ग्राहक संख्या बढ्दै जाँदा डिस मिडियाले घटाउन थाल्यो सेवाको गुणस्तरीयता-Sutra News

ग्राहक संख्या बढ्दै जाँदा डिस मिडियाले घटाउन थाल्यो सेवाको गुणस्तरीयता

बुधबार, २१ फाल्गुन २०८१

बुधबार, २१ फाल्गुन २०८१

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार डिस मिडिया नेटवर्क ग्राहक संख्याका आधारमा मुलुककै तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । प्राधिकरणको माघसम्मको तथ्यांकलाई हेर्दा, डिस मिडियाको इन्टरनेट प्रयोगकर्ताको संख्या ३ लाख ४३ हजार ८२५ जना पुगेको छ । जुन कुल इन्टरनेट प्रयोगकर्ताको ११.२३ प्रतिशत हो ।



तर, ग्राहक संख्यामा ठूलो बनेको डिस मिडिया गुणस्तरीय सेवा प्रदानमा भने निकै कमजोर बनेको छ । पछिल्लो समय ग्राहक संख्या बढाउँदै जाँदा कम्पनीले सेवालाई प्रभावकारी बनाउन छाडेको हो ।

कम्पनीको फेसबुक वाललाई नियाल्दा पनि कम्पनीको सेवा कति कमजोर छ भन्ने देखिन्छ । एकातिर कम्पनीले सम्झौता गरेअनुसारको इन्टरनेटको गति दिन छाडेको छ भने अर्कोतर्फ दिएको इन्टरनेटमा आउने समस्यालाई पनि समयमा समाधान नगर्ने गरेको पाइन्छ ।

अहिले डिस मिडियाका इन्टरनेट प्रयोगकर्ता यही कारण हैरानीमा छन् । जसको आक्रोश सामाजिक सञ्जालमा पोखेको छ । सँगै, सेवा प्रभावकारी नहुँदा बाध्यकारीरुपमा कतिपय प्रयोगकर्ताले डिस मिडियाको सेवालाई रोकेका छन् र विकल्प खोजेका छन् ।

बाध्यकारी प्लान चेन्ज गराउँदै कम्पनी

यतिबेला डिस मिडिया नेटवर्कले विभिन्न सस्ता प्याकेजलाई हटाउन थालेको छ । कम्पनीले ५०, ७५ र ८० एमबीपीएसका प्रयोगकर्तालाई बाध्यकारीरुपमा अपग्रेड गराउन लगाएको छ ।

ग्राहक सेवामा कार्यरत एक कर्मचारीका अनुसार १०० एमबीपीएसभन्दा मुनिका प्याकेज हटाउन कम्पनीले निर्देशन गरेको छ । जसको कारण ग्राहक निकै मर्कामा परेका छन् ।

कम्पनीले सस्ता प्याकेज हटाएसँगै ग्राहक कि महँगा प्याकेज लिनुपर्ने बाध्यतामा फसेका छन् कि अर्को विकल्प खोज्नुपर्ने बाध्यतामा फसेका छन् ।

तर, ग्राहकको बाध्यतालाई एकातिर कम्पनीले आम्दानी बढाउने शीर्षक बनाएको छ भने नियामक दूरसञ्चार प्राधिकरणले मौनता साँधेर सहयोग गरेको छ । दूरसञ्चारले कम्पनीको यस्तो बदमासीबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट