व्यवस्थाकाे प्रश्नले राजनीति ध्रुवीकृत हुँदा किन माैन छ रास्वपा ?-Sutra News

व्यवस्थाकाे प्रश्नले राजनीति ध्रुवीकृत हुँदा किन माैन छ रास्वपा ?

संस्थापक महामन्त्री मुलुक ढकाल भन्छन्– रवि लामिछाने अन्तिमसम्म नै राजतन्त्रलाई समातेर जाने लाइनमा थिए

बुधबार, २८ फाल्गुन २०८१

बुधबार, २८ फाल्गुन २०८१

काठमाडौं । यतिबेला मुलुक व्यवस्थामाथि उठेको प्रश्नबाट विभाजित छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली कायमै राख्ने कि संवैधानिक राजसंस्था ब्युँताउने ? राजनीतिक शक्तिहरू विभाजित छन् ।



राजसंस्थावादी शक्तिहरू निर्णायकरूपमा प्रस्तुत भइरहँदा गणतन्त्रवादी शक्तिहरू पनि प्रतिरोध गर्ने गरी अगाडि आउन थालेका छन् । जसले मुलुकको अबको राजनीतिक परिदृश्य के हो ? भन्ने अन्योल बनाएको छ ।

राजसंस्थावादी शक्तिहरूले चैत १ गते निर्णायक आन्दोलन थाल्ने बताइरहेका छन् । जसको तयारीमा यतिबेला राजसंस्थावादी शक्तिहरू देखिन्छन् । विशेषगरी चैत २५ गतेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको विषयबाट राजसंस्थावादी शक्तिहरू उत्साहित देखिन्छन् ।

राजसंस्थावादी शक्तिहरू निर्णायक आन्दोलनमा उत्रिरहँदा गणतन्त्रवादी शक्तिहरू पनि क्रमशः आन्दोलनमा जुट्दै छन् । दलहरूले व्यवस्था विरोधी शक्तिको अभियानलाई प्रतिरोध गर्ने गरी आन्दोलनको तयारी गरेका छन् ।

राजसंस्था र गणतन्त्रको विषयले मुलुक दुई कित्तामा विभाजित भइरहँदा कुन शक्ति कता भन्ने प्रश्न यतिबेला उठेको छ । विशेषगरी गत आम निर्वाचनमा नयाँ दलको रूपमा उभिएको रास्वपा कुन कित्तामा छ भन्ने प्रश्न आमरूपमा छ ।

दलहरू पक्ष र विपक्षमा उभिइरहँदा रास्वपा मौन छ । रास्वपाले कुनै पनि कित्ताबाट आफूलाई प्रस्तुत गरेको छैन ।

राजाले बेवास्ता गरेपछि बनेको थियो गणतन्त्रवादी 

रास्वपाले विधानतः आफूलाई बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा उभ्याएको छ । रास्वपाको विधानमा आफू संवैधानिक लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएको छ ।

“नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै, मुलुकमा लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, मानवअधिकार, सुशासन र समृद्धिका खातिर नेपाली नागरिकले पटक–पटक गरी आएको आन्दोलन, त्याग र संघर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै, नेपाली नागरिकमा अन्तर्निहित सार्वभौमिकताको संरक्षण र संवर्द्धन गर्दै, जनसहभागितामूलक लोककल्याणकारी राज्यव्यवस्था, समावेशी, समतामूलक र जनउत्तरदायी राज्य सञ्चालनको संस्कृतिको विकास गर्दै, नेपालको संविधानले परिकल्पना गरेअनुसारको सुशासन, विकास र समृद्धिका लक्ष्यहरू पूरा गर्नको लागि नागरिकको जीवनस्तरमा सुधार ल्याउने परिकल्पनामा प्रतिबद्ध रही राजनीतिक संगठनमार्फत् नेपाली जनता र राष्ट्रको सर्वाङ्गीण विकासको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरी यो विधान जारी गरिएको छ”, विधानको प्रस्तावमा भनिएको छ ।

जसअनुसार रास्वपाले आफूलाई लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको छ ।

यद्यपि, विधानमार्फत लोकतन्त्रप्रति प्रतिबद्धता जाहेर गरेको रास्वपा मुलुक व्यवस्थाको विषयलाई लिएर कित्ताकाट हुँदा किन मौन छ ? किन रास्वपाले व्यवस्था विरोधी हरकतको विरोध गरेको छैन ?

उसो त पार्टी गठनको समयमा रास्वपालाई कतातिर उभ्याउने भन्ने अन्यौलता थियो । सभापति रवि लामिछानेको एकल प्रयासबाट गठन भएको कारण उनी स्वयं कुन कित्तामा जाने भन्ने अन्योलतामा थिए ।

रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकालका अनुसार लामिछाने र उनीबिच कुन पक्षमा उभिने भन्ने कोणबाट लामो छलफल भएको थियो । ढकालले बताएअनुसार लामिछाने अन्तिमसम्मै राजसंस्थालाई मानेर जाने पक्षमा थिए ।

“राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबिच छलफल भयो । त्यति बेला छलफल गर्नका लागी कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबिच नै हुन्थ्यो”, तत्कालीन समयको छलफलबारे ढकालले भनेका छन्, “राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो, राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो, रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।”

लामिछाने कुनै न कुनै रूपमा राजसंस्थालाई समेटेर जाने पक्षमा थिए । तर, स्वयम् राजाले बेवास्ता गरेपछि अवस्था राजसंस्थालाई मान्ने खालको भएन ।

“राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’लाई कुनै न कुनै ढंगले समेटौँ भनिराख्नु भयो, मैले प्रस्ताव राखे, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो, मेरो प्रस्ताव थियो – राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तीमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरी एकै पटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।”, तत्कालीन छलफलबारे उनी भन्छन्, “राजाबाट सकारात्मक कुरा आएन, राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्‍यौँ ।”

तर, अहिले किन मौन ?

रास्वपा आन्दोलनबाट उदाएको पार्टी होइन, यो नितान्त: रवि लामिछानेको प्रभावबाट बनेको पार्टी हो । यहाँ समेटिएका पात्रहरू अनेकन पृष्ठभूमिका छन् ।

अधिकांश नेताहरू कांग्रेस, एमाले र माओवादी पृष्ठभूमिका छन् भने केही राजावादी, मधेसवादी पनि छन् । फरक–फरक पृष्ठभूमिकै कारण बेला–बेला रास्वपामा सैद्धान्तिक बुझाइमा विवाद हुने गरेको पाइन्छ ।

एक अर्थमा रास्वपा गठनकै प्रक्रियामा पनि छ । तर, सुरुवाती चरणमै रहेको रास्वपाभित्र एकपछि अर्को सकस थुप्रिरहेको छ । स्वंय सभापति लामिछाने एकपछि अर्को गरी कानुनी उल्झनमा हुँदा रास्वपा गतिहीन छ ।

गत मंसिरमा सम्पन्न उपनिर्वाचनलाई हेर्दा पनि रास्वपाको अवस्था स्पष्ट हुन्छ ।

कार्यक्रमिक हिसाबले गतिहीन बनेको रास्वपा पछिल्लो चरणमा व्यवस्थामाथि प्रश्न उठ्दै गर्दा पनि अन्योल अवस्थामा छ । सँगै, व्यवस्थाको विषयले रास्वपा स्वयं विभाजित बन्न पुगेको रास्वपाका नेताहरू पनि बताउँछन् ।

रास्वपाका एक केन्द्रीय नेता रास्वपाभित्रका राजावादीहरू सक्रिय भएको स्वीकार गर्दछन् । “हो हामी धेरै कुरामा अस्पष्ट छौँ, तल्लो तहसम्म त्यसको प्रभाव छ”, उनी भन्छन्, “केही आन्दोलनमै गए, यो छलफलको विषय बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट