

काठमाडौं । यतिबेला राजसंस्थावादी शक्तिहरू सडक प्रदर्शनमा निस्किएका छन् । प्रजातन्त्र दिवसको अवसरमा वक्तव्यमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउन आह्वान गरेपछि राजसंस्थावादीहरू उत्साहित हुँदै प्रदर्शनमा जुटिरहेका हुन् ।
स्वयं पूर्वराजा शाह पनि विभिन्न नामका कार्यक्रममा सहभागी भइरहेका छन् ।
अहिले विशेषगरी सडक प्रदर्शनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । जनसभा र प्रदर्शनको नाममा राप्रपा आक्रामक शैलीमा सडकमा देखिएको छ ।
राजसंस्थावादीहरूले सडक प्रदर्शनलाई थप आक्रामक बनाइरहँदा गणतन्त्रवादी दलहरू भने सशंकित देखिन थालेका छन् । राजसंस्थावादीहरूको प्रदर्शन चलिरहँदा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ नै स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि माओवादी केन्द्रका नेताहरू अभियान स्थगित गरी काठमाडौं फर्किएका छन् ।
दलहरूबिच छलफल आवश्यक देखिएको निष्कर्षसहित अभियान स्थगित गरिएको माओवादी केन्द्रका सचिव गणेश शाहले जनाएका छन् । उनका अनुसार योबिचमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग संवाद गरेका थिए ।
“व्यवस्था विरोधीहरू केही सक्रिय देखिए, यस्तो अवस्थामा हाम्रो अभियान प्रभावकारी हुने देखेनौँ”, शाहले भनेका छन्, “यो हाम्रो मात्रै विषय नभएकाले गणतन्त्रवादी सबै दलहरूबिच छलफलको आवश्यक ठानी फर्किएका हौँ, अध्यक्ष ज्यूले योबिचमा प्रधानमन्त्रीलगायतसँग पनि छलफल गर्नुभएको थियो, सोही छलफलकै आधारमा अभियान रोकिएको हो ।”
माओवादी केन्द्रले फागुन १२ गते झापाको कचनकवलबाट ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ सुरु गरेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार फागुन २५ मा बारामा कार्यक्रम राखिएको थियो ।
माओवादी केन्द्रले स्थगित अभियान राष्ट्रिय परिस्थिति हेरेर मात्रै पुनः सञ्चालन गर्ने शाहले बताएका छन् । “अब अभियान के गर्ने भन्ने विषय राष्ट्रिय परिस्थिति हेरेर निर्णय लिन्छौँ, तत्काल यी विषयहरू साम्य नभई हामी अभियान चलाउँदैनौँ”, उनले भनेका छन् ।
राजसंस्थावादीका गतिविधिमाथि नियन्त्रण गर्नुपर्ने आवाज
राजसंस्थावादीहरूको प्रदर्शनप्रति मुख्य दलहरूले आपत्ति मात्रै जनाइरहेका छैनन्, प्रतिबन्ध लगाउनुपर्ने शैलीमा धारणा पनि व्यक्त गर्न थालेका छन् । दलहरूले यस्तो गतिविधिलाई उच्र्छंखलताको उच्च रूपका रूपमा विश्लेषण गरेका छन् ।
सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालै राजसंस्थावादीहरूको गतिविधि नियन्त्रण आवश्यक रहेको बताएका छन् । उनले यस्ता गतिविधि संविधान र जनताको मत विरोधी भएको बताए ।
“संविधानले राजाको कल्पना गरेको छैन, यसरी मलाई राजा चाहियो भनेर सडकमा नृत्य देखाउने कुरा संविधान विरोधी हो, यस्ता हरकतलाई नियन्त्रण गरिनुपर्छ”, बर्तौताले भनेका छन्, “सरकार संविधान विरोधी गतिविधिलाई निस्तेज गर्न अग्रसर हुनुपर्छ ।”
उनले गणतन्त्रवादी दलहरूबिचमा नयाँ सहमतिको पनि खाँचो औँल्याएका छन् । “अहिले गणतन्त्रवादी दलहरूबिच दुरी बढ्दा, केही अस्वस्थ प्रतिस्पर्धा हुँदा अवाञ्छित शक्तिहरू सलबलाए, यिनलाई ठेगान लाउन सबै मिल्नुपर्छ”, उनले भनेका छन् ।
नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले देखिएका गतिविधिलाई प्रोत्साहन दिन सरकार लाग्न नहुने बताएकी छिन् । संविधान विपरीतका गतिविधिलाई रोक्न सरकार सजग रहिरहनुपर्ने उनको भनाई ।
“लोकतन्त्रमा सबैले आफ्ना मत राख्न सक्छन् तर, अराजकता स्वीकार्य हुँदैन, सरकारले पनि अराजकतालाई प्रोत्साहन दिने गरी व्यवहार गर्नु हुँदैन”, उनले भनेकी छिन्, “मुख्य दलहरूले पनि सचेतता अपनाउनु आवश्यक देखिन्छ ।”