

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नालायकीका कारण प्रतिगमनकारी शक्तिहरु बलिया देखिएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले सरकारविरुद्ध यस्तो आरोप लगाएका हुन् ।
प्रचण्डले राजावादीको प्रदर्शनमा जनताको आक्रोश मिसिएको भन्दै त्यसलाई असामान्य नबुझ्न पनि आग्रह गरेका छन् ।
“पछिल्ला प्रदर्शन केही होइन भन्ने अवस्था छैन, यसका निम्ति सत्तामा रहनेहरु भागेदार हुनुहुन्छ”, प्रचण्डले भनेका छन्, “त्यहाँ उत्रिएका नेपाली जनता नै हुन्, यसलाई जनताको आक्रोशको रुपमा बुझ्न ढिला गरियो भने क्षति हुनसक्छ, यो सरकारको अविवेकको मूल्य हो ।”
अध्यक्ष प्रचण्डले जनताको आक्रोशलाई हेक्का राख्न आग्रह गरेका छन् । उनले दुई तिहाईलाई प्रयोग गर्न पनि सत्तारुढ दललाई आग्रह गरेका छन् ।
प्रचण्डले जनतामा आक्रोश बढ्नुको पछाडि सरकारको नालायकीपन नै मुख्य जिम्मेवार भएको बताएका छन् । सरकार बिचौलियाबाट सरकार चलेको र त्यसले जनतामा तिव्र आक्रोश बढाएको उनको भनाई छ ।
“सरकार स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीयरुप बढेको छ, त्यो आगो लोकतन्त्रकै विरुद्धमा उठ्ने हो कि भन्ने आमरुपमा परेको छ”, उनले भनेका छन् ।
बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले गणतन्त्रको विकल्प नखोज्न राजावादीलाई चेतावनी दिएका छन् । उनले राजावादीलाई लोकतन्त्रभित्रै ठाउँ खोज्न सुझाएका छन् ।
“राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्”, प्रचण्डले भनेका छन्, “हामीलाई आपत्ति छैन ।”
उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने चेतावनी दिए ।