

सन्त शब्द प्राकृतिक भाषाबाट बनेको हो । सन्तको अर्थ हुन्छ- शान्त । जो रागहीन, द्वेषहीन रहन्छ उ नै सन्त हो । महान् सन्त उ होइन जोसँग हजारौँ अनुयायी छन्। जोसँग धेरै शिष्य छन् त्यो महान् सन्त होइन । महान् सन्त त उ हो जो आफैमा पूर्ण शान्त छ । भलै उसँग कोही अनुयायी नै छैनन्। कोटि कोटि जनतालाई आफ्नो सम्बोधनले प्रभावित गर्ने प्रवचनकार उ सन्त साधु होइन। प्रवचन नदिने मान्छे असन्त होइन। शान्त मन नै सन्त हो र अशान्त मन नै असन्त हो ।
सन्तको उपस्थिति समाजसेवा हो । उसको मौनता उसको प्रवचन हो । उसको सानिध्यता नै पथ दर्शन हो ।
सन्त उ होइन जसले सम्प्रदाय बोकेर हिँड्ने गर्छ। उही सन्त हो, जो आफू आफैमा लिन रहन्छ। सन्त शान्तिले भिजेको हुन्छ र असन्त अशान्ति र आक्रोशको पसिनाले भिजेको हुन्छ । सन्त खोज्दैन उ आफूसँग भएको बाँड्छ मात्रै । असन्त खोजिरहन्छ बाहिरी दुनियाँमा । खोजेको कुरा सङ्ग्रह गर्छ र सङ्ग्रह गर्नुलाई उ महान् सम्झिन्छ ।
सन्त अध्यात्मको पथप्रदर्शक हो तर पनि उसले कहिले प्रतिफलको अपेक्षा राख्दैन । जो प्रतिफलको अपेक्षा राख्छ उ असन्त हुन्छ र असन्तुष्ट मै बाचिरहेको हुन्छ ।
धनी हुनु सुखी हुनु होइन । र गरिब हुनु दुखी हुनु पनि होइन। प्रपञ्चबाट, भौतिक सङ्ग्रहबाट मिल्ने सुखानुभुती त्यो हो जो जाडो महिनामा कागज बाल्दा मिलेको तापको क्षणिक न्यानो मात्रै हो । जब कागज बलेर खरानी हुन्छ अनि हामीले तापेको न्यानो पनि सकिन्छ ।
धनी र गरिबी केवल मनको अनुभूति मात्रै हो । धनीहरू दुखमा विलय हुन्छन् अन्ततः। किनकि सङ्ग्रहको मातले हरपल उनीहरूलाई गाँजिरहेको हुन्छ । महान् चिन्तक नित्सेले भगवानको अस्तित्व अस्वीकार गरे र भगवानको मृत्युको घोषणा गरे । तर त्यति नै बेला तात्कालिक समाजले के भन्यो भने भगवान् अस्तित्वमा नभएको भए “भगवान् मरेको” घोषणा किन गर्नुभएको भन्ने कुराले झन् व्यापकता पाएको थियो । ईश्वर सत्तामा विश्वास गर्ने पनि सन्त होइनन् र अइश्वरवादी पनि असन्त होइनन् । सन्तले शान्तिलाई नै परिप्राप्तिको बाटो हो भन्छ र त्यही अनुरूपको आचरण निर्धारण गर्छ । मानिस अरू भन्दा फरक र अरू भन्दा अगाडि जान खोज्ने जीवन हो ।यहाँ प्रतिस्पर्धा छ र प्रतिस्पर्धा रहेसम्म सन्त र शान्तिको अस्तित्व सङ्कटमा परिरहन्छ ।
भौतिक विचारधाराका महान् चिन्तक मार्क्स पनि देश निकालामा परेर बेलायतमा शरण परेका थिए । बिचारहरू जन्मिरहन्छन् । एउटै मात्र बिचार सार्वकालिक रहँदैन । सत्य पनि समय सापेक्ष हुन्छ । एउटा मात्रै अनुभूति वा बिचार सार्वकालिक रहन्छ त्यो हो नित्य शान्ति र सन्त हिर्दय ।
जीवन अनित्य छ । अनित्य जीवनमा शान्ति बोध भयो भने मात्रै त्यो व्यक्ति सुखको नदीमा निदाउँछ । भगवान् बुद्धले दुख छ र दुखको पनि कारण छ भने । कारण नभएको भए दुख पनि हुँदैनथ्यो होला । यसरी कारण सहितको दुखको अन्तका लागि प्रतिस्पर्धा र लोभबाट मुक्ति खोज्नुपर्छ ।
प्रतिस्पर्धा आफै सँगको मात्रै सुखकारक हुन्छ ।
अरू सँगको प्रतिस्पर्धाले दुस्मनी जन्माउँछ। यो दुनियाँमा बाहिरी शत्रु कोही कसैको हुँदैन । हाम्रो मन भित्रको त्यो भीमकाय कुविचार रुपी शत्रुलाई खोइ कसले जित्यो आजसम्म ? बुद्ध एउटा मात्रै त्यस्ता नदी हुन जसले आफू बहेको किनारमा कहिले फोहोर छोडेर भागेनन् । मन छ र हामीलाई मान्छे वा मनुष्य भनेको हो । मन विकार युक्त छ भने त्यो सन्त होइन र हुनै सक्तैन । हामी सोचिरहेछौ यो दुनियाँलाई आँखाले हेरिरहे छौ । दुनियाँलाई आँखाले हेर्ने मात्रै त हो नि तर देख्ने त मनले हो । आँखाले मात्रै यो संसारलाई हेर्ने सन्त होइनन् । सन्तले दुनियाँलाई मनले हेर्छन तर असन्तले आँखाले हेर्छन । कसैलाई आँखाले होइन मनले हेर अनि मात्रै उ भित्रको सगोलता र सौन्दर्य देखिन्छ ।
हिजोआज हर सहरमा हर उमेरका केटीहरुको भिड जम्मा गरेर सौन्दर्य प्रतियोगिता गराइन्छ। यो व्यापार विश्वव्यापी फैलिने क्रममा छ। मुहारको व्यापार खुब फैलिन्छ । किनकि मानिस आफूलाई अरूले हेरिदेओस् भन्छ। स्त्रीहरू राम्री हुन अनुहारमा अनेकौँ शृङ्गार लगाउँछन् त्यसो किन ? उनी चाहन्छिन् उनलाई पुरुषले हेरिदेओस् र सबैको ध्यान आफैतिर आकर्षण होस। एउटी स्त्रीलाई किन राम्री हुन परेको ? यो दुनियाँ मनको सफातिर होइन अनुहारको झिलिक्क र मानिसको मिलिक्कतिर कुदिरहेको छ।
अहिले सफा बन्नु आवश्यक छैन जति राम्री हुनु आवश्यक छ।मानिस अरूको ध्यान आफूतिर आकर्षण गर्न चाहन्छ र प्रशंसा सुन्नको लागि आशक्त हुन्छ ।अहिलेको सोसल मिडिया र फेसबुकको ब्यापकिकरण पनि यही कारण हो । तर सन्त भाव बोकेको मान्छे, देखिन र आफूलाई देखाउँदैन । उ आफूलाई छोप्दैन पनि । सन्त नदी हो । नदी हिमालय बाट बहन्छ। उ नाङ्गो छ । उ नाङ्गैमा सत्य बोकेर बगिरहेको छ । शान्त सन्त निर्मल हिर्दय मन अरूको ध्यानाकर्षण गराउन चाहँदैन । त्यसैले होला सन्तहरूले एकान्त जङ्गल खोज्ने। अशान्तहरू भिड खोज्छन् । अशान्तले भड्किरहेको मनले अरूको सहारा खोज्छ , अरूको भरण खोज्छ, अरूको शरण खोज्छ, केवल स्याबासी र आशीर्वादका भोका हुन्छन् अशान्तहरू । सन्त आफू कहीँ जाँदैन तर उ भएको स्थानमा अरू जम्मा हुन्छन् ।
सन्त जुनकिरी हो । आफ्नो चिसोले गरमलाई छोइदिएर शान्त पारिदिने । मानिसमा आफै सुवास आउनु पर्छ , तर उ आफ्नो गन्ध छोप्न अत्तर छर्किन्छ शरीरमा ।
सुगन्धले भमरा कहिले खोज्दैन। भमराले खोजी हिँड्छ सुगन्ध र फूलको रस । सुगन्ध कसैलाई सम्पोषित र सुगन्धित बनाउन जाँदैन । र कसैलाई सुगन्धित नबनाउँदा पनि उसलाई कुनै फरक पर्दैन । जसरी नदी कसैको प्यास बुझाउन कसैको गाग्रीमा पस्न जाँदैन। सुगन्धबाट प्रमोदित नहुनेलाई पो घाटा ,सुगन्धलाई के घाटा ? प्यासी मानिस पानी प्युँदैन भने उसैलाई घाटा नदिलाई के घाटा? ख्याति र प्रशंसाको पछाडि उही भागिरहेको हुन्छ जो अशान्त छ । सन्तहरू ख्याति लाई लत्याउछन । ख्याति र प्रसिद्धिलाई आफ्नो पछाडि भाग्ने बनाऊ नकि आफू तिनका दास बनेर तिनैको पछि पछि भागिरहनु भागिरहनु जिन्दगी भर।
नदीहरूले गीत गाइरहेका छन् । चराहरूले बोलिरहेका छन् र पहाडहरुले ती नदी र चराका गुन्जनलाई सुनेर बसिरहेका छन् । अनन्त देखि यो प्रक्रिया चल्दै आएको छ । मानिसहरूले नदीले गाएको कहिले सुनेनन्, अनि चराले बोलेको कहिले बुझेनन् । जसले नदीका गीत सुने, चराका आवाज बुझे ती सन्त बने तिनै बुद्ध बने, तिनै साधु बने,तिनै कवि बने तिनै मीराबाइ,सीता र भृकुटी बने।
नदीले कहिले प्रशंसा खोज्दैन । पहाडले कहिले स्वार्थ देखाउँदैन । फूलले कहिले अहमता फुलाउँदैन । जुनले कहिले आफ्नो उज्यालोको महत्ता लाद्दैन । सन्त ,शान्तिको मधुर धारातिर मधुलित भइरहेको हुन्छ । नदी बग्नुमा कसैको स्वार्थ निहित छैन । नदी बाहिरी दुर्गन्धलाई पनि सम्हालेर लैजान्छ र अन्तमा दुर्गन्धलाई समेत सङ्लाइदिन्छ । पानी जस्तो मन हुनुपर्छ । मैलो पखाल्नमा आफूलाई समाहित गर्ने, प्यासीको प्यास बुझाउनुमा आफूलाई सिध्याउने । मानिसको मन किन नदी जस्तो बनेन ? ताकि जसको निर्मलताले अनिर्मलता पखालिदिओस् !