

काठमाडाैं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेकाे ४३ दिन भैसकेको छ । अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । सारा विश्वको नजर ट्रम्पको पहिलो सम्बाेधनमा परेकाे छ ।
सम्बाेधनका क्रममा ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई कडा निशाना गरेका थिए । ट्रम्पले आफ्नो ४ वर्षको कार्यकालमा बाइडेनले गर्न नसकेका काम ४३ दिनमा गरेको बताएका छन् ।
President Donald Trump: “I believe that my life was saved that day in Butler for a very good reason. I was saved by God to Make America Great Again. I believe that.” pic.twitter.com/v4xPUoudEa
— America (@america) March 5, 2025
ट्रम्प सम्बाेधनका मुख्य अंश
१. छ हप्ता अघि, क्यापिटल मुनि उभिएर, मैले अमेरिकाका राम्रा दिनहरू सुरु भइसकेकाे भनेकाे थिएँ । त्यसबेलादेखि आजसम्म हामीले बिनारोकताेक तीव्र गतिमा काम गरिरहेका छौँ । मैले ४३ दिनमा गरेको काम धेरै सरकारले धेरै वर्षमा गर्न सकेका थिएनन् ।
२. हाम्रो ४३ दिने सरकार देशको इतिहासमा सबैभन्दा सफल भएको छ । मैले १०० कार्यकारी आदेशहरू पारित गरेको छु र ४०० भन्दा बढी कार्यकारी कदम चालेको छु।
३. जो बाइडेन अमेरिकाको सबैभन्दा खराब राष्ट्रपति देखिएका छन् । उनको कार्यकालमा हरेक महिना लाखौं अवैध शरणार्थी अमेरिका आएका थिए । त्यसैले मैले देशको दक्षिणी सिमाना (मेक्सिको सिमानामा) संकटकाल लगाएको छु । अवैध शरणार्थीहरू अमेरिका प्रवेश गर्न नपरोस् भनेर अमेरिकी सेनाले गस्ती जारी राखेको छ।
४. मैले पदभार ग्रहण गरेपछि विदेशी सहायतामा प्रतिबन्ध लगाइयाे । देशलाई बेकारको पेरिस जलवायु सम्झौता, भ्रष्ट विश्व स्वास्थ्य संगठन र अमेरिका विरोधी संयुक्त राष्ट्र मानव अधिकार संगठनबाट बाहिर निकालियाे ।
५. हाम्रो सरकारले अमेरिकामा सेन्सरशिप पूर्णरूपमा खारेज गरेको छ। हामीले अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौं। हामीले अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा बनायौं र गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरी गल्फ अफ अमेरिका राख्याैं ।
६. हामीले आधिकारिक नीतिको रूपमा निर्णय गरेका छौं कि अमेरिकामा दुई लिंग मात्र हुनेछ, पुरुष र महिला। मैले ट्रान्सजेन्डर खेलाडीहरूलाई महिला खेलहरूमा भाग लिनबाट रोक्नको लागि कार्यकारी आदेश पारित गरेको छु।
७. बाइडेनको कार्यकालमा, अमेरिका आर्थिक विपत्ति र मुद्रास्फीति तिर गइरहेको थियो। किराना सामान महँगो भयो । बिडेनले अण्डाको मूल्य बढाउन पनि अनुमति दिए। तर हाम्रो सरकारको ध्यान अमेरिकी अर्थतन्त्र बचाउनमा छ।
८. अमेरिकामा विश्वमा सबैभन्दा धेरै तरल सुन (तेल र प्राकृतिक ग्यास) छ। हामी अलास्कामा सबैभन्दा ठूलो ग्यास पाइपलाइनमा काम गरिरहेका छौं। हरेक देश यस परियोजनामा ट्रिलियन डलर लगानी गर्न चाहन्छ।
९. ऐतिहासिक कदम चाल्दै हामीले सरकारी दक्षता विभाग सिर्जना गरेका छौं। धन्यबाद मस्क … तपाई धेरै मेहनत गर्दै हुनुहुन्छ। डिअाेजिइअन्तर्गत, मस्कले अघिल्लो सरकारका धेरै घोटाला र अनियमितताहरू पर्दाफाश गरेका छन्।
१०. गोल्ड कार्ड भिसा प्रणालीले अमेरिकामा ५० मिलियन डलर लगानी गर्न सक्छ। यसले देशमा रोजगारी सृजना हुनेछ र कम्पनीहरूले पनि ठूलो सफलता पाउनेछन्।
११. अर्को अप्रिल २ बाट, हामी अमेरिकामा पारस्परिक कर लागू गर्न जाँदैछौं। पहिले अप्रिल १ गतेदेखि ल्याउन लागेको थिएँ, तर मानिसहरूले यसलाई अप्रिल फूल मान्छन्, त्यसैले २ अप्रिलको मिति रोजेँ । अब अमेरिकामा जुन देशले कर लगाउँछ, त्यो देशमा पनि त्यही कर लगाउँछौं ।
१२. दशकौंदेखि हरेक देशले अमेरिकालाई लुट्दै आएको छ। अवैध आप्रवासीका कारण अमेरिकामा हजारौंको मृत्यु भएको छ । अब किसानलाई फाइदा हुने नयाँ व्यापार नीति ल्याउन लागेका छौं ।
१३. मलाई युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको पत्र धेरै मन पर्यो। उनी रुससँग वार्ता गर्न तयार छन् । हामीले मस्कोबाट बलियो संकेत पनि पाएका छौं। उनीहरु शान्तिका लागि तयार छन् । अब यो बेकार युद्ध अन्त्य गर्ने समय हो।
ट्रम्पको यो भाषण अमेरिकाको इतिहासमा राष्ट्रपतिको सबैभन्दा लामो भाषण बनेको छ । उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको १९९३ को १ घण्टा ५ मिनेटको भाषणलाई पनि उछिनेका छन् । एजेन्सीबाट