

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको सुधार आएको छ । लगातार ७ कारोबार दिन घटेको नेप्से बुधबार १७.२८ अंकले बढेको हो । बुधबारको बृद्धिसँगै बजार २७३६.४८ को बिन्दुमा उक्लिएको छ ।
दोहोरो अंकले नेप्से उचालिँदै गर्दा अधिकांशजसो समूहको सूचक बढ्यो । विकास बैंक र लघुवित्तको सूचकमा सामान्य करेक्सन आउँदा अन्य सबैजसो सूचकमा बृद्धि भयो ।
बुधबार सबैभन्दा बढी लगानी समूहको सूचक १.७६ प्रतिशतले बढ्यो भने अन्यको सूचक १.५७ प्रतिशतले बढ्यो । कारोबारमा आएका १४६ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को मूल्य स्थिर रह्यो ।
सूचकमा सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । २ करोड २९ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँमै सीमित भयो । जुन १८ कारोबार दिनयताकै कम कारोबार हो ।
९ कारोबार दिन उच्च अंकले बढेको नेप्से त्यसयता लगातार गिरावट आएको थियो । तर, बुधबारको कारोबारसँग नेप्सेमा गिरावट रोकिएको देखिन्छ । जसले आगामी दिन नेप्से बढ्नेतर्फ सूचित गरेको छ ।