

काठमाडौं । १० निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
कार्यालयले आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।
यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।
जी.एस. निर्माण संसार कम्पनी, कमन कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन, राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।