

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्व दिएको थियो ।
आइतबारको र्यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन् । त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले समेत उनीहरूमा उत्साह भरेको थियो । हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका थिए ।
यहीबेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको बताएका हुन् । आफू राजासहितको लोकतन्त्रको पक्षमा रहेको उनको प्रष्टीकरण छ ।
उनी लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो ।’ राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उनको दलिल छ । बेलायत, जापान, नर्वेको उदाहरण दिँदै उनी लेख्छन्, ‘सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’