

नेपालका विश्वविद्यालयहरूलाई बौद्धिक विमर्श, अनुसन्धान र ज्ञानको ज्योति फैलाउने केन्द्रका रूपमा परिकल्पना गरिएको थियो । यहाँबाट समाजका लागि सचेत, जिम्मेवार र सशक्त नागरिक जन्मिने अपेक्षा गरिएको छ । तर, अहिलेको वास्तविकता त्यो परिकल्पनाको ठीक विपरीत छ । विश्वविद्यालयहरू अब शिक्षा प्राप्त गर्ने थलो मात्र होइनन्, बाहुबलीहरूको अखडा, गुटबन्दीको खेलमैदान र सत्ताका दलाल उत्पादन गर्ने कारखाना बनेका छन् । यसको ज्वलन्त उदाहरण हो— स्ववियु निर्वाचन । जुन अहिले आएर विचारको युद्ध होइन, पन्जा ठोक्ने, ढुंगा हान्ने, धम्की दिने र पैसा बाँड्ने असभ्यताको मेलो मात्र बन्न पुगेको छ ।
क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन विद्यार्थी नेतृत्व चयनको एक आधारभूत प्रक्रिया हो । यो प्रक्रिया सैद्धान्तिकरूपमा विद्यार्थी हकहितको संरक्षण, शैक्षिक सुधारको पहल र विश्वविद्यालयको बौद्धिक संस्कृतिको विकासका लागि डिजाइन गरिएको हो । तर, व्यवहारमा यो एक यस्तो बेतुक र अराजक खेल बनेको छ, जहाँ हिंसा, गुटबाजी र केन्द्रीय नेताहरूको दखलले यसको मूल मर्मलाई कुण्ठित बनाएको छ ।
आज त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको नाममा जुन किसिमको दण्डहीनता, अराजकता र दासत्वको नांगो नाच मञ्चन भइरहेको छ, त्यसले विद्यार्थी राजनीतिलाई घृणाको पात्र बनाएको छ । विद्यार्थी संगठनहरू आफ्नो संस्थागत लक्ष्य र कर्तव्य भुलेर पार्टी नेताहरूका निजी बफादार कुकुरमा रूपान्तरण भएका छन् । स्वतन्त्ररूपमा सोच्ने, तर्क गर्ने र बहस गर्ने विद्यार्थीहरूलाई यो चुनाव कुनै आशाको किरण जस्तो लाग्दैन, बरु विश्वविद्यालयको बाँकी इज्जत धुलिसात् गर्ने अर्को अशुभ अवसर जस्तो लाग्छ ।
स्ववियु निर्वाचन एक समय विद्यार्थी हकहितको सुनिश्चितता गर्ने, उनीहरूको आवाज बुलन्द बनाउने र शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने एउटा बलियो माध्यम थियो । यो निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्वपूर्ण स्तम्भका रूपमा लिइन्थ्यो, जसले भविष्यका नेताहरूलाई प्रशिक्षण दिने, तिनलाई क्याम्पस प्रशासनसँग समन्वय गर्ने अवसर प्रदान गर्ने र कलेज तथा विश्वविद्यालयका विविध समस्याहरूलाई व्यवस्थित ढंगले सम्बोधन गर्ने जिम्मेवारी पूरा गथ्र्यो । तर, आज अवस्था ठीक उल्टो छ ।
नेपालका क्याम्पसहरूमा अहिलेको विद्यार्थी राजनीति कुनै पनि अर्थमा स्वच्छ छैन । यो अब वास्तविक विद्यार्थी हकहितको बहस गर्ने थलो होइन, बरु राजनीतिक पार्टीहरूको शक्ति संघर्षको एउटा ‘प्लेटफर्म’ मात्र भएको छ । विद्यार्थी संगठनहरू स्वतन्त्र रूपमा सञ्चालन हुन छोडेर दलगत राजनीतिले निर्देशित हुन थालेका छन् । विद्यार्थी नेताहरू आफ्ना संगठनका प्रमुख मुद्दाहरू ओझेल पार्दै दलका शीर्ष नेताहरूको रणनीति कार्यान्वयन गर्ने ‘कार्यकर्ता’मा सीमित भइरहेका छन् । उनीहरू विश्वविद्यालय सुधारका एजेन्डा उठाउनुको सट्टा पार्टीको गुटगत सन्तुलन मिलाउने, आफू निकट समूहलाई फाइदा दिलाउने र चुनाव जित्नका लागि बाहुबल तथा धनबल प्रयोग गर्न उद्यत छन् ।
दुर्भाग्यवश, स्ववियु निर्वाचनको वर्तमान स्वरूपले सैद्धान्तिक आधारलाई मजाक बनाएको छ । यो प्रक्रिया आज विद्यार्थी संगठनहरूबिचको खुला युद्धको मैदान बनेको छ । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा फागुन १५, २०८१ मा भएको नेविसंघका दुई पक्षबीचको हिंसात्मक झडपले यो कुरूप वास्तविकतालाई नाङ्गो रूपमा प्रस्तुत गर्छ । स्ववियु अध्यक्षको नेतृत्वमा भएको यो आक्रमणमा नेविसंघ सभापति कुटिए र दुई जना विद्यार्थी गम्भीर घाइते भए । यो घटना एउटा क्याम्पसको कथा मात्र होइन । जनकपुरको विभिन्न क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको टकराव, काठमाडौँको त्रिचन्द्र क्याम्पसमा देखिएको बाहुबलको प्रदर्शन—यी सबैले स्ववियुको पवित्र उद्देश्यमाथि कालो धब्बा लगाएका छन् ।
विद्यार्थी संगठनहरू—जस्तै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी—जो मूलतः विद्यार्थी हितका लागि गठन भएका थिए, आज पार्टीगत स्वार्थ र गुटबाजीको कठपुतली बनेका छन् । यी संगठनहरूले वैचारिक बहस र शैक्षिक मुद्दालाई पूर्णतः बिर्सेर बाहुबल, पैसा र हिंसाको सहारा लिन थालेका छन् । आफ्नो गुट बलियो बनाउन र निर्वाचन जित्न उनीहरूले साम, दाम, दण्ड र भेदको नीति अपनाएका छन् । क्याम्पसहरूमा हतियार बोकेर हिँड्ने, सहपाठीलाई धम्क्याउने र मतदातालाई प्रभावित गर्न पैसा बाँड्ने जस्ता गैरकानुनी क्रियाकलाप सामान्य बनेका छन् । यो अराजकताले विश्वविद्यालयको शान्तिपूर्ण र बौद्धिक छविलाई ध्वस्त बनाएको छ । प्रश्न उठ्छ— यस्ता संगठनहरूले कसरी विद्यार्थीका मुद्दा उठाउन सक्छन् ? जसले आफ्नै समूहमा एकता कायम गर्न सक्दैन, उसले समग्र विद्यार्थी समुदायको प्रतिनिधित्व कसरी गर्न सक्छ ?
वास्तवमा, विद्यार्थी संगठनहरू राजनीतिक दलका लागि ‘इनक्युबेटर’ मात्र हुन् । यहाँबाट भविष्यका नेताहरू तयार पारिन्छन्, तर ती नेताहरू विद्यार्थी हकहितका लागि होइन, पार्टीका लागि लड्ने गरी प्रशिक्षित गरिन्छन् । स्ववियु निर्वाचनलाई पार्टी नेताहरूले शक्ति सन्तुलनको उपकरणका रूपमा प्रयोग गर्छन् । को कता लिन्छ, को कुन संगठनबाट उम्मेदवार बन्नेछ, को कस्को पक्षमा उभिनेछ— यी सबै कुरा माथिबाट तय हुन्छ ।
सबैभन्दा दुःखद पक्ष के हो भने, विद्यार्थी संगठनहरू अहिले स्वतन्त्र छैनन् । तिनीहरू कुनै न कुनै पार्टीको निर्देशनमा चल्छन्, पार्टीका शीर्ष नेताहरूको गुटगत समीकरणको हिस्सा बन्दछन् । एकातिर विद्यार्थी हकहितका मुद्दाहरू ओझेलमा छन्, अर्कातिर केन्द्रका नेताहरूको हस्तक्षेप तीव्र रूपमा बढिरहेको छ । स्ववियु निर्वाचन स्वायत्त हुनुपर्नेमा, राजनीतिक दलहरूका शक्ति संघर्षको एउटा मोहरा बनिरहेको छ ।
अहिले विद्यार्थी राजनीति ‘भक्तिभाव’मा सीमित भएको छ । विद्यार्थी नेताहरू आफैं स्वतन्त्र सोच राख्दैनन् । बरु तिनीहरू आफ्नो संगठनका संरक्षक नेताहरूको चाकरी गर्नतिर केन्द्रित छन् । तिनीहरूको मुख्य ध्येय नै पार्टी नेताहरूको नजरमा पर्नु, तिनको कृपा प्राप्त गर्नु, र पछि जागिर वा टिकट पाउने आशामा राजनीति गर्नु रहेको छ । यस्तो अवस्थामा स्ववियु निर्वाचनबाट विद्यार्थीले के पाउने ?
स्ववियु निर्वाचनको वास्तविक उद्देश्य के हो ? के यो विद्यार्थीका मुद्दा उठाउने, विश्वविद्यालय सुधारको बहस गर्ने र शैक्षिक प्रणालीलाई सबल बनाउने चुनाव हो ? कि यो कुनै पार्टी विशेषको छायाँ युद्ध हो ?
आजका विद्यार्थी नेताहरूको हालत हेर्दा तिनीहरू विद्यार्थी संगठनका प्रतिनिधि होइनन्, बरु आफ्ना आकाहरूका तलुवा चाट्ने दास मात्र हुन् । उनीहरू विश्वविद्यालयको समस्या समाधान गर्ने, क्याम्पस प्रशासनलाई जवाफदेही बनाउने वा विद्यार्थीहरूका लागि सुविधाहरू सुनिश्चित गर्ने उद्देश्यले चुनाव लड्दैनन् । बरु उनीहरू चुनाव जितेर कुन दलको ‘नेताजी’को गुट बलियो पार्न सक्छन्, कुन नेताको आशीर्वादमा उचालिन सक्छन् भन्ने दौडमा छन् ।
हिजोका स्ववियु चुनावहरूमा विद्यार्थीहरू नीतिगत बहस गर्थे, विश्वविद्यालय सुधारका प्रस्तावहरू अघि सार्थे र आफ्नो विचार बेच्नका लागि क्याम्पस भर प्रचार अभियान चलाउँथे । आज विद्यार्थी नेताहरू आफ्ना प्रतिस्पर्धीलाई क्याम्पस प्रवेश गर्न नदिन गुण्डा पठाउँछन्, मतदातालाई पैसा बाँड्छन्, सत्ताको बलमा निर्वाचन आयोग र प्रशासनलाई नियन्त्रण गर्छन् । चुनावको नाममा शुद्ध गुण्डागर्दी चलिरहेको छ, जसलाई हेर्दा लाग्छ कि यो कुनै विश्वविद्यालय होइन, कुनै अराजक अपराधीहरूको गैह्रकानुनी अखडा हो ।
विद्यार्थी राजनीतिमा केन्द्रीय नेताहरूको दखलले यो अराजकताको आगोमा थप घिउ थपेको छ । स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो प्रभाव विस्तार गर्ने र भविष्यका कार्यकर्ता उत्पादन गर्ने कारखानाको रूपमा प्रयोग गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र वा अन्य कुनै दल—सबैले आफ्ना सम्बद्ध विद्यार्थी संगठनहरूलाई कठपुतली बनाएर क्याम्पसको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्छन् । महेन्द्र मोरङको झडपमा नेविसंघभित्रको संस्थापन र इतर पक्षको टकराव नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटबाजीको प्रतिबिम्ब हो ।
यी नेताहरूले आफ्ना गुटका विद्यार्थी नेतालाई आर्थिक सहयोग गर्छन्, हतियार उपलब्ध गराउँछन् र हिंसालाई प्रोत्साहन दिन्छन् । यो हस्तक्षेपले विद्यार्थी नेताहरूलाई स्वतन्त्र रूपमा सोच्ने र निर्णय लिने क्षमताबाट वञ्चित गरेको छ । परिणामस्वरूप, उनीहरू केन्द्रीय नेताहरूको गुलाम बनेर पार्टीको स्वार्थमा आफ्नो ऊर्जा र जवानी खर्च गर्छन् । विद्यार्थी हकहितको मुद्दा उनीहरूको प्राथमिकताबाट हराएको छ । यो गुलामीको पराकाष्ठाले स्ववियु निर्वाचनको लोकतान्त्रिक मर्मलाई समाप्त पार्दैछ ।
आदर्शको मृत्यु र अराजकताको जन्म
विद्यार्थी राजनीति कस्तो हुनुपर्छ ? यो प्रश्नको जवाफ सरल तर गहन छ । विद्यार्थी राजनीति वैचारिक बहसको मञ्च हुनुपर्छ, जहाँ शैक्षिक सुधार, सामाजिक न्याय र विद्यार्थी हकहितका मुद्दाहरू प्राथमिकतामा रहन्छन् । यो विश्वविद्यालयको बौद्धिक आधारलाई बलियो बनाउने र भावी पुस्तालाई नेतृत्व प्रदान गर्ने माध्यम हुनुपर्छ । नेतृत्व चयनको प्रक्रिया स्वच्छ, निष्पक्ष र हिंसारहित हुनुपर्छ । तर, आजको विद्यार्थी राजनीति यो आदर्शबाट कोसौँ टाढा छ । यो हिंसा, अराजकता र स्वार्थको कुरूप खेल बनेको छ ।
महेन्द्र मोरङको झडपमा स्ववियु अध्यक्षको नेतृत्वमा भएको आक्रमण, जनकपुरमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको खुला युद्ध र काठमाडौँको त्रिचन्द्रमा देखिएको बाहुबलको प्रदर्शनले यो कुरूपताको चित्र स्पष्ट गर्छ । यी संगठनहरूले शैक्षिक मुद्दालाई पूर्णतः बिर्सेर पैसा र शक्तिको खेलमा आफूलाई डुबाएका छन् । क्याम्पसलाई उनीहरूले ज्ञानको मन्दिरबाट हिंसाको अखडामा परिणत गरेका छन् । यो अराजकताले विद्यार्थीहरूबीच डर, त्रास र अविश्वासको वातावरण सिर्जना गरेको छ ।
बाहुबल र आतंकको खेल
स्ववियु निर्वाचनको नाममा अराजक समूहहरूको उदय भएको छ । यी समूहहरूले आफ्नो गुट बलियो बनाउन र निर्वाचन जित्न बाहुबलको सहारा लिन्छन् । महेन्द्र मोरङमा स्ववियु अध्यक्षले आफ्नै संगठनका सभापतिमाथि गरेको आक्रमण यसको ज्वलन्त उदाहरण हो । यस्ता समूहहरू क्याम्पसमा आतंक मच्चाउँछन्, सहपाठीलाई धम्क्याउँछन् र मतदातालाई प्रभावित गर्न हिंसाको प्रयोग गर्छन् । यो बाहुबलको खेलले विश्वविद्यालयको शान्तिपूर्ण वातावरणलाई तहसनहस बनाएको छ ।
यी अराजक समूहहरूको पछाडि केन्द्रीय नेताहरूको संरक्षण र आर्थिक सहयोगको कालो हात छ । उनीहरूले पैसा बाँडेर, हतियार उपलब्ध गराएर र हिंसालाई प्रोत्साहन दिएर आफ्नो प्रभाव कायम राख्छन् । यो अवस्थाले विद्यार्थीहरूलाई डर र त्रासमा बाँच्न बाध्य बनाएको छ । क्याम्पसमा पढ्न आउने विद्यार्थीले किताब र कलमको साटो हतियार र धम्कीको सामना गर्नुपर्ने विडम्बना सिर्जना भएको छ ।
विद्यार्थी संगठनहरूको मूल उद्देश्य विद्यार्थी हकहितको संरक्षण हो । तर, आज उनीहरू यो उद्देश्यबाट पूर्ण रूपमा विमुख भएका छन् । क्याम्पसमा पाठ्यक्रम सुधार, छात्रवृत्तिको पहुँच, शिक्षक–विद्यार्थी सम्बन्धको सुधार जस्ता मुद्दाहरू उनीहरूको प्राथमिकतामा छैनन् । बरु, उनीहरू पार्टीको स्वार्थ र गुटको राजनीतिमा सक्रिय छन् । स्ववियु निर्वाचनको नाममा हुने हिंसा र अराजकताले विद्यार्थीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ । उनीहरूको शैक्षिक भविष्य कसले सुरक्षित गर्ने ? यस्ता प्रश्नहरूको जवाफ कसैसँग छैन । विद्यार्थी नेताहरू आफ्नो स्वार्थमा लिप्त छन् र उनीहरूको प्राथमिकता विद्यार्थी हितभन्दा पनि पार्टीको गुलामी गर्नु बनेको छ । यो अवस्थाले विद्यार्थी हकहितको सपनालाई उपहासमा परिणत गरेको छ ।
विश्वविद्यालयलाई शान्तिपूर्ण र बौद्धिक क्षेत्र मानिन्छ । तर, स्ववियु निर्वाचनको नाममा हुने हिंसा र अराजकताले यो छविलाई धमिल्याएको छ । क्याम्पसमा हतियार बोकेर हिँड्ने, सहपाठीलाई कुटपिट गर्ने र निर्वाचनलाई प्रभावित गर्न पैसा बाँड्ने जस्ता गैरराजनीतिक क्रियाकलापले विश्वविद्यालयको मर्यादालाई तहसनहस बनाएको छ । यो अराजकताले विद्यार्थीको शैक्षिक जीवनमा गम्भीर असर पारेको छ । उनीहरूको ध्यान पढाइबाट हटेर हिंसा र डरमा केन्द्रित भएको छ । जसले विश्वविद्यालयको बौद्धिकतामाथि नै आक्रमण गरेको छ ।
स्ववियु निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा विकास गर्नुपर्नेमा, यसलाई शक्ति प्रदर्शनको मञ्च बनाइएको छ । हरेक चुनावका बेला क्याम्पसमा तोडफोड, ढुंगामुढा, हात हालाहाल, धनको खुला प्रयोग सामान्य भइसकेको छ । कुनै पनि संगठनले चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेदको नीतिलाई अँगाल्छ । उम्मेदवारहरू प्रचार–प्रसारका नाममा भोजभतेर गर्छन्, महँगा पोस्टर–ब्यानर टाँस्छन्, पैसा बाँड्छन् । क्याम्पसभित्र नै ‘गुण्डा समूह’ सक्रिय हुन्छन्, जो मतदान प्रक्रियामा डरत्रास सिर्जना गर्छन् ।
अहिलेको विद्यार्थी राजनीति यति विकृत भइसकेको छ कि यहाँ ‘जोर्डन नियम’ लागू छ— जसले बढी शक्ति प्रदर्शन गर्न सक्छ, ऊ जित्छ । विद्यार्थी संगठनहरूका नाममा बाहुबलीहरूले प्रभुत्व जमाएका छन् । वास्तविक विद्यार्थीको प्रतिनिधित्व गर्नेहरू तिनै शक्तिकेन्द्रबाट पर धकेलिन्छन् । यस्तो अवस्थामा, कसरी स्ववियु निर्वाचनलाई स्वच्छ लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिन्छ ?
विद्यार्थीहरूले विश्वविद्यालयमा शिक्षाको गुणस्तर सुधारको माग गर्नुपर्छ । तर अहिले स्ववियु निर्वाचनमा यस्तो कुनै एजेन्डा नै छैन । विद्यार्थीहरूले पुस्तकालय सुधार, अनुसन्धान प्रवद्र्धन, छात्रवृत्ति व्यवस्थापन, परीक्षा प्रणालीको पारदर्शिता जस्ता विषय उठाउनुपर्छ । तर यस्तो केही गरिँदैन । बरु संगठनहरू आफ्नो गुट बलियो बनाउन, चुनाव जित्न र सत्तामा पुग्न मात्रै केन्द्रित छन् ।
विद्यार्थी संगठनहरूलाई अहिले राजनीतिमा अवसर खोज्ने एउटा ‘एजेन्ट’ का रूपमा हेरिएको छ । विद्यार्थी नेताहरू आफैं कुनै विचारधारा बोकेका छैनन्, बरु उनीहरू कुनै न कुनै शक्तिकेन्द्रको ‘सिफारिस’ खोजिरहेका छन् । विद्यार्थी राजनीतिलाई सुधार्नुपर्छ भने, यसको आधारशिला फेरि स्थापित गर्नुपर्छ ।
स्ववियु निर्वाचनको आवश्यकता र महत्व निर्विवाद छ । तर, यो प्रक्रियाको वर्तमान स्वरूपले विद्यार्थी राजनीतिलाई ध्वस्त बनाएको छ । हिंसा, अराजकता, बाहुबल र केन्द्रीय नेताहरूको दखलले यो प्रक्रियालाई भ्रष्ट बनाएको छ । यदि यो अवस्था सुधार्ने हो भने कठोर कदम चाल्नुपर्छ । निर्वाचनमा पार्टीगत हस्तक्षेप बन्द गर्नुपर्छ, हिंसालाई शून्य सहनशीलताको नीति अपनाउनुपर्छ र विद्यार्थी संगठनहरूलाई शैक्षिक मुद्दामा केन्द्रित गराउनुपर्छ । विश्वविद्यालयलाई ज्ञान र बौद्धिकताको मन्दिर बनाउन स्वच्छ र वैचारिक राजनीतिको खाँचो छ ।
नेपालको विद्यार्थी राजनीति अहिले एउटा चरम संकटमा छ । यसको उद्धार सम्भव छ, तर त्यसका लागि विद्यार्थी संगठनहरूले दलको नोकर बन्ने संस्कार त्याग्नुपर्छ । चुनावमा बाहुबल, धनबल र गुटगत दादागिरीको अन्त्य हुनुपर्छ । विश्वविद्यालयहरू ज्ञानको केन्द्र हुनुपर्ने हो, तर यहाँ गुण्डागर्दी मौलाएको छ । यदि अब पनि विद्यार्थी संगठनहरू सुधारिएनन् भने, स्ववियु निर्वाचन विद्यार्थी हकहितको लागि होइन, केवल केही गुटहरूले क्याम्पस कब्जा गर्ने मञ्च मात्र बन्नेछ । विश्वविद्यालय राजनीतिबाट गुण्डाहरू हटाइएनन् भने, अबको पुस्ता पढेर सक्षम हुने छैन, बरु ठूला नेताको चाकडी गर्ने अर्को पुस्ता तयार हुनेछ ।
विद्यार्थी राजनीति विद्यार्थी हकहितको संरक्षक बन्नुपर्छ, न कि पार्टीको गुलाम र हिंसाको औजार । महेन्द्र मोरङ, जनकपुर र काठमाडौँका घटनाहरूले हामीलाई यो कठोर सत्य बुझाएका छन् । अब सुधारको पहल नगरे विश्वविद्यालयको भविष्य अन्धकारमा धकेलिनेछ । यदि समयमै सुधारको पहल नगर्ने हो भने भावी पुस्ताको नेतृत्व र बौद्धिक आधार नै धराशायी हुनेछ । स्ववियु निर्वाचनलाई हिंसाको अखडाबाट बौद्धिक मञ्चमा परिणत गर्न सबै पक्षको संयुक्त प्रयास अपरिहार्य छ । सुधार वा विनाश, अब छनोट हाम्रो हातमा छ । रसातलमा पुगेको विद्यार्थी राजनीतिलाई पाताल लोक पुग्न बाट रोक्नुपर्छ ।
अब सोच्ने बेला आएको छ— हामी शिक्षालयमा छौं कि रणभूमिमा ?