

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दिएको अभिव्यक्तिलाई सत्तारुढ नेपाली कांग्रेसले सराहना गरेको छ। प्रचण्डले राखेको अभिव्यक्तिलाई कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले पार्टीको तर्फबाट समर्थन गरेका हुन्। संसद्मा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रबारे राखेका धारणाको समर्थन गरेका हुन्।
महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् । उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको प्रति सङ्केत गर्दै बरु आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ । सरकाले नचाहिने ठाउँमा हात हाल्नुहुँदैन, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनु हुँदैन । जुन कुरा चलाउनै हुँदैन र आवश्यक नै छैन ।’
थापाले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सवका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले सवै राजनीतिक दल र नागरिकको विश्वास जित्नुपर्ने तथा सहकारी, मानव वेचविखन, क्याम्पस तोडफोड लगायतका घटनामा तिराउने दण्ड जरिवाना पनि निष्पक्ष हुनुपर्ने बताए ।