

काठमाडौं । नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्थाका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार स्काउटका नेतृत्व तहमा भएको नीतिगत कमजोरी, आर्थिक अपारदर्शिता, कर्मचारी प्रशासनमा गरिएको अन्यायपूर्ण नियमावली, तथा कार्यस्थलमा दुर्व्यवहार जस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यस्ता छन् मागहरू :
१. नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने।
२. स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने।
३. नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने।
४. नेपाल स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाइ संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने।
यसअघि अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई प्रत्यक्ष भेट गर्दै चार सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षक समक्ष पनि पठाइएको थियो।
ज्ञापनपत्र बुझाएको सात दिन भइसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै अभियानले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। संयोजक अधिकारीले नेपाल स्काउटका नेतृत्व तह सरकारको दबाबमा रहेको आरोप लगाउँदै सरकार गम्भीर नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।
आफ्ना मागहरु तत्काल सम्बोधन नभए २७ गतेदेखि ब्यानर प्रदर्शन सहित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा कार्यलय समयमा मौन धर्ना दिने र चैत्र १ गतेदेखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा रिले अनसनसहितको धर्ना कार्यक्रम रहेको जनाइएको छ ।