साइबर अपराधसँगै बढ्दो यौन शोषण-Sutra News

साइबर अपराधसँगै बढ्दो यौन शोषण

अहिले सहरमा बस्ने सत्तरी वर्षीय हजुर आमा पनि मोबाइलमा फेसबुक चलाउँछिन्...

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१
पछिल्लो समय प्रविधिको प्रयोगसँगै त्यसको दुरुपयोग पनि बढ्दै गएको छ । प्रविधिले ल्याएको विकासको उपयोग सकारात्मक र नकारात्मक दुवै ढङ्गबाट हुने गरेको छ । 
नेपालको सन्दर्भमा साइबर अपराधका घटनाहरू दिनप्रति दिन बढ्दै गएको पाइन्छ । सामाजिक सञ्जालहरू असुरक्षित बन्दै जाँदा त्यसको प्रयोगकर्ता समेत असुरक्षित बन्न पुगेका छन् । विशेष गरी वयस्कहरू साइबर अपराधको सिकार बन्ने गरेको विभिन्न तथ्याङ्कहरूले देखाउँछ ।
इन्टरनेटको पहुँच बढ्दै जाँदा त्यसको उपयोग हरेक उमेर समूहका मानिसले गर्ने गर्दछन् । अधिकांश मानिस इन्टरनेटको माध्यमबाट चलाइने विभिन्न किसिमका ‘एप’हरूको सही उपयोग गर्न नजान्दा नजान्दैमा साइबर अपराधको सिकार हुन पुगेका छन् । इन्टरनेटको उपयोग गर्दै यौन शोषणदेखि विभिन्न ठगी धन्दा चलाउने गिरोह नै सक्रिय हुँदा सञ्जालको सही उपयोग गर्न नसक्नेहरू त्यसको सिकार हुने गरेका छन् ।

साइबर अपराधको अनुसन्धान विधि र ढाँचा बनेको छ । प्रहरीले विद्युतीय / साइबर अपराध माथि छानबिन गर्छ र पछि घटना जटिल भएको अवस्थामा केस अदालत पुग्छ । प्रमाण कानुनका आधारमा कुनै पनि अपराधमा इन्टरनेट, फेसबुक, म्यासेन्जर, भाइवर च्याट, इमो, ट्विटर, इमेल, मेसेज आदान प्रदान भएको छ कि छैन त्यसको प्रयोगलाई प्रमाण मानिन्छ । त्यस्तो प्रमाणहरूको दीर्घ रक्षा गरी अपराधीलाई उम्कन नदिनका लागि ती प्रमाणहरू रक्षा गर्ने प्रणालीको विकासलाई नेपाल प्रहरी र सरकार स्वयम्‌ले के कस्तो विधि अपनाउनु जरुरी छ त्यसको व्याख्या आजको आवश्यकता हो ।



सूचना प्रविधिको विकास निरन्तरताको उपज हो । त्यस प्रविधि जति छिटो विकास हुन्छ त्यति नै गतिमा हाम्रा अनुसन्धानकर्ताहरूलाई प्रविधिसँग परिचित गराउने र कानुनमा समेत युगानुकूल परिमार्जन गर्नु आवश्यक छ । नेपालको विद्यमान साइबर अपराध सम्बन्धी कानुनले अहिलेको अवस्थालाई कसरी उपचारात्मक ढङ्गले सम्बोधन गरेको छ यो अनुसन्धानको खोजी यही हो ।

साइबर अपराध समाज विरोधी व्यक्ति विरोधी र राष्ट्र विरोधी एक आपराधिक क्रियाकलाप हो । यो अपराध अशिक्षित, अनजान र ज्ञान नभएको व्यक्तिले गर्न सक्दैन । साइबर अपराध पनि कानुनले गर्न हुन्न भनेर तोकेको क्रिया विरोधी आचरण हो । यो समाज इन्टरनेट विना अगाडि बढ्न सक्दैन । अहिलेको सामाजिक गतिविधि नै सूचना र खुलापनसँग सम्बन्धित भएकोले इन्टरनेट नै समाज र व्यक्तिको साथी र साक्षी भएको अवस्थामा यसको प्रयोगकर्ता अथवा उपभोक्ता बिच प्रशस्त मात्रमा साइबर अपराधहरू हुन सक्ने खतरा बढिरहेको छ । यो अवस्थामा तत सम्बन्धी विषयवस्तुको अध्ययन हुनु झन् महत्त्वपूर्ण विषय हुन आउँछ ।

अहिले सहरमा बस्ने सत्तरी वर्षको हजुर आमा पनि मोबाइलमा फेसबुक चलाउँछिन् । त्यस्ता अबोध अनजान व्यक्तिलाई पनि साइबर अपराधीहरूले आर्थिक एवं नैतिक शोषणको एउटा टार्गेट ग्रुपमा राखेका हुन्छन् । साइबर अपराधमा बाल यौन दुराचार, यौन हिंसा आर्थिक शोषण, बैक तथा वित्तीय साइटहरू ह्याक गरी सूचनाहरू लिने, ठुला ठुला कम्पनीहरूको प्रविधिहरू चोरी गर्ने देखि बैङ्क कार्डबाट अनधिकृत रूपमा पैसा निकाल्ने काम समेत गरिन्छ ।

साइबर अपराध जहिले पनि घट्न सक्ने कुरा हो । सूचना प्रविधि ऐनको आवश्यकता हुनुको कारण नै साइबर अपराध गतिविधि बढेर नै हो । यस्ता कानुनहरूको निर्माण गर्न, साइबर अपराधको गतिविधि रोक्नलाई तत विषय माथि प्रशस्त बहस विमर्श हुनु जरुरी छ । त्यसले गर्दा पनि यो अध्ययनको अझै महत्त्व छ । अहिले आएर साइबर अपराध समाजको चर्चित विषय बनेको छ किनकि धेरैभन्दा धेरै मान्छे यसबाट प्रताडित, शोषित, पीडित छन् ।

धेरै मान्छेहरू इन्टरनेट प्रयोग गर्छन् । धेरै मान्छेहरू इन्टरनेटका साइटहरूमा प्रवेश गर्छन् । त्यस्ता साइडहरूमध्ये पोर्नोग्राफी साइडहरू पनि एक हो । नेपालका अधिकांश युवा वर्ग जो इन्टरनेट प्रयोग गर्छन् उनीहरू कुनै न कुनै बेला साइबर बुलिङमा परेका हुन्छन् । साइबर अपराध, साइबर बुलिङ, साइबर ठगीका बारेमा अझै जानकारी दिने र साइबर कानुनको महत्त्व र यसले साइबर अपराधमा ल्याउने सजगताका बारेमा प्रकाश पार्ने हुनाले यसको महत्त्व अझै बढी हुने छ ।

साइबर अपराधमा मानिसहरूलाई चेतनशील बनाउनका लागि यस्ता खालका अध्ययन अनुसन्धान व्यापक रूपमा हुनु जरुरी छ । साइबर अपराध सम्बन्धमा जनचेतना फैलाउनु आजको आवश्यकता पनि हो । कानुन बनाउन र साइबर अपराधजस्ता विषयमा जनतालाई सुसूचित हुने वातावरण राज्यले बनाउनु उसको दायित्व हो। प्रहरी प्रशासनको साइबर ब्युरो अब एउटा विभागमा परिणत हुँदै छ। सामाखुसी रानीवारिमा साइबर अपराध सम्बन्धी छुट्टै विभागको लागी भवन र विज्ञहरूको व्यवस्थापन हुँदै छ यो खुसीको कुरा हो।

२०६३ मा बनेको विद्युतीय कानुन अपर्याप्त भएकोमा साइबर अपराध सम्बन्धी अरू थप कानुनहरू आउने क्रममा छन्। नेपालमा इन्टरनेटको सुविधा भित्रिएको धेरै लामो अवधि भएको छैन । तर पनि जिज्ञासु चेतनाको उपजका कारण हाम्रो देशमा साइबर र इन्टरनेटले तीव्र गतिमा प्रगति गयो । यो प्रगतिमा खुसी हुनुपर्ने हो तर यसको दुरुपयोगले हाम्रो सिङ्गो सामाजिक मान्यता र मूल्यलाई नै नैतिक कठघरामा उभ्याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट