

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको अकर्मण्यताको कारणले देश पछाडि परेको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्रप्रति चुनौती आउँदा एकठाउँमा उभिनु स्वाभाविक भएको बताएका छन् ।
नेकपा एमाले बागलुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताए ।
‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौं,’ उनले भने, ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्यो ।’
अहिले एउटा स्वार्थी जमात फेरि राजा आऊ देश बचाऊ भन्दै नारा लगाएर हिँडेको पोखरेलले बताए । जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मूर्खहरू भएका उनको टिप्पणी छ ।