

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा उच्च अंकको पहिरो गएको छ । आइतबार ४६.३३ अंकले घट्दै बजार २७७२.१० को बिन्दुमा झरेको छ । समग्रमा बजार १.६४ प्रतिशतले घट्यो ।
उच्च अंकले बजार घट्दै गर्दा सबैजसो समूहको सूचक घट्यो । सबैभन्दा धेरै अन्यको सूचक २.६९ प्रतिशतले घट्दा सबैभन्दा कम व्यापारको सूचक ०.८१ प्रतिशतले घट्यो ।
आज कारोबारमा आएका २१७ कम्पनीको मूल्य घट्दा २४ को मूल्य बढ्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
उच्च अंकले बजार घट्दै गर्दा तीन कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भयो भने तीन कम्पनीको मूल्य नकारात्मक सर्किट लेबलमा घट्यो । गार्डियन माइक्रो फाइनान्स, आइसिएफसिको डिभेन्चर र भूगोल इनर्जीको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदा उपकार लघुवित्त, सिन्धु विकास र राप्ती हाइड्रोको मूल्य नकारात्मक लेबलमा घट्यो ।
बजार घट्दै गर्दा कारोबार रकममा पनि केही गिरावट आयो । २ करोड २६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७ करोड ४० लाख रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै कम हो ।
आज हिमालयन रि इन्स्यारेन्स, नेपाल रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चरलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै कारोबार रकम १ अर्ब ११ करोड रुपैयाँमाथिको रह्यो ।
लगातार वृद्धिका बिच २८९० को बिन्दुमा उक्लिएको बजार त्यसयता लगातार ओरालोमा छ । पाँच कारोबार दिनमै बजार २७ सयको बिन्दुमा ओर्लिएको छ । योबिचमा सबैभन्दा बढी आज घटेको थियो ।
अहिले राजनीतिक क्षेत्रमा केही अन्योलताको अवस्था देखिएको छ । राजसंस्थावादीहरू सडक प्रदर्शनमा निस्कँदै गर्दा सरकारमाथि प्रश्न उठ्न थालेको छ । जसबाट बजारका लगानीकर्ता प्रभावित भएको देखिन्छ ।