

२०५८ जेठदेखि ०६३ वैशाखसम्म सत्तामा राइँदाइँ मच्चाएका ज्ञानेन्द्र शाहले के–के गरे, त्यसको फेहरिस्त छोटो छैन । उनले जनताको पक्षमा के–कति गरे र विरुद्ध कति गरे, त्यो इतिहासमै लिपिबद्ध छ । जनताले ज्ञानेन्द्रलाई यत्तिकै नारायणहिटीबाट निकालेका होइनन् । अर्कोतर्फ, ज्ञानेन्द्र विधि विधानअनुरूप राजा भएका व्यक्ति पनि होइनन्, उनी कागतालीमा राजा भएका हुन् । यद्यपि, कागतालीभित्र पनि गहिरो संशय बाँकी नै छ ।
दाजुको शासनकालमा उनको छवि कस्तो थियो, सारा नेपालीलाई छर्लङ्ग छ । उनी व्यापारी हुन् । इलाम चिया बगानदेखि नेपालको सबैभन्दा महँगो पाँच तारे होटेल सोल्टी क्राउनका उनी मालिक हुन । अहिलेका वसन्त चौधरी, पशुपति शमशेरभन्दा पनि उनको सम्पत्ति सयौँ गुणाले बढी छ । दरबारको नौलाखा हार उनैसित छन् । चौतरिया ज्ञानेन्द्रले दाजु वीरेन्द्र राजगद्दीमा हुँदा गरेको सामाजिक कार्यको कुनै रेकर्ड छ र ?
ज्ञानेन्द्रले कुनै अस्पताल खोलेको रेकर्ड छ नेपालमा ? व्यापारका लागि महँगा होटेलमा लगानी गर्नेले रोगी जनताका लागि अस्पताल पनि खोलिदिएका भए आज उनीलाई माया गर्ने मान्छेको कमी हुने थिएन । दुई–दुई पटक यो देशको राजा भैसकेका व्यक्ति हुन् ज्ञानेन्द्र । २०७२ मा मुलुकले व्यहोरेको महाभूकम्पको बेलामा कहाँ लुकेका थिए ? र दुई–दुई पटक कोभिडले हजारौँ नेपाली मरेको बेलामा कहाँ थिए, गरिब देशका धनी राजा ?
हिमानी शाह ट्रस्टबाट आएको नगण्य सहयोगलाई सहयोग मान्ने हो भने खाडी मुलुकमा बेल्चा ठोक्ने नेपाली दाजुभाइहरूले पनि लाखौँ रकम सहयोग गरे त्यति बेला । कागतालीमै सही नरेश हुनु पाउनु त गर्वको कुरा थियो ।
योग्यताले प्रधानमन्त्री हुनु र विरासत अनि वंशका आधारमा राजा हुन पाउनुमा ठुलो भिन्नता छ । अन्धो अज्ञानी र तैमुन जस्तै क्रूर भए पनि राजा हुन पाइने त्यो परम्परा अब अन्त भैसकेको छ । रैती र दासबाट अधिकार सम्पन्न नेपाली नागरिक भएकाहरूलाई फेरि रैती हुन कसलाई मन होला त ? इतिहासलाई इतिहासमै छोडेर अगाडि बढ्नुको विकल्प छैन ।
राजा महेन्द्र कतिसम्म चलाख थिए भने केन्द्र शमशेर जबराका तीन वटै छोरीहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रलाई बिहे गराइदिएका थिए । यसो गर्दा दरबारभित्रको गोप्य कुराहरू बाहिर जाँदैन, केही नराम्रा घटनाहरू घटे पनि दरबारप्रति जनताहरूको भावना कहिले पनि नकारात्मक हुँदैन भन्ने थियो । महेन्द्रले आफ्नो कार्यकालमा विदेशबाट राजकीय भ्रमणमा नेपाल आएका उच्चस्तरीय कूटनीतिक पाहुनालाई होटेलमा बस्न लगाएनन्, राजदरबारभित्र नै उनीहरूलाई आतिथ्यता दिइन्थ्यो । बाहिर होटेलमा बस्दा अरूहरूले ती पाहुनालाई नभेटुन् भन्ने उनको उद्देश्य हुन्थ्यो । त्यसरी जोगाइएको थियो, दरबारभित्रको गोपनीयता ।
यति हुँदा हुँदै पनि तत्कालीन रानी ऐश्वर्या र वीरेन्द्रका भाइहरू बिच सम्बन्ध भने कहिल्यै राम्रो थिएन । इतिहास हेर्दा पनि प्रतापसिंहका छोरा रणबहादुर शाहलाई सौतेला भाइ (मैजुरानी)का छोरा शेरबहादुरले हत्या गरिदिएका थिए । शाह वंशको इतिहासमा यो घटनालाई ठुलो कलंकको रूपमा लिइन्छ । पृथ्वीनारायण शाहको भाइहरू देखी नै दरबारभित्र सत्ता स्वार्थका नाउँमा गुटबन्दी, षड्यन्त्र र हत्याको इतिहास विकसित भैसकेको थियो ।
२०५८ मा आएर मूल हाँगोको सर्वनाश भयो । त्यही घटनाको कारण राजसत्ता अन्त भएको हो । गोरक्षवाणी अनुसार १२ औँ पुस्तासम्म मात्रै शाह वंशले नेपालमा राज्य गर्न पाउँछन् भनेर भविष्यवाणी गरेको कुरा सही निस्केको थियो ।
ज्ञानेन्द्रभन्दा अग्ला छन् डाक्टर सन्दुक रूइत, महावीर पुन, बालेन, हर्क र गाेपाल हमालहरू । देश बनाउनेलाई मात्रै थाहा हुन्छ, देशको माया । पुर्खाले जोडिदिएको विरासतका नाउँमा सधैँ राज गर्न पाइन्छ भन्ने कुरा पुरानो भइसक्यो । अब गणतन्त्रको विकल्प राजा होइन, गणतन्त्र नै हो । बरु जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली हुनुपर्छ र प्रदेशहरू धेरै खर्चिलो भयो, केन्द्र सरकार र स्थानीय सरकार मात्रै राख्नुपर्छ । यसो भएको खण्डमा खर्चिलो र भड्किलो हुँदै गएको यो गणतन्त्र स्थायी हुनसक्छ । गणतन्त्र नराम्रो होइन यो व्यवस्थामा शासन गर्ने शासकहरूको चरित्र र नियत नराम्रो हो ! केपी, प्रचण्ड र शेरबहादुर जनतालाई मन पर्दैनन् तर, यसको मतलब जनताले राजतन्त्र खोजेका हुँदै होइनन्, राम्रो नेतृत्व खोजेका हुन् । केपी ओलीहरूको विकल्प ज्ञानेन्द्र होइनन्, बालेन, हर्क, गाेपाल हमाल, महावीर र सन्दुकहरू हुन् ।
ली क्वान यु, महाथिर मोहम्मद, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ जूनियर, ए.पी.जे. अब्दुल कलामहरू यही माटोमा छन्, तिनीहरूलाई पहिचान गर्नु आजको आवश्यकता हो । वर्तमान कहिले पनि पछाडि धकेलिएको थाहा छैन ।