लगातार तेस्रो दिन उच्च अंकले घट्यो सेयर बजार-Sutra News

लगातार तेस्रो दिन उच्च अंकले घट्यो सेयर बजार

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सेयर बजार घटेको छ । सोमबारदेखि लगातार ओरालोमा रहेको सेयर बजारमा बुधबार पनि उच्च अंकले गिरावट आयो । बुधबार २५.१६ अंकले घटेसँगै सेयर बजार २८२१.१३ को बिन्दुमा ओर्लिएको छ ।



उच्च अंकले बजार घट्दा सबैजसो समूहको सूचक राताम्मे बने । व्यापारको सूचक ०.४३ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटे । कारोबारमा आएका १७४ कम्पनीको मूल्य घट्दा बुधबार जम्मा ६२ कम्पनीको मात्रै मूल्य बढ्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजार घटेपनि कारोबारमा आएका तीन कम्पनी (समाज लघुवित्त, गार्डियन लघुवित्त र उन्नती सहकारी)को भने मूल्य सकारात्मक लेबलमा बृद्धि भयो ।

बजार घटेसँगै कारोबार रकम पनि तुलनात्मकरुपमा घटेको छ । बुधबार २ करोड ३३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको भयो । जुन पाँच कारोबार दिनयताकै कम हो ।

आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्सलगायत शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै ९६ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यसअघि बजार ९ कारोबार दिन लगातार सेयर बजार बढेको थियो । उक्त अवधिमा बजार करिब २१२ अंकले बढेको थियो ।

बुधबारको गिरावटले बजार करेक्सन मोडमै रहेको देखाउँछ । यद्यपि, कारोबार रकममा देखिएको उत्साह भने कायमै रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट