सलमान खानहरूका अन्धभक्त थियौँ जति बेला फिल्म भनेको हिन्दी मात्रै हो भन्ने समयमा । तिनले खुट्टा उचाल्दा पनि हामी आहा ! क्या राम्रो कला प्रदर्शन गर्यो भन्थ्यौ, त्यही कला हाम्रा आर्यन सिग्देलहरूले गरेको हामीलाई मन पर्दैनथ्यो।

अझैसम्म पनि ८० वर्ष पुग्न लागेका अमिताभ वचनले र्‍याल झारेर डाइलग डेलिभरी गरेको हामीलाई मीठो लाग्छ तर ६० वर्ष नपुग्दै हाम्रा राजेश हमालहरू थन्किनछन् ,शिव श्रेष्ठहरू पाखा लाग्छन् र भुवन केसीहरू पालो कुर्छन् किन यस्तो ? फिल्म विशुद्ध व्यापार मात्रै होइन यो त देशको समृद्ध साहित्य कलाको प्रतीक पनि हो। त्यस कारण नाफा कमाउनको लागि संस्कृतीमा विकृति ल्याउने खालका चलचित्र मात्रै बनाउनु हुन्न। पूर्ण बहादुरको सारङ्गीले नेपाली सिनेमाको इतिहासमा यो कुरा सिकाएको छ।

नेपाली सिने उद्योगमा दिपा दिपकको प्रवेशले एउटा धारको प्रतिनिधित्व त गर्यो नै नेपाली दर्शकलाई नेपाली चलचित्र हेर्न बानी पारिदिने काम छक्कापन्जाले पारिदिएकै हो। छक्कापन्जाले एउटा ब्रान्ड स्थापित गरिरहेको बेलामा पूर्ण बहादुरको सारङ्गी आयो। यो विशुद्ध मौलिक नेपाली यो चलचित्रमा एउटा उत्पीडित वर्गको वर्ग संघर्षको कथा छ। अभिनय देखि गीत सङ्गीत तथा फिल्मी परिवेशमा मौलिकता झल्किन्छ। अब मौलिकता मात्रै बिक्छ भन्ने सन्देश पूर्णबहादुरले दिएकै हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट