

काठमाडौं । गत साता छायांकन सम्पन्न भएको नेपाली चलचित्र ‘महाभोज’ यतिबेला पोष्ट प्रोडक्सनको क्रममा रहेको छ । यो चलचित्रको रिलिज मिति मंगलबार घोषणा गरिएको छ । यो चलचित्रलाई आगामी १५ जेठ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने यसका निर्देशक दिनेश राउतले जानकारी गराएका छन् । चलचित्रलाई शुक्रबार रिलिज गर्ने प्रचलन रहे पनि राष्ट्रिय विदामा बिहिबार रिलिज गर्न पाईने भएकाले १५ जेठ मिति तय गरिएको पनि निर्देशक राउतले बताए ।
यो चलचित्रको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गर्दै मंगलबार निर्माताले यस चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् । यो चलचित्रलाई १५ जेठमा नेपालसहित विश्वव्यापी रूपमा एक साथ प्रदर्शन गरिने पनि निर्माण पक्षले जानकारी गराएको छ ।
यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराईली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
दिनेश राउतले निर्देशन गरेका महाभोज आठौँ चलचित्र हो । सामाजिक तथा यथार्थपरक विषयमाथि यो चलचित्र निर्माण भएको निर्देशक राउतले बताएका छन् । अघिल्लो चलचित्र पुजार सार्कीजस्तै यो चलचित्र पनि ग्रामिण परिवेशमा उनले निर्माण गरेका छन् । महाभोज चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गरेको हो ।
यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायांकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
मनोज जोशी निर्माण नियन्त्रक रहेको यो चलचित्रमा साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । यो चलचित्रलाई काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा वितरण गर्नेछन् ।