

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग गरेको पाइएको छ ।
राजसंस्थावादी प्रदीप विक्रम राणाको नाममा राजावादीले तस्बिर लिएर प्रदर्शन गरेका हुन् । सार्वजनिक तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएकामध्येले बोकेका थिए ।
राजाको स्वागत र्यालीमा आदित्यनाथको तस्बिरसमेत प्रयोग भएको पाइएपछि सामाजिक सञ्जालमा चर्चापरिचर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमार्फत तस्बिर प्रयोगमाथि प्रश्न गरेका छन् ।
‘राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू !’, उनले लेखेका छन् ।
गत माघ २७ मा पोखरा गएका पूर्वराजा शाह आइतबार काठमाडौं फर्किएका छन् । उनी काठमाडौं फर्किँदै गर्दा राजसंस्थावादीहरु तामझामसहित विमानस्थल पुगेका थिए ।
राजसंस्थावादी राप्रपा नेपाल र राप्रपासँगै दुर्गा प्रसाइँको समूहले स्वागतमा शक्ति प्रदर्शन गरेका हुन् ।