

काठमाडौं । फागुन ७ यता राजसंस्थावादी समूहहरू क्रमशः सडक प्रदर्शनमा छन् । राजसंस्थावादीहरूले चैत महिनामा निर्णायक आन्दोलन गर्ने पनि बताइरहेका छन् ।
फागुन २५ मा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शन केही विशेष थियो । जुन प्रदर्शनमा संख्यात्मक हिसाबले व्यवस्था परिवर्तनयताकै उच्च समर्थकको सहभागिता देखिन्थ्यो ।
जसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निकै प्राथमिकताका साथ समेटेका थिए । जसलाई आधार बनाएर नेपालमा व्यवस्था परिवर्तन हुँदै गरेको चर्चा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा देखिन्छ ।
हुन पनि उक्त घटनाबाट व्यवस्था पक्षधर निकै तरङ्गित देखिएका छन् । जसलाई गम्भीर खालको घटनाको रूपमा चित्रण गरेका छन् ।
अहिलेको घटनाक्रमबाट विशेषगरी समाजवादी मोर्चा केही उद्वेलित देखिन्छ । राजसंस्थावादीको प्रदर्शनपछि एकपछि अर्को गरी मोर्चा समीक्षात्मक छलफलमा बसिरहेको छ ।
शुक्रवार बसेको मोर्चाको बैठकले राजसंस्थावादीको प्रदर्शन ‘धेरै गम्भीर भएको’ निष्कर्ष सुनाएको छ । सँगै, मोर्चाले राजसंस्थावादीको अभियानविरुद्ध प्रतिरोध गर्ने गरी कार्यक्रम पनि घोषणा गरेको छ । मोर्चाले राजसंस्थावादी विरुद्ध अभियानको नेतृत्व आफूले लिने बताएको छ ।
“राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ”, बैठकको निर्णय सुनाउँदै मोर्चाका नेता खड्गबहादुर विश्वकर्माले भने ।
राजसंस्थावादीको अभियानबाट मोर्चाले देखेको जोखिम
राजसंस्थावादीको प्रदर्शनलाई ‘धेरै गम्भीर’ भएको निष्कर्ष निकालेको मोर्चाले यसको पछाडि बाह्य षडयन्त्रको सम्भावनालाई केलाएको छ । विशेषगरी राजसंस्थावादीको अभियान गणतन्त्र, राष्ट्रियता र समाजवादविरुद्ध आएको मोर्चाको निष्कर्ष छ ।
“हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ, विषय धेरै गम्भीर छ, देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ, न्याँकेर फालेका प्रतिगामी शक्ति टाउको उठाउन खोजेका छन्”, विश्वकर्मा भन्छन्, “राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ, यी तीन वटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमूलक ढङ्गले लागेको निष्कर्ष मोर्चाले निकालेको छ ।”
सँगै, राजसंस्थावादीको सक्रियताको पछाडि अहिलेको सरकार मुख्य कारक भएको निष्कर्ष मोर्चाको छ । सरकारले नै राजसंस्थावादीलाई उक्साइरहेको र मलजल गरिरहेको मोर्चाको भनाई छ ।
मोर्चाले राजसंस्थावादीको अभियानविरुद्ध क्रमबद्ध प्रतिरोधात्मक कार्यक्रम चलाउने निर्णय गरेको छ । जसअनुसार पहिलो चरणमा बुद्धिजीवी र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम छ । शनिवार मोर्चाले छलफलको कार्यक्रम आयोजना गरेको छ ।
मोर्चाले चैत १५ मा विशेष शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । चैत १५ पछि पनि निरन्तर प्रदर्शनका कार्यक्रम चलाउने मोर्चाको योजना छ ।
मोर्चामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी छन् । मोर्चागत रूपमा कार्यक्रम घोषणा गरेका दलहरू दलगत रूपमा पनि बेग्ला–बेग्लै कार्यक्रम तय गरेका छन् ।