फिल्म‘आउटल’बाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं : नायक श्रेष्ठ-Sutra News

फिल्म‘आउटल’बाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं : नायक श्रेष्ठ

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१

काठमाडौं । नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ ।



मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट कार्यक्रममा यसका मुख्य नायक सुशील श्रेष्ठले यही कुरा उठाए । उनले भने–‘आउटल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ । यो फिल्म हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं । यो फिल्मबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो फिल्म रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ ।’

के सुशीलले यो फिल्ममा निर्वाह गरेको भूमिका नकारात्मक हो ? नायक भन्छन्–‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । यो फिल्ममा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । यसको कथा यही सारमा छ ।’

फिल्ममा नायक श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन् । तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ । सुशील भन्छन्–‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो । यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।’

फिल्ममा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने–‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’

विशेषगरि एक्सन फिल्ममा चुरोट नै पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण के त ? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने–‘यो फिल्मले महिलाहरुलाई माथि उठाउने काम गरेको छ । यो फिल्मले महिलाहरुलाई नराम्रो देखाएकै छैन । महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ ।’

सुशील फिल्म ‘आउटलः दफा २१९’को ट्रेलरले दर्शकबाट पाएको पोजिटिभ प्रतिक्रियाले उत्साहित छन् । साथमा, मिडियामा हिजोआज आफ्नो बिषयमा आउने हेडलाइन्स फेरिएकोमा पनि उनी दंग छन् । उनले भने–‘पहिले पहिले मेरो फिल्म रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त ? यो फिल्ममा चल्ला त सुशीलको स्टारडम ? जस्ता हेडलाइन्स आउथेँ । तर, अहिले फेरिएको छ । म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ ।’

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो फिल्म फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । फिल्मको मेकिङलाई लिएर अहिले चर्चा निकै छ । सुशील यो फिल्मबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट