तिम्रो कुशासनकै कारण मुलुकमा रमिता देखियो-Sutra News

तिम्रो कुशासनकै कारण मुलुकमा रमिता देखियो

आइतबार, २५ फाल्गुन २०८१

आइतबार, २५ फाल्गुन २०८१

ज्ञानेन्द्र शाहलाई जनताले यत्तिकै तिरस्कार गरेका थिएनन्, उनको शासन निकै बर्बर थियो । क्रुर थियो । राजा वीरेन्द्रको वंशनाशपछि नसुहाउँदो शैलीमा राजगद्दीमा चढेका ज्ञानेन्द्रले जनताका छातीमाथि राम्रै गरी बुट बजारेका थिए । उनले असामान्य ढंगले ताण्डव मच्चाएका थिए । प्रश्नै–प्रश्न र संशयले घेरिएका ज्ञानेन्द्रको नसुहाउँदो त्यो ताण्डवविरुद्ध नै जनताले स्वतःस्फूर्त रूपमा विद्रोह गरेका हुन् । घटनाक्रम जे–जसरी भए पनि जनताको आक्रोशले नै ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्‍याएको हो ।



तर, नागार्जुन पुगेको साढे १६ वर्षपछि ज्ञानेन्द्र फेरि नारायणहिटी फर्किने कसरतमा देखिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै ज्ञानेन्द्रले आफूलाई फेरि शासनको अवसर दिन आह्वान गरेका थिए । जुन आह्वानपछि राजसंस्थावादीहरू सडकमा देखिन थालेका छन् । छिट फुट भए पनि स्वर ठुलै देखिन थालेको छ । विशेषगरी दक्षिणी छिमेक देशसँग बिग्रिएको सम्बन्धका बिच ज्ञानेन्द्रको यो कसरत उचाइमा देखिन्छ । जसले अर्को संशय जन्माएको छ ।

ज्ञानेन्द्र नारायणहिटी फर्किने कसरतमा जुट्दै गर्दा दलहरू सशंकीत देखिएका छन् । दलहरूले आक्रामक शैलीमा अभिव्यक्ति दिन थालेका छन् । योबिचमा माओवादी केन्द्रले मधेस केन्द्रित अभियान छाडेर आन्तरिक छलफल थालेको छ । घटनाक्रमले कता–कता व्यवस्था उल्टिने जोखिमतर्फ संकेत गरेको छ ।

स्पष्ट हुँदा हुन्छ, जनता अहिलेको अवस्थाबाट आजित छन् । अहिलेका शासकबाट पनि आजित छन् । उनीहरू विकल्पको खोजीमा छन् । साढे १६ वर्षको अवधिमा गणतन्त्रको नाममा दलहरूले कुशासनलाई पछ्याए । नाममा व्यवस्था बदले पनि व्यवहार बदलेनन् । कतिपयले संविधान नै मिच्दै अनेकन ताण्डव पनि देखाए । सत्ताका निम्ति मात्रै मरिमेट्ने दलहरूको यो शैलीले जनतामा ठूलो असन्तोष पैदा गरेको छ । ‘एउटा राजा नहुँदैमा फरक नपर्ने रहेछ’ भन्ने भाष्य निर्माण भएको छ । यस्तो बुझाई निर्माण हुनुको पछाडि मुख्य दोषी दल र नेताहरू नै हुन् । उनीहरू आफैँले आफैँलाई सम्राट घोषणा गर्न खोज्नु सबैभन्दा विडम्बनाको विषय हो । जनताले ‘श्री ५’को ठाउँमा ‘श्री ३’को शासन पनि अनुभव गरिसकेका छन् । जुन शैली अहिलेका शासकले देखाइरहेका छन् । जनता जसको विकल्पमा देखिनु अन्यथा होइन ।

तर, नागार्जुनका ज्ञानेन्द्रले यो असन्तोषलाई पछ्याएका छन् । उनले आफ्नो कुकृत्यलाई छोपेर जनतालाई दिग्भ्रमित पार्न खोज्दै छन् । उनले उत्तम विकल्प ‘श्री ५’ भन्दै अन्याेलता बढाउँदै छन् । जसले पुरातनवादी र अराजकतावादीलाई राम्रैसँग लोभ्याएको छ । जसले अर्को अराजकताको सुरुवात गर्ने संकेत गर्दै छ । तर, यो अहिलेको विकल्प होइन ।

दलहरूले योबिचमा जे गरे, त्यो जनअपेक्षा अनुरूप थिएन । जसको कारण अहिलेको अवस्था बनेको हो । यो अवस्थामा दलहरूले गम्भीर रूपमा समीक्षा गर्नै पर्छ । जनतासँग प्रष्टरूपमा माफी माग्नै पर्छ । सच्चिने प्रण गर्नै पर्छ । दलहरूले आफैँ मात्तिएर ‘तातो दूध’ मुखमा हालेका हुन् । यसको उपचार स्वयंले खोज्नुपर्छ । जनताले व्यवस्थाको होइन, अवस्थाको विरोध गरेका छन् । जसको विकल्प खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट