‘पिताम्बर’ मेरो लागि तपस्या हो : निर्देशक कृषा-Sutra News

‘पिताम्बर’ मेरो लागि तपस्या हो : निर्देशक कृषा

बुधबार, २८ फाल्गुन २०८१

बुधबार, २८ फाल्गुन २०८१

काठमाडौं । निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन् ।



‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । किनकी ‘एैचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो फिल्म मेरो मनमा बसेको फिल्म थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्छिन् ।

कृषा ‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्छिन् । बीचको समयमा एक्सन फिल्म कम आइरहँदा आफ्नो फिल्ममा दर्शकले केही फरक पाउने उनको बुझाई छ । ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्छिन्, ‘यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’

कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त ? यो सबैको चासोको विषय हो । कृषाले फिल्मको स्क्रिप्ट पुरा गर्न झण्डै एकदेखि डेढ वर्ष लगाइन् । ‘लामो समयदेखि फिल्महरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै हामी त्यता पनि लागिरहेका थियौं । एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउँन चाहन्थें । त्यस्तो फिल्म नआएको पनि धेरै समय भइसकेको थियो । त्यस्तो फिल्मले मासलाई हलसम्म तान्न सक्छ । मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो । त्यसकारण मासलाई हलमा ल्याउन पिताम्बर बनाएँ’, उनी भन्छिन् ।

कृषा ‘पिताम्बर’लाई फरक कथाको फिल्म भन्दिनन् । तर फिल्म हेरेपछि भने दर्शकले सन्देश भन्दा पनि मजा बोकेर घर जाने उनको दाबी छ । ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने फिल्म छैन । पिताम्बर हेरेपछि दर्शकले पीडा भूलेर मजा बोकेर घर आउँछन् । पिताम्बरले दर्शकलाई मजा दिन्छ’, कृषा खुल्छिन् ।

‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ । पिताम्बरमा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । फिल्मले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन् ।

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन् । उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो । यो तिनवटै गुण उनले प्रदीपमा भेटिन् । ‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं । कलाकारको परफर्मेन्स भन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं । तीन प्रमुख कलाकार निश्चित थिए । फिल्म बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो’, कृषा भन्छिन् ।

कृषाको दिमागमा सुरुमा नै प्रदीप आउनुको कारण छ । कृषा भन्छिन्, ‘प्रदीप अरु भन्दा फरक छ । उसकोे डेडिकेसन कतिसम्म छ भने धेरै समयसम्म पनि ऊ फिल्ममै भएर बसेको हुन्छ । मेकरले एउटा कलाकारको हेर्ने कुरा भनेको त्यही हो । परफर्मरका रुपमा प्रदीप धेरै जेन्टलमेन हो । उसको लुक्स पनि छुट्टै किसिमको छ । अलिक फ्रिली वातावरणमा राम्रो काम गर्छु भन्दा आफू अगाडिको मान्छे पनि त्यति नै फ्रेण्डली हुनु जरुरी छ । यो सबै कुराले प्रदीप उपयुक्र्त थियो ।’

कृषाले प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी रहिछन् । ‘एक्सन फिल्म भन्ने बित्तिकै सिक्स प्याक भन्ने हुन्छ । तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्यो भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि । हाम्रो रगत नतातिने त हुँदैन नि । एउटा भुइँमान्छेलाई केही समस्या पर्यो भने त्यसलाई कसरी व्यक्त गर्छ भन्ने हो । मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन । तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिएँ’, उनी भन्छिन् ।

संसारमा ‘ह्युमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीकार्छिन् । यो फिल्म तराईमा छायांकन गरिएको छ । कृषा ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउँछिन् । ‘तराई भौगोलिक हिसाबले सहज छ । फिल्मका लागि चाहिने समानहरु भारतबाट ल्याएका छौं । बोर्डर नजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा भन्छिन् ।

कृषाको मनपर्ने जनरा नै एक्सन हो । एक्सन फिल्मको जस्तो जोश र जाँगर अनि क्यानभास अन्य फिल्ममा कमै मात्र पाइने भएकाले पनि एक्सनप्रति कृषाको झुकाव रहेछ । कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि फिल्म नभई ‘तपस्या’ हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन् । ‘दर्शकले ट्रेलर हेरेपछि यो फिल्म हेर्छु भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उनी भन्छिन् ।

उनले सुटिङको समयमा प्रमुख तीन पात्रलाई एकै ठाउँमा राख्नु, सपोर्टिङ क्यारेक्टर, भिलेनलाई एकै समयमा एउटै फ्रेममा राख्नु सर्वाधिक गाह्रो बनेको बताइन् । ‘फिल्मको सबै एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ । कलाकारको समय मिलाउनु एकदमै गाह्रो भयो । मैले यति डिग्रीको किक हान्नुपर्छ, मेरो पात्रले हुन्छ भन्दैमा धेरै हान्न पाउँदैन भन्ने कुरा थियो’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट