

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ ।
श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ । यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता छ ।
साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने मन्त्रालयले जनाएको छ ।