

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको दुई वटा बाटो भएको बताएका छन्।
मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरे।
‘अहिलेको सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन। अब अगाडि बढ्नेवालै छ। नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना हुनेवालै छ। यसलाई कसैले रोक्न सक्दैन, उनले भने।
‘एउटा बाटो, अहिलेको संस्थापनलाई निषेध गरेर, भनेको भीडले अहिलेको नेताहरूलाई विस्थापित गरेर। बंगलादेश, श्रीलंकाजस्तो नेताहरूलाई भागाभागको स्थिति बनाएर,’ उनले थपे, ‘दोस्रो, त्यस्तो स्थिति आउन नदिएर सबै राजनीतिक शक्तिहरूको बीचमा नयाँ सहमति गरेर । कुनचाहिँ बाटोबाट आउँछ, तर आउँछ।’
उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बिचमा सहमति कायम गरेर राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई हुने भन्दै आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको बताए।