

अहिलेका युवा पुस्ताका लोकप्रिय मेयर बालेन साहलाई सरकार प्रमुख केपी शर्मा ओलीले निरन्तर खेदो खनिरहे । परिणामतः झन् बालेनको लोकप्रियता बढिरह्यो । बालेनलाई असफल बनाउन सिङ्गो राज्य नै लागिरह्यो निरन्तर । असल मान्छेलाई सिध्याउने खराब प्रवृत्ति बोकेर हिँड्ने सरकारको रवैयाका कारण जनता माथि झनै असन्तुष्टि बढिरहेको छ ।
जनतामा लोकप्रिय बालेन राजाको बारेमा मौन छन् । उनले राजाको समर्थनको बारेमा अलिकति शब्द बोल्दिने हो भने युवा जमात फेरि राजाको समर्थन लिएर उर्लने छ र यो उर्लाई फेरि सरकारलाई निकै महँगो साबित हुनेवाला छ । अहिलेका युवाले राजा देखेका छैनन् । उनीहरूलाई राजाबारे खासै चासो पनि छैन । र, अहिलेका युवा न इतिहास नै मान्छ । तर, अहिलेको युवाको प्रतिनिधित्व गर्ने बालेनको काम गर्ने शैली र मुलुक बनाउने निडरपनको खुलेर समर्थन गरिरहेका कारण यदि बालेन खुलेर राजाको समर्थनमा लागे भने फेरि सत्ता राजाको पक्षमा जाने सम्भावना रहन्छ अनि त्यति बेला बालेनलाई निरन्तर खेद्नुको दुष्परिणामको महसुस हुनेछ ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन सम्पूर्ण राष्ट्र प्रेमी जनतामा अपिल गरेका थिए । यो अपिलबाट राजवादीहरू हौसिएका छन् तर, सत्तारूढ र प्रतिपक्ष दलहरूमा एक प्रकारको त्रास पैदा गराएको छ । केही दिनदेखि लगातार प्रमुख दलका नेताहरूले पूर्व राजालाई संविधानभित्र रहेर बस्न चेतावनी समेत दिइरहेका छन् । वर्तमान दुई दलीय घटकबाट निर्मित सरकार यति बेला डराएको स्थिति छ । अहिले राजावादीहरू हौसिनुको पछाडि भारतको समर्थन प्राप्त भएको छ भन्ने कुराको संकेत छ । कांग्रेसका ठुला नेता शशांक कोइरालादेखि अर्जुन नरसिंह केसीसमेतले राजाको पक्षमा खुलेर बोल्न थालेका छन् ।
राजा फ्याँकिदा पनि भारतको भूमिका अग्रभागमा देखिएको थियो र अहिले राजा समर्थनको माहौल पनि भारतले नै बनाइरहेको बुझिन्छ । नेपाली जनता त निमित्त नायक मात्रै हो । तर, बुझ्नुपर्ने चुरो कुरा चाहिँ हामीले व्यवस्था परिवर्तन गर्दैमा हुनेवाला केही छैन, जबसम्म अवस्था परिवर्तन हुँदैन । २०४७ सालको संविधान ब्युँताएर राजालाई स्पेस दिँदा पनि नेपाली जनताले सक्रिय राजतन्त्रको व्यवस्था झेलेकै हुन् । राजा सेरेमोनियल भएर बस्दा पनि अहिलेकै बेमानी नेताहरू मन्त्री र प्रधानमन्त्री हुने हुन् । बालेन साह जस्ता युवापुस्ता हाबी नभएसम्म मुलुक बन्दैन । व्यवस्था परिवर्तनको लडाइ निरन्तर चलिरहने हो भने मुलुक गरिबी अवस्थाबाट माथि जान सक्दैन ।
व्यवस्था परिवर्तन हुँदा अवस्था किन परिवर्तन हुँदैन ? यो कुरामा नेपाली गम्भीर हुनु जरुरी छ । आधुनिक नेपाली राजनीतिक इतिहासमा हामीले राणाहरूको सक्रिय शासन काल, प्रजातन्त्र,राजाको सक्रिय शासन पञ्चायती व्यवस्था, त्यसपछि पुनः संवैधानिक राजा र कार्यकारी प्रधानमन्त्री बनेको लोकतन्त्र, २०६२/६३ को जनआन्दोलन पश्चात् २३८ वर्षको राजतन्त्र अन्त गराइ अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ ।
हामी रैतीबाट अधिकार सहितको नागरिकमा परिवर्तन भयौं । नेपालको संविधान २०७२ ले हामीलाई अथाह अधिकार त दियो नै, ती बाहेक मौलिक हकको सुनिश्चितता, मानवअधिकार, वाक तथा सञ्चार स्वतन्त्रता प्रचुर दिएको छ । अहिले बोल्न पाइएको छ । हामीले बोल्न पायौँ तर, हामीले बोलेका कुरा, हामीलाई परेको समस्याका कथा सरकारले सुन्दैन । दिन प्रतिदिन सरकार बहिरो बन्दै गएपछि, हामी जनताले बोल्नुको पनि खासै अर्थ नरहने भइसकेको छ । यो मुलुकमा हरेक २०–देखि २५ वर्षमा व्यवस्था फेरिने खेल हुन्छ । तर, नेपालीको अवस्था फेरिने सम्भावना रहेन । व्यवस्थाको कारण अवस्था नफेरिएको होला भन्ने भाष्यले हामीमा जरा गाडिरह्यो र हामीले अवस्था फेर्ने प्रयत्न नगरी केवल व्यवस्थालाई मात्रै दोष दिइरह्याैं ।
सत्ता कब्जा र व्यवस्था परिवर्तनको लागि १० वर्षसम्म माओवादीहरू राज्यसँग लडे । एक भाइले अर्को भाइलाई मा¥यौं । माओवादीले आफ्नो अभिस्टता त पूरा ग¥यो, उनीहरू सत्तामा पुगे । यो मुलुकमा व्यवस्था परिवर्तन भयो । तर, अवस्था परिवर्तन भएन किनभने उनीहरू अवस्था परिवर्तनका लागि होइन सत्ता प्राप्तिको निमित्त लडेका थिए ।
१० वर्षको रक्तपातपूर्ण आन्दोलनले उनीहरूलाई सत्ता त दिलायो तर, नेपालीको आर्थिक अवस्था भने झन् रुग्ण बन्यो । हामीले राजालाई विकासको बाधक भन्यौँ र फाल्यौं । फालेपछि त देशको आर्थिक गतिविधि चलायमान हुन पर्ने थियो, हामी धनी हुन पर्ने थियो, हामी सुखी र सम्पन्न हुनुपर्ने थियो ! तर खोइ ? हामी झन् झन् दुखी हुँदै छौं ।
सडकभरी गाडी गुड्दैमा त्यो मात्रै विकास र समृद्धिको मापन कदापि हुन सक्दैन । समृद्धि त त्यो हो जब हामीलाई चाहिने गाडी हामी आफैं उत्पादन गर्न सक्षम हुन्छौँ । हामीलाई चाहिने खाद्यान्न हामी आफै उत्पादन गर्न सक्षम हुन्छौ । हामी वर्षको ३८ अरबको चामल भारतसँग किनेर खान्छौ र फेरि आफूलाई किसान हौँ भन्छौँ । खोइ त हाम्रो अवस्था फेरिएको ?
भ्रष्ट व्यक्तिलाई अपर्याप्त सजायको कारण दण्डहीनताको अवस्था सिर्जना भएको छ । भ्रष्टाचारको कारबाहीमा ठुलो ओहोदामा पुगेका कर्मचारी, आर्मीका सेनाअध्यक्षहरू, प्रहरी प्रशासनका प्रमुखहरू राजनीति आस्था र आडका कारण मुक्त हुन्छन् । यातायात, कर, भन्सार, सडक विभाग, राजस्व, ठेक्का तथा विकास निर्माणका सबै क्षेत्रमा व्यापक भ्रष्टाचार छ । सम्पत्ति शुद्धीकरणको मुद्दा झन् झन् जटिल बनिरहेको छ । सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक पद धारण गरेका व्यक्तिहरूबाट भएका छन् । सिंहदरबार गाउँ छि¥यो भनेर खुसी हुन सक्ने अवस्था छैन आज, किनभने सिंहदरबार सगसगै भ्रष्टाचारीहरू पनि गाउँ पसिरहेको अवस्था छ । पसिनाले र परिश्रमले बाच्नु पर्छ भन्ने मानसिकता दिन दिनै हराउँदै गएको छ । नेपाल एउटा त्यस्तो देश भएको छ जहाँ कर तिर्न जाँदा पनि घुस ख्वाउनु पर्ने अवस्था छ । यो जटिल अवस्थाबाट राज्य मुक्त हुन सकिरहेको छैन ।
व्यवस्था फेरिँदैमा मुलुकको अवस्था नफेरिँदोरहेछ भन्ने कुरा प्रमाणित भैसकेको छ । हरेक २० देखि २५ वर्षमा हामीले व्यवस्था फेर्न मात्रै प्रयास गर्यौं अवस्था फेर्नतिर चासो राखेनौ । सधैँ व्यवस्था परिवर्तनको राजनीतिक खेल खेलिरहने हामी आफ्नै अवस्था फेर्नको लागि सीप, शिक्षा, ज्ञान, विज्ञान र उत्पादन तर्फ भने कहिले ध्यान दिँदैनौ ।