

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर प्रश्न सोधेका छन्। फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे-‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ?’
सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजाको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न लागेको बताए। देशलाई फेरि पछाडि फर्काउने प्रयास भएको भन्दै ओलीले आपत्ति पनि जनाए।
ओलीले भने, ‘उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ। म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?’
राजनीतिमा आउने भए आफूहरू शाहलाई स्वागत गर्न तयार रहेको ओलीको भनाइ छ। तर आफूलाई साथ देऊ, आउँछु भनेर के कुरालाई इंगित गरेको भन्ने आफूले नबुझेको ओलीको भनाइ छ।
‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं,’ ओलीले भने, ‘अराजनीतिमा आउने कि राजनीतिमा? केमा साथ माग्नुभएको हो बुझिएन। अहिले बुझिएन मात्रै भनौँ।’