प्रधानमन्त्री ओलीलाई प्रश्न साेध्ने दुई जना पत्रकारको संसद पास निलम्बन-Sutra News

प्रधानमन्त्री ओलीलाई प्रश्न साेध्ने दुई जना पत्रकारको संसद पास निलम्बन

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१
फाइल तस्बिर

काठमाडाैं । संघीय संसद सचिवालयले दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेकाे छ । सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका पत्रकार प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठकाे एक महिनाका लागि संसद पास निलम्बन गरिएकाे हाे ।



पत्रकारद्वय ओली र श्रेष्ठले गत फागुन ४ गते प्रधानमन्त्री केपी ओलीलाई संघीय संसद भवन परिसरमा ‘तपाइँ हिटलर हो ?’, ‘तपाइँ तानाशाह हाे ?’ भनेर प्रश्न सोधेका थिए । पत्रकारद्वय ओली र श्रेष्ठले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको देखिएको सचिवालयको भनाइ छ।

पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ।

उनीहरूकाे प्रश्नप्रति आपत्ति जनाउँदै संसदमा सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले फागुन ५ गतेको बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए । ‘प्रधानमन्त्री प्रश्नोत्तरबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो। संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ?,’ थापाले संसदमा बोल्दै भनेका थिए।

साेही ध्यानाकर्षणका आधारमा संसद सचिवालयले कारबाही गरेकाे हाे ।

तर, प्रश्न साेध्ने पत्रकारद्वय श्रेष्ठ र ओली भने एमाले निकटस्थ नै हुन् । श्रेष्ठ मोरङ उर्लाबारी वडा नम्बर ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए। यता, प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट