नेप्सेमा उत्साह : ७५ अंकले परिसूचक बढ्दा कारोबार रकम १४ अर्बमाथि-Sutra News

नेप्सेमा उत्साह : ७५ अंकले परिसूचक बढ्दा कारोबार रकम १४ अर्बमाथि

आइतबार, १८ फाल्गुन २०८१

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । आइतबार नेप्से ७५.२४ अंकले बढ्दै २८९०.२८ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से २.६७ प्रतिशतले बढ्यो ।



उच्च अंकले नेप्से बढ्दै गर्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनको सूचक ४.७९ प्रतिशतले बढ्यो । साथै, जीवन बिमा, होटल तथा पर्यटन र फाइनान्सको सूचक ४ प्रतिशतभन्दा बढीले बढ्यो । आज विकास बैंक, लगानी र निर्जिवनको सूचक ३ प्रतिशतभन्दा बढीले बढ्यो ।

यसैगरी, बैंकको सूचक २ प्रतिशतभन्दा बढीले बढ्दा अन्यको सूचक १ प्रतिशतभन्दा माथि बृद्धि भयो । उच्च अंकले नेप्से बढेपनि आइतबार सामूहिक लगानीको सूचकमा भने १.२७ प्रतिशतले गिरावट आएको छ ।

उच्च अंकले सूचकमा बृद्धि भइरहँदा कारोबारमा आएका १९६ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्यमा करेक्सन आयो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज आधा दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भएको छ ।

सूचक बढेसँगै नेप्सेमा कारोबार रकम पनि ६ महिनायताकै उच्च भएको छ । २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको भयो ।

आज कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, सिन्धु विकास बैंकलगायत शीर्ष स्थानमा रहे । नेपाल रिको मात्रै ९७ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्से लगातार ८ कारोबार दिनदेखि उकालोमा थियो । आइतबारको बृद्धिसहित नेप्सेमा २१२ अंकले बृद्धि भएको छ । नेप्से २९ सयको बिन्दुनजिक पुग्दै गर्दा थप उत्साहित भएको देखिन्छ ।

विशेषगरी मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशत झारिएसँगै ठूला लगानीकर्ता उत्साहित देखिएका छन् । सँगै, अहिलेका गभर्नरको बिदाईको चर्चाले पनि बजालाई उत्साह दिइरहेको छ ।

आइतबारको कारोबारसँगै नेप्सेले छिट्टै पुरानो रेकर्डलाई ब्रेक गर्ने अवस्था बनेको बजारका लगानीकर्ता बताउँछन् । बजारका जानकार जगतजंग जिसी बजारले बुलको बलियो लय समातेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट