नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’-Sutra News

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

बिहिबार, २९ फाल्गुन २०८१

बिहिबार, २९ फाल्गुन २०८१

काठमाडौं । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन्।सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।



फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उहाँले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोजे । उनले निर्देशन गरेको चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ ।

‘हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोशिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छ भने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलात्कारका विषय चलचित्रमा समेटेका छौँ’, निर्देशक महर्जनले भने ।

उनले चलचित्रलाई बिना सम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिए । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलो पटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताए । उनले भने, ‘एउटा राम्रो चलचित्र बनाउन र नेपालमै उपलब्ध स्रोतसाधनको प्रयोग गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनाका साथै जोखिम पनि उत्तिकै हुन्छ ।’

विदेशी चलचित्रमा कलाकारझै देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औंला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेम कथानक चलचित्रमा देखिरहेका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो ।

‘एकै किसिमको चलचित्रमा काम गर्दा हाम्रो विषयमा धारणा नै बन्छ, त्यसकारण पनि मैले जोखिम मोलेर फरक विधामा प्रयास गरें । छायाङ्कनका क्रममा घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ’, उनले भने।

चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताए । ‘हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दर्शकसम्म ल्याउन समय लागेको हो किनकि विदेशी चलचित्र हेरेर तारिफ गर्ने दर्शकले हाम्रोमा कमी नदेखुन् भन्ने हामी सम्पूर्ण निर्माण समूहलाई लाग्थ्यो । पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भनेर द्वन्द्वप्रधान चलचित्र निर्माण सुरु गरेका थियौँ । त्यसैले यसमा गर्नुपर्ने मेहनत र लगानीमा कुनै सम्झौता गरेका छैनौँ’, निर्देशक महर्जनले भने ।

उनका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैं ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट